देशका एजेण्डा र द्धैध चरित्र

सम्पादकीय
नेपाली राजनीति हिजोका दिनमा जे जस्ता खराब पात्र र प्रवृत्तिजन्य समस्याबाट ग्रसित थियो, बेथितिले आक्रान्त थियो, त्यो आजका दिनमा पनि नयाँ स्वरुप र शैलीहरुमा एक पछि अर्को देखिइरहेका छन् । मुलुकको व्यवस्थामा त नेपालले उल्लेख्य परिवर्तनको अवसर पाएको छ, सयौं वर्ष लामो राजतन्त्रको बदला देशमा उन्नत व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित छ । नयाँ व्यवस्थामा जनताका हर आवश्यकता, समस्या समाधान र सम्बोधनका लागि तीन तहको सरकार छ । स्थानीय तहदेखि प्रदेश र संघीय सरकार क्रियाशील छ । तर, सरकारहरुले नागरिकको अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशाको ग्राफ क्रमशः बढ्दो छ ।

नेपालले उल्लेख्य विकास र परिवर्तन हासिल गर्न नसक्नुमा नेपालका राजनीतिक दलहरुको दुरदर्शिता, चुस्त विकास योजनाको अभाव देखिन्छ । अर्को तर्फ राजनीतिक दलका मुख्य नेताहरुमै फोहोरी राजनीतिको दलदलबाट मुक्त हुन नसक्नु हो । नेपालको कैयन आन्तरिक र बाह्य विषयमा प्रष्ट योजना र एजेण्डाको अभाव देशले वर्षौदेखि भोगिरहेको छ । अहिले एमसिसी प्रकरणमा नेताहरुको द्धैध चरित्र पुनः उदांगो भइरहेको छ । एमसिसीको चर्को बिरोध गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंम्ले प्रधानमन्त्री शेरबहादुर देउवासँगै लिखित पत्र पठाएको समाचार सार्वजनिक भए पछि पुनः एक पटक देश तरंगित छ । उसो त प्रचण्डको निजी सचिवालयले यसमा केही स्पष्टीकरण दिएको छ । एमसीसी अनुमोदनका लागि ४÷५ महिना समय माग गर्दै लेखेको पत्र सार्वजनिक भयो । र त्यो समय घर्के पछि प्रचण्ड चर्को दबाबमा छन् । द्वैध चरित्र देखाएको भन्दै आलोचना समेत भएको छ । द्धैध चरित्र देखाउने प्रचण्ड एक्ला पात्र होइनन्, प्रधानमन्त्री देउवा, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरुमा पनि यो समस्या व्याप्त देखिन्छ ।

मुलुकको राष्ट्रिय हितका विषयमा पनि राजनीतिक दलहरु एकमत हुन नसक्नुको दुर्भाग्यले देशले पटक पटक भोग्दै अएको छ । अहिले एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक छ । तर, राजनीतिक दल र तीनका मुख्य नेताहरुको भूमिका द्धैध देखिन्छ । भित्र लिखित पत्राचारदेखि लचिलो रुपमा प्रस्तुत हुने र बाहिर जनताका बिचमा देखिदा क्रान्तिकारी र राष्ट्रवादी देखिने प्रवृत्ति जुन छ, यो नेपाल र नेपालीका लागि घातक सावित हुँदै आएको छ । अहिलेको एमसिसी प्रकरणमा पनि देशले यही नियति भोगिरहेको घटनाक्रमले पुष्टि गरिरहेको छ । अतः देशका लागि दीर्घकाल सम्म महत्व राख्ने हर एजेण्डामा जनतालाई केन्द्रमा राखेर निर्णय गर्ने राजनीतिक दल र नेता चाहिएको छ । आफू कसरी सत्ता र शक्तिको केन्द्रमा पुग्ने होड र सकिर्ण मानसिकताको सिकार देशलाई बनाउनु कुनै पनि हिसाबले क्षमायोग्य कदम हुन सक्दैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *