ओमिक्रोन, शिक्षा र सरोकार

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहर जारी छ । पछिल्लो केही साता यता उल्लेख्य बढेको संक्रमण विस्तारै कम हुँदै गएको आभाष हुन थालेको छ । यद्यपि, यसमै ढुक्क हुने अवस्था भने छैन । किनकि, नेपालमा कोरोनाको परीक्षण दर पछिल्लो समय निकै कम छ । कोभिड १९ को धेरैलाई सम्भावित मिल्दोजुल्दो लक्षण देखिएको छ तर गम्भीर अवस्थामा बाहेक परीक्षण गर्न हिच्किचाहट गर्ने समूह ठूलो छ । परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइहाले त्यसले परिवारका सदस्य, समुदायमा पनि उपेक्षित हुनुपर्ने सन्त्रास सर्वत्र देखिन्छ । हुन त यसबिचमा कोभिड १९ बिरुद्धको खोप र बुस्टर डोज लगाउने क्रम पनि तीव्र छ ।

कोरोना भाइरसको तेस्रो लहर अर्थात ओमिक्रोन आतकंले यतिबेला देशभरका विद्यालय बन्द छन् । विद्यालय बन्द भए पछि विद्यार्थीहरुका लागि स्कुल र कलेजले अनलाइन कक्षा त चलाइरहेको छ । तर, यसको प्रभावकारिताको बारेमा कुरा गर्ने हो भने सिकाई फितलो देखिन्छ । पछिल्लो समय त अझ देशभर पटक पटक गइरहने बिद्युतका कारण थप प्रभावित बनेको छ अनलाइन कक्षा । अर्को तर्फ ग्रामीण क्षेत्रमा अझै पनि अनलाइनको राम्रो पहुँच विस्तार भइसकेको अवस्था छैन । लामो समयदेखि प्रत्यक्ष भौतिक उपस्थितिमा पढाई बन्द हुँदा त्यसको मारमा छन् विद्यार्थी । सरकारले यसको उपर्युक्त विकल्प अझै निक्र्यौल गर्न सकिरहेको छैन । अझै कोरोनाको भयावह कहिले सम्म लम्बिने हो एकीन छैन । यद्यपि, अहिले कोरोना प्रभाव केही कम हुँदै गएको निष्कर्ष सहित बन्द विद्यालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ ।

दुई वर्ष यता कोरोना भाइरसले पुरै देशको गति र लय अस्तव्यस्त बनाएको छ । देश मात्र होइन, विश्व समुदाय यसबाट प्रभावित छ । आम मानिसका जीवनका गतिशील पाइलाहरुमा एकाएक ब्रेक लागेको छ, धर्मराएको छ । कारण कोभिडको नयाँ नयाँ भेरियन्टहरु आइरहेका छन् । दोस्रो लहर पछि नियमित दैनिकीमा फर्किएको नेपाल र नेपाली नागरिकको दैनिकीमा फेरि एकपटक गम्भीर धक्का लागेको छ । त्यसको पहिलो निसाना विद्यालय र विद्यार्थी भएका छन् । त्यसैले सरकारले कोभिडको अबको सम्भावित जोखिमको गहिरो विश्लेषण सहित विकल्पको खोजी गर्नु अपरिहार्य छ । विगतमा विद्यालय लामो समय बन्द हुँदा शिक्षा क्षेत्र धेरै प्रभावित छ । विद्यार्थीहरुको भविष्य पछाडि धकेलिएको छ । अतः विगतबाट पाठ सिकेर सरकारले कोभिड आए पछि बन्द गर्ने मात्र होइन, सबैलाई खोप सहित अरु स्वास्थ्य सुरक्षा, सतर्कता अपनाउने र जोखिम नियन्त्रण गर्ने योजना र कार्यक्रम तय गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *