बढ्दो कोरोना संक्रमण र नागरिकको लापरवाही

सम्पादकीय
पछिल्लो समय कोरोना संक्रमणलाई सामान्य रुपमा लिइँदै आएको पाइन्छ । कोरोना संक्रमणको सुरुवाती चरणमा मानिसहरुमा जुन किसिमको त्रास थियो, अहिले त्यो निकै कम भएको छ । हुन त नागरिकहरुमा आत्मविश्वास बढेर पनि होला । नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा देशभर त्रास छाएको थियो । तर अहिले परिवारका सदस्य र आफन्तहरु संक्रमित हुँदा पनि मानिसहरुमा त्यस किसिमको डर छैन । नागरिकहरुले त्यसबेला निकै सतर्कता अपनाउने गर्थे, सरकारले दिएको निर्देशनलाई अनुशासित रुपमा पालना गर्थे तर अहिले सरकारको निर्देशन एकातिर नागरिकको सतर्कता अर्को तिर भएको पाइन्छ ।

सरकारले दिएको निर्देशनलाई पालना गर्दा मुलकमा संक्रमितको संख्या निकै कम थियो । जब नागरिक सरकारको नियमलाई उल्लङ्घन गर्न थाले त्यसपछि देशैभर संक्रमितको संख्या ह्वात्तै बढ्यो । कोरोनाको पहिलो चरणमा जति नागरिकले सतर्कता अपनाएका थिए, तर दोस्रो चरण अर्थात डेल्टा भेरिएन्टको समयमा निकै कम सतर्कता आपनाएका थिए । त्यसको फलस्वरुप देशैभर संक्रमितको संख्या हजारबाट लाखमा पुग्यो । हजारौँले ज्यान समेत गुमाउन पुगे । अहिले तेस्रो भेरिन्ट (ओमिक्रोन) फैलदो छ । तर नागरिक खुलेआम बजारमा हिँडडुल गर्ने गर्छन् भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालनानै नगरि हरेक क्रियाकलापमा सरिक भएको पाइन्छ । त्यसले गर्दा पछिल्लो केही हप्ता संक्रमितको संख्यामा निकै वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पौष २५ मा परीक्षण गरिएको नमूना मध्ये ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । माघ ४ मा आइपुग्दा यो संक्रमण दर बढेर करिब ४९ प्रतिशतमा पुगेको छ । एकातिर दिनदिनै संक्रमणको दर उकालो लागि रहेको छ, अर्को तिर नागरिकले स्वास्थ्य सुरक्षा मापदण्डलाई भुल्दै गइरहेका छन् ।

यहि गतिमा संक्रमणको दर बढ्दै गए भयवह अवस्था सिर्जना हुने संभावना देखिन्छ । संक्रमणलाई खेलाँचीको रुपमा लिइँदै गए यसको परिणाम पक्की पनि राम्रो पाउने छैनौँ । संक्रमण नियन्त्रण गरि पहिलेकै अवस्थामा फर्किने हो भने जनस्तरबाटै यसको निदान तर्फ लाग्नै पर्छ । विगतमा भएका कमि कमजोरीलाई दोहो¥यान हुँदैन । नागरिकले सरकारले निर्देश गरेको निर्देशनलाई अनुशासित पूर्वक पालना गर्ने र सरकारले खोपलाई नै मुख्य प्राथमितामा राखेर काम गर्न जरुरी छ । कोरोना संक्रमण कम गर्न र नागरिकको ज्यान जोगाउने उपाय खोप मात्रै हो । खोपको विकल्प अहिलेसम्म सिर्जना भएको छैन । त्यस कारण सरकारले बस्ती–बस्तीमा पुगेर खोपको व्यवस्था गर्नुको विकल्प छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *