विकास बजेट समयमै खर्च गर

सम्पादकीय
जनताले माग गरेको धेरै योजनामा बजेट नपरेको गुनासो विद्यमान छ । बजेट मागेकोे स्थानमा थोरै बजेटका कारण काम समेत पुरा नभएको अवस्था छ । विकास निर्माणका काम वजेट अभावमा अलपत्र परेको विषयमा सबैलाई सर्वबिवितै छ । तर बजेट परेको योजनामा समेत खर्च हुँन नसकेर रकम फिर्ता जादै आएको छ । यसले नेपालको विकास वजेटको खर्च प्रणलीमा चरम वेतीथि निम्ताएको छ । हरेक आर्थिक वर्षको साउन १५ पछि बजेट कार्यान्वयनमा जानेभएपनि कतिपय ठेक्का पुस मसान्तपछि बल्ल खोल्ने गरिएको छ । छ महिना निदाउने, छ महिनापछि ठेक्कामा जाने योजना भए ठेक्का लगाउने अथवा हतार–हतार उपभोक्ता समिति गठन गर्ने गरेको पाउछौं । माघ महिना लाग्दा नेपालकै विकास बजेट २० प्रतिशत भन्दा बढी खर्च हुन सकेको छैन ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले दशौं गाउँसभामा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा यस आर्थिक वर्षको विकास खर्च जम्मा १५ प्रतिशत पुगेको जनाएको थियो । यस्तै बागलुङ नगरपालिकाको विकास बजेट खर्च समेत २० प्रतिशत भन्दा उकालो लाग्न सकेको छैन । यसले के संकेत गर्छ भने उही असारमा हतार हतार गर्ने कामको पुरानै नियती दोहो¥याउने काम भइरहेको छ । सरकारी सेवामा बसेका कर्मचारीहरुले साउनबाटै ठेक्का लगाउन र उपभोक्ता समिति गठन गर्न किनै सक्दैनन् यो प्रश्न जनजनमा छ । त्यसैले असारको अन्त्यमा आएर विकास गर्दा धेरै कमीकमजोरी हुँने, गुणस्तरहीन काम हुँने र विकास दीर्घकालिन रुपमा नटिक्ने गरेको पाइएको छ । त्यसैले कम्तिमा ५० प्रतिशत बजेट पुस मसान्त सम्म सक्नेगरी संघ, प्रदेश र स्थानीय सरकार अगाडी बढ्नुपर्दछ । बागलुङको गत आर्थिक वर्षको नौं महिनामा जम्मा ३३ प्रतिशत खर्च भएको थियो भने गत आर्थिक वर्षमा रु. ६३ करोेड रकम खर्च नभएर सरकारी ढुकुटीमा फिर्त गएको थियो । यो वर्ष विकास बजेट समयमै खर्च गरेर फ्रिज रकम घटाउनका लागि समयमै ठेक्का लगाएर काम सक्ने र उपभोक्त समिति मार्फत गर्ने काम समेत समयमै सक्ने गर्न आवश्यक देखिन्छ ।

बागलुङका केही स्थानीय तहले भने वैशाख देखि योजनाको भुक्तानी नगर्ने गरी काम समेत थाल्दै आएका छन् यो भने अत्यन्तै उदारणीय छ । असार मसान्तमा वर्षाको पानी संगै बजेट बगाउने नियती बन्द नभएसम्म नेपालमा विकासले गति लिन सक्दैन । असार मसान्तमा बजेट खर्च गर्नकै लागि छिटोकाम गर्दा गुणस्तरमा समस्या आएका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत थुप्रै उजुरी रहेका छन् । छिटफूट योजना बाहेकका अन्य कामहरुको कम्तिमा पुस मसान्त सम्म काम थालिसक्न आवश्यक छ । हैन भने समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्न निकै कठिन देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *