प्रधानमन्त्री, भाषण विज्ञ नियुक्ति र बेथिति

सम्पादकीय
नेपालमा आसन ग्रहण, भाषण र शासनमा व्यापक बेथिति छ । कुनै औपचारिक आयोजना गरियो भने त्यहाँ आसन ग्रहणमै घण्टौ खर्चिने परिपाटी छ । अझ त्यसमा पनि कति मानिसहरुको नाम, थर, पद, पृष्ठभूमि नमिलाएर आयोजकले खेप्नुपर्ने गुनासो र आलोचनाको विषय भिन्नै छ । त्यसमै भाषणको अर्को विकृतिको चाङ छ । भाषण गर्न पाए घण्टौ चर्को भाषण गर्ने नेताहरु एक से एक छन् । विषय केन्द्रित भएर सम्बन्धित विषयमा कति अध्ययन गरेर बोल्छन् ? त्यो पनि भिन्नै पाटो छ तर, छोटो भाषण गर्न दिए पनि घण्टौ भाषण गरेर समयको बर्बादी गर्ने नेताहरु अनगिन्ती छन् । भाषण गर्न नपाएकोमा गुनासो गरिरहने पनि अधिक संख्या छ । अनि शासन ? नेपालमा शासन व्यवस्था सञ्चालनमा पनि उदाहरणीय र अनुकरणीय राज नेता पाउन नसकेको दुर्भाग्य नेपाली नागरिकले भोगिरहेका छन्, दैनिकजसो बिभिन्न भाव र माध्यमबाट व्यक्त गरिरहेका छन् ।

यही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भाषण विज्ञ नियुक्ति गरेको खबर भाइरल छ । राज्य सञ्चालकहरुले आफ्नो जुन विषयगत मन्त्रालय हो, त्यसमा विज्ञता प्राप्त गरेकाहरुको साथ सहयोग लिन विज्ञ नियुक्ति गर्ने कुरा त अनौठो भएन, त्यो स्वभाविक र अपरिहार्य विषय पनि हो । तर, भाषण विज्ञ ? प्रधानमन्त्री देउवाले ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नै नियुक्त गरेको खबर सार्वजनिक भए पश्चात सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ । प्रधानमन्त्री भएको ६ महिनासम्म सचिवालयलाई समेत पूर्णता दिन नसकेका देउवाले नुवाकोटका किरण गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेर आलोचना निम्त्याएका हुन् । उसो त प्रधानमन्त्री देउवा यस्तो नेता हुन्, जसको भाषण कहिले पनि लामो हुँदैन । यो उनले वर्षौको राजनीतिबाट बनाएको परिचय र पहिचान हो । देउवा आफ्नो अधिकांश भाषण ५ देखि १० मिनेटमा सक्छन् । आजकाल कार्यक्रममा लामा भाषण अत्यास लाग्दा हुन्छन्, जुन जनता सुन्न पनि चाहदैनन् । तर, उनै देउवाले भाषण विज्ञ नियुक्ति गर्नु कति आवश्यक र जायज विषय हो ?

प्रधानमन्त्रीका हैसियतमा उनले लिएको निर्णय नाजायज मान्न नसकिएला । तर, समिक्षा र बहस जरुर छ । पछिल्लो समय बिभिन्न विज्ञ भनेर नियुक्ति दिएर जागिर खुवाउने अस्त्र बनेको छ यस्ता पदहरु । चाहे त्यो संघीय सरकारका मन्त्रालयहरु होस् या प्रादेशिक र स्थानीय तहहरु होउन् । आफ्ना निकटस्थहरुको भर्ति केन्द्र बनाएर राज्यको स्रोत साधन माथि मनपरी दोहन गरेका छन् । सबैले बुझ्नुपर्ने कुरा के हो भने एक सक्षम, सबल, सादगी र कुशल नेतृत्व यस्ता कुराहरुमा अल्झदैन । सुशासन, मितव्यिता, जवाफदेहिता, पारदर्शिता जस्ता विषय उसका लागि ठूलो जिम्मेवारी, निष्ठा र आदर्शको विषयको बन्छ । अतः यस्ता निर्णयहरु लिँदा आफ्ना साँघुरो घेरो र सकिर्ण सोच भएका निकटस्थहरुलाई हेरेर होइन, सिंगो नेपालका नागरिक सम्झन सके यि र यस्ता विवादास्पद निर्णय, कदम, आलोचनाबाट माथि उठ्न सहज हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *