सम्पादकीय
विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को महामारी सुरु भयो । महामारी पैmलिँदै जाँदा विश्व नै बन्दाबन्दी (लकडाउन) मा रह्यो । पहिलो र दोस्रो चरणमा विश्व समुदाय नै भयभित अवस्थामा गुज्रियो । जतिबेला आम मानिसहरुले पुज्ने र पुकार्ने मठ मन्दिर, मस्जिद, चर्च, गुम्बा सबै धार्मिक स्थलहरुका ढोकामा ताल्चा लगाइयो । लामो समय बन्द प्रायः रहिरह्यो । तर, यसमा विश्वभर २४ सै घण्टा एउटै क्षेत्रको ढोका खुल्ला थियो । त्यो अरु कुनै नभएर स्वास्थ्य संस्था अस्पतालहरु नै थिए । यसबेलाको कठिन संकटमा स्वास्थ्य संस्था, अस्पतालहरुले गरेको कर्म जीवन्त स्मरणीय रहनेछ । यसमा कति पनि दुई मत छैन ।
तर, यो पनि आम नागरिकको स्मरणमा रहने छ कि यस्तो मानव जीवनकै कठिन संकटका बेला कतिपय स्वास्थ्य संस्था र निजी अस्पतालहरुले कोरोनालाई कमाउ धन्दा बनाएका छन् । जहाँ स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको धर्म त हराएको छ नै, न्युनतम मानविय मूल्य मान्यता पनि गुमनाम जस्तो छ । यसमा संघीय राजधानी काठमाडौंदेखि अरु ठूला साना सहर र गाउँमा सञ्चालित अस्पताल र क्लिनिकहरु अग्रपंक्तिमा छन् । जसका बारेमा कति घटनाकै हिसाबले आम रुपमा सार्वजनिक भइरहेको छ भने कतिपयमा सेवाग्राहीले प्रत्यक्ष परोक्ष रुपमै तीब्र आक्रोश र गुनासो व्यक्त गरिरहेका छन् । यसै साता पत्रकार एलबी नेपालीको अस्पतालमै उपचारका क्रममा भएको निधन र आर्थिक अभावमा अस्पतालले गरेको अमानवीय व्यवहार र लापरवाही मुख्य कारक रहेको नेपाल पत्रकार महासंघ लगायतको छानविनका क्रममा देखिएको छ । कति अस्पतालले उपचारमा आएका बिरामीको सबै पैसा सकिएर ऋणधनबाट समेत जुटाएर अस्पताललाई बुझाउदा पनि गुणस्तरिय उपचार पाउन नसकेको र ज्यान नै गुमाउनु परेको घटनाहरु पनि छ । तर, अस्पतालले भने कोभिड संकटकै समयको लाभ उठाउदै बिरामीहरुको निःशुल्क उपचार गराएको भनेर सरकारसँग पनि लाखौ रकम माग गरेको खबर सार्वजनिक छ ।
कोभिड संकटका बेला स्वास्थ्य संस्था र अस्पतालहरु संवेदनशील देखिएका छन् कि संवेदनाहीन ? घटनाक्रमले गम्भीर विषय र बहस सिर्जना गरेको छ । यसमा सरकारले प्रभावकारी अनुगमन र कारबाही गर्न नसक्दा कोभिड संकटकै फाइदा उठाएर धन कमाउने अस्त्र बनाइरहेका छन् । स्वास्थ्यको अधिकार नेपालको संविधानमै मौलिक अधिकारको रुपमा रहेको देशमा यस्तो संकटमा भइरहेको चरम लापरवाहीमा यथेष्ट अनुगमन र कारबाहीको कदम चाल्न नसक्नु सरकारको अर्कमण्यता हो । यद्यपि, सरकारले दर्जन बढी अस्पतालमा संकटमा कमाउ धन्दा चलाएको विषयको व्यापक गुनासो पछि छानविन गरिरहेको छ । यस्ता छानविन सत्ता र शक्तिको आडमा मेडिकल माफियाले निकम्मा सावित गरिदिएको विगत छ । अतः भोलिका दिनमा कुनै पनि अस्पताल या स्वास्थ्य संस्थाले संकट या आम नागरिकको समस्या या अप्ठ्रोमा पैसा मात्र असुल्ने नजिरलाई बल पु¥याउने होइन, त्यसलाई पूर्णतः निरुत्साहित गर्ने तर्फ सरकारले कदम चाल्नु अपरिहार्य छ ।