मन्त्रीको भड्कावपूर्ण अभिव्यक्ति

सम्पादकीय
यो देशका जिम्मेवार सत्तासिन प्रधानमन्त्री, मन्त्री, सांसदहरु पनि कति गैरजिम्मेवार अभिव्यक्ति दिन्छन् ? अभिव्यक्ति त दिन्छन् नै, कति गैरजिम्मेवार काम गर्छन् । यो त नेपाली आम जनसमुदाय माझमा छर्लङ्ग छ नै । जसका कारण देशमा उन्नत भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याए पनि पात्र र प्रवृत्तिको अझै पुनरावृत्ति भइरहेको छ । जसले देशले अपेक्षित विकास, परिवर्तन प्रणालीगत, संस्थागत रुपमा सँगसँगै अघि बढ्ने अवसर प्राप्त गरिरहेको छैन भने व्यवस्था परिवर्तनसँगै बदलिएका नागरिकका सपना र महत्वकांक्षाहरुमा निराशामा रुपान्तरित भइरहेको छ । यसले सिंगो व्यवस्था प्रति नै बदनामी, प्रश्न र संशयहरु पैदा हुने खतरा बढेको छ ।

यसैसाता भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिइन् । जनता समाजवादी पार्टीकी नेतृ समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टक्राए मारिन सक्ने धम्की दिइन् । बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिए । ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो । सरकारको जिम्मेवार मन्त्रीका हैसियतले कुर्चिमा बसिरहेका यादवको यस्तो अभिव्यक्ति भत्र्सनायोग्य त छ नै, उच्च राजनीतिक संस्कारलाई आत्मसाथ गर्ने सरकार भएको भए तत्काल बर्खास्त हुन्थिन् । न त उनी स्वयम्ले नैतिकता देखाउदै राजीनामा दिनुपर्ने अवस्था आउथ्यो । किनभने हिजोका दिनमा तत्कालीन मन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने विद्यार्थीहरुका सन्दर्भमा यौनदुव्र्यवहारको प्रसंग जोड्दा सर्वत्र आलोचना भए पछि राजीनामा दिन बाध्य भएका थिए ।

हुन त नेपाली राजनीतिमा नैतिकता, इमान्दारिताको चरम खडेरी छ । यस्तो बेलामा मन्त्री यादव र उनी सम्बद्ध जनता समाजवादी पार्टीले त्यो संस्कार देखाउला भन्ने आशा राख्नु समय बर्बादी मात्रै हुनेछ । यद्यपि, मन्त्री यादवले मधेसमा हिंसालाई बढावा दिने गरी जे जस्तो अभिव्यक्ति दिएकी छन्, त्यो तत्काल माफी मागेर आत्मआलोचित बन्नुपर्ने विषय हो । तर, अझै उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्नमा उद्धत छन् । यादव एक पात्र हुन्, अरु मन्त्री, नेता, सांसदहरुमा पनि गैरजिम्मेवार कुरा र काम गर्ने प्रवृत्तिले नागरिक आजित छन् । नेपाली समाजमा लामो समयदेखि प्रचलित जुन जोगी आए पनि काने चिरेको भने जस्तै नेताहरु एक पछि अर्को सोही रुपमा देखा पर्नु सिंगो देश, समाज र राजनीतिका लागि दुखद कृुरा हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *