जनगणनाको प्रारम्भिक नतिजा र संकेत

सम्पादकीय
प्रत्येक १०/१० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ । जनगणनाबाट केबल मानिसको संख्या मात्र होइन, अनेक आयामबारे तथ्यगत विषय उजागर हुन्छ । यसले सिंगो देशको वर्तमानदेखि भविष्यको रेखा कोर्न समेत महत्वपूर्ण आधार दिन्छ । यसकारण जनगणनाको जनसांख्यिक हिसाबले मात्रै होइन, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक हर हिसाबले नेपाली समाजमा विशिष्ट अर्थ र महत्व छ । अहिले २०६८ साल पछि नयाँ जनगणना गरिएको छ । यसको तथ्य तथ्यांक समेत बुधवार सार्वजनिक गरिएको छ । जसमा अघिल्लो जनगणनाको तुलनामा यस पटकको गणनामा महिलाको जनसंख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाखबाट २ करोड ९१ लाख पुगेको छ । अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ अर्थात् १०.१८% ले बढेको देखिएको छ ।

पछिल्लो गणनामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) र एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६%) छन् । १० वर्ष अघि पनि पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको छ । गत जनगणनामा प्रति सय महिलामा पुरुषको संख्या ९४.१६ थियो । प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ छ । हालको परिवार संख्या दश वर्षअघिको भन्दा करिब २४.५७% ले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिन्छ । परिवारको आकारप्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ जना थियो ।

जनगणनाको प्रारम्भिक नतिजाले नेपालमा जनसंख्या घट्दो अवस्थामा रहेको यसकारण मान्न सकिन्छ कि १० वर्षको अन्तरालमा अपेक्षित संख्या पनि बढेन । जबकि हाम्रा नेताहरुले केही वर्ष यता नै ३ करोड जनताका नाममा भाषण र राजनीति गरिरहेका थिए र छन्, अहिले जनगणनाको तथ्यांक सार्वजनिक भए पछि सामाजिक सञ्जालहरुमा ती नेता र पात्रहरु प्रति तीब्र व्यंग्यात्मक स्टाटस र टिप्पणी भाइरल छन् । १० वर्षअघि घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) संख्या १९ लाख थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार (८७.६४%) र महिला दुई लाख ३७ हजार (१२.३६%) थिए । यसरी समग्रमा हेर्दा अहिले विदेशिने महिलाको सङख्या ७१.०९% ले बढेको देखिन्छ । जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट विदेश गएर नफर्किएको पाइएको छ । यसले विदेश प्रतिको आकर्षण र नेपाली नागरिकता त्याग गर्ने संख्या पनि बढ्दै गएको संकेत गर्दछ । जनगणनाको अहिलेको प्रारम्भिक नतिजा मात्रै हो । विस्तृतमा संख्या र बिश्लेषण योग्य रिपोर्ट आए पश्चात त्यसले नेपालको वर्तमानको अझ प्रष्ट तस्बिर देखाउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *