सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) को तेस्रो भेरियन्ट ओमिक्रोनको बिगबिगी छ । गाउँमा बिस्तारै फैलिदो छ भने शहरका घर घरमा अहिले बिरामी छन् । राजधानी जस्ता शहरमा त ज्वरो आएका, रुघाखोकी लागेका, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या अधिक छ । उनीहरु मध्ये रोगले च्याप्दै गएर गम्भीर अवस्थामा पुगे पछि मात्र अस्पताल, स्वास्थ्य चौकी र निजी क्लिनिकमा पुग्ने गरेका छन् । यसक्रममा लक्षण देखिएका केही प्रतिशत मात्रै होम आइसोलेसनमा छन् । धेरै त नियमित दैनिकी, कामकाज र कार्यालयमा पुगिरहेका छन् । उनीहरुबाट अरु थप कति जनामा कोरोना संक्रमण फैलियो भन्ने एकिन छैन । पछिल्लो सातामा मात्रै कोरोना भुसको आगो जस्तै फैलिँदै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले पनि देखाउँछ । चौतर्फी कोरोनाका लक्षण देखिएका बिरामीहरु देख्दा, भेट्दा मात्रै पनि आँकलन गर्न सकिन्छ ।
नेपालमा दैनिक १० हजार बढी कोरोना संक्रमण पुष्टि भइरहेको तथ्य छ । कोरोना संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसले विश्वव्यापी रूपमा डेल्टा भेरियन्टलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै नेपालमा समेत सोही अवस्था देखिएको चिकित्सक बताइरहेका छन् । कोरोना संक्रमणको दर र चिकित्सकहरुको भनाई सुन्दा नयाँ भेरियन्ट सहजै नियन्त्रण हुने अवस्था आउन कठिन हुने देखिन्छ । किनभने, पहिलो र दोस्रो भेरियन्टमा समेत कोभिड १९ बाट जोगिएका अधिक नागरिकलाई यसपटक कोरोनाले ग्रसित बनाएको छ । जबकि अहिले कोभिड १९ बिरुद्धको बिभिन्न खोप समेत लाइसकेको अवस्था छ । धेरैको पहुँचमा कोरोना खोप पुगे पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिनु, संक्रमितहरुलाई अधिक ज्वरो, अंग अंगमा दुखाई सकस हुनु अहिलेको खतरानक पक्ष हो ।
ओमिक्रोनको आक्रामक रुपमा फैलावट छ । तर, सरकार आफैमा सुस्त र शिथिल अवस्थामा देखिन्छ । कोरोनाको नयाँ भेरियन्ट आउने जोखिमको चर्चा केही महिना अघि देखिनै भइरहेको थियो । सरकार भने कता कता कुन अल्झनमा छ भन्ने नागरिकले भेउ पाउन सकिरहेका छैनन् । तीन तहको सरकारको यस्तो संकटमा प्रभावकारी भूमिका देखिने देखाउने बेला नागरिकलाई त्यसको गहिरो अनुभूति हुन सकेको छैन । नाकाहरुमा चेकजाँचदेखि शहर, गाउँमा संक्रमितको सहज उपचारमा समस्या छ । धेरैले सिटामोल समेत पाउन नसकेको गुनासो छ । लक्षण देखिएका सबै बिरामीलाई चेकजाँच गरेर अरु नागरिकमा कोभिड फैलिन नदिने तर्फ यथेष्ट सचेतता र कार्यक्रम केही छैन । यस्तो लाग्छ, सरकार यस्तो भनिरहेछ–‘सरकार बाँच्न सक्ने बाँच, बाँच्न नसक्ने मर ।’ होइन भने सरकारले ओमिक्रोनको रोकथाम, उपचार र नियन्त्रणमा अझै पनि प्रभावकारी योजना र कार्यक्रम बनाउन सक्नुपर्छ ।