फोहोरको बेथिति, विमानस्थल र बजार

सम्पादकीय
पर्यटकीय नगरी पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डफिल्ड साइटको समस्या सुरुवातीमै देखिएको छ । चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने उद्घोष गरेको विमानस्थल कोभिड –१९ का कारण ढिलाई भयो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार त निर्माण सम्पन्न भइसकेका छन् । तर, विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ संघीय, गण्डकी प्रदेश र स्थानीय तहले समयमै नसोच्दा समस्या जटिलता तर्फ उन्मुख देखिन्छ । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्याण्डफिल साइटलाई उपर्युक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्न अपरिहार्य छ । तर, अझै यसको यथोचित विकल्पको सोच, तयारी र योजना देखिदैन ।

पोखरा विमानस्थल जुलाई सम्ममा सम्पूर्ण रुपमा सम्पन्न हुनेछ । यसबेला सम्म पनि ल्याण्डफिल साइटको व्यवस्थान हुन नसके उडान सम्भव नहुने अवस्था निश्चित प्रायः छ । यसका लागि पोखरा महानगरको मुख्यतः जिम्मेवारी देखिन्छ । ल्याण्डफिल साइट समयमै स्थानान्तरण गर्ने र नगर्दा त्यसले नियमित उडानमा पर्न सक्ने समस्याका बारेमा महानगर जगजाहेर नै हुुनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार पनि विमानस्थलको १० किमी ल्याण्डफिल साइट स्वीकार गर्न मिल्दैन । एउटा दूरीले नाप्ने विषय तथा अर्को भौगोलिक विशेषता, विमानस्थल र त्यस क्षेत्रको दूरीको सम्बन्ध पनि हेर्नुपर्दछ । यसर्थ पोखरा महानगरले फोहोर बिसर्जन स्थलको व्यवस्थापन विकल्प तत्काल खोज्नु पर्दछ । फोहोर बिसर्जन या व्यवस्थापनको समस्या झेलिरहेको पोखरा महानगर मात्र होइन, संघीय राजधानी काठमाण्डु सहित अधिकांश शहर बजार फोहोरले दुर्गन्धित बनिरहेका छन् । उनीहरुले नयाँ संघीय अभ्यास गर्न थालेको पाँच वर्ष बित्दा समेत फोहोर व्यवस्थापनको दीगो र बैज्ञानिक व्यवस्थापन गर्न सकेका छैनन् । यो निर्वाचित जनप्रतिनिधिको नेतृत्व क्षमता माथिको प्रश्न हो ।

अहिले स्मार्ट सिटी बनाउने लहर त छ तर, शहर बजारको सरसफाईको अवस्था हेर्दा सोचनीय अवस्था छ । सर्वत्र अव्यवस्थित फोहोर र दुर्गन्ध छ । जसको अहिले सम्म पनि विसर्जन, पुर्नप्रयोग, व्यवस्थापन विकल्प तयार गर्न नसक्नु दुर्भाग्य हो । अहिले पोखरा महानगरले समयमै विकल्प तयार नगर्दा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चुनौति खडा भएको छ । अरु सहरहरु पनि सुन्दर र सफा हुनबाट बञ्चितिमा परिरहेका छन् । फोहोरमा पनि नेपालमा नजानिँदो हिसाबले राजनीति मिश्रित छ । यसबाट मुक्त गरेर फोहोरको यथोचित व्यवस्थापनका लागि दीर्घकालीन विकल्पको खोजी र कार्यान्वयनमा जानु पर्दछ । यसमा स्याङ्जाको वालिङ नगरपालिकाले नमुना कार्य गरिसकेको छ । फोहोरबाट वार्षिक २४ लाख आम्दानी समेत गरेको छ । यस्ता सुन्दर सत्प्रयासको सिको गरेर सहरलाई सुन्दर सफा बनाउन अब ढिलाई नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *