चुनाव घोषणा र सम्भावित परिदृश्य

सम्पादकीय
चुनाव एक प्रक्रिया र नियमितता मात्रै होइन, यसले असल नेतृत्व चयन गर्न सक्दा उथल पुथल सकारात्मक परिवर्तन र विकासको उभार ल्याउन सक्छ भने कहिलेकाही चुनावबाट यस्ता मानिस आउँछन्, जो सक्षम, सबल र दुरगामी सोचको हुँदैनन् । उनीहरुले सिंगो सरकार, समाज र देश अस्तव्यस्त पनि बनाउँछन् । यो विगत केही दशक यताको घटनाक्रम र राजनीतिक परिदृश्य हेर्ने हो भने प्रष्ट हुन्छ । हुन त आजकाल चुनाव केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको मात्र होइन, तत्लो तहमा सञ्चालित प्राथमिक आधारभूत विद्यालयहरुको व्यवस्थापन समितिमा पनि चुनाव हुन थालेको छ । राजनीतिको अस्वस्थ प्रतिस्पर्धाले सबै क्षेत्र आक्रान्त छ । त्यसैले, सामाजिक संघ संस्था र निकायहरुमा पनि दलगत प्रतिस्पर्धा हुन थालेको छ ।

यही अनुक्रममा दोस्रो पटक नेपालमा स्थानीय तह निर्वाचन हुने निश्चित भएको छ । सरकारले आगामी वैशाख ३० गते एकैसाथ स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । नेपालको संविधानको भावना र मर्म अनुसार निर्धारित समयमै आवधिक चुनाव गर्ने निर्णय हुनु सकारात्मक कुरा हो । यसबिचमा स्थानीय तह निर्वाचनका सन्दर्भमा कैयन प्रश्न, द्धिविधा र अन्यौलताहरु देखिए । सरकारले निर्धारित समयमै चुनाव गर्नमा केही आनाकानीको अवस्थामा थियो । गठबन्धन सरकार बिच अहिले घोषित निर्वाचनका विकल्पका सन्दर्भमा स्थानीय तह निर्वाचनलाई पछि धकेलेर तीनै तहको निर्वाचन एकैसाथ गर्ने विकल्पमा पनि छलफल भयो । तर, यसको संवैधानिक जानकारी, प्रतिपक्ष दल लगायतबाट सर्वत्र बिरोध र आलोचना भइरह्यो । निर्धारित समयमा निर्वाचन हुन नसक्दाका संवैधानिक र नैतिक जटिलताका बारेमा गम्भीर बहसहरु हुन थाले । सडकमा दबाबका लागि सांकेतिक बिरोध प्रदर्शनहरु भयो । संविधानको रक्षाका लागि गठबन्धन बनाएको जिकिर गरिरहेको सरकार र यस सम्बद्ध दलका लागि यस अवधिमा स्वभाविक प्रश्नहरु उठे, उठाइयो । यद्यपि, सरकारले निर्धारित समयमै चुनाव गर्ने जे घोषणा गरेको छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो ।

निर्वाचन घोषणा पछि राजनीतिक परिदृश्य त स्वभाविक देखिनेछ नै, अराजनीतिक गतिविधि र परिदृश्य पनि उत्तिकै देखिनेछ । अब राजनीतिक चहल पहल केन्द्रदेखि गाउँ तह सम्म हुनेछ । जसमा एक दलबाट अर्को दलमा प्रवेश गर्ने, पार्टी परित्याग गर्ने, विज्ञप्तीबाजी गर्ने, जागिरदेखि अनेक आश्वासन बाँड्ने जस्ता क्रियाकलाप व्यापक हुने निश्चित प्रायः छ । किनकि हामीकहाँ अझै पनि चेतना, जागरणको तह कमजोर छ । अनेक आवश्यकताले नागरिकको विवेक निश्चित शर्तहरुमा बन्धक हुन्छ । अब हर नागरिकले बुझ्नुपर्ने कुरा के हो भने ५ वर्षमा चुनाव हुँदैछ । अब हुने चुनावबाट पाँच वर्षका लागि आफूलाई र आफ्नो गाँउ ठाउँलाई शासन गर्ने पात्र चुन्दैछु, यसबेला कुनै प्रभाब, दबाब, अभाबको विषयमा आफ्नो मताधिकार साट्ने हो भने त्यसले कुनै एक व्यक्ति होइन, सिंगो समाज, गाउँ शहर पछि पर्ने खतरा हुन्छ । आजैदेखि सुरु हुने राजनीतिक गतिविधि बाहेकका अराजनीतिक काम र कदममा प्रश्न उठाउँदै स्वच्छ निर्वाचन र त्यस मार्फत सबल नेतृत्व चयन गर्ने बातावरण बनाउन हामी सबैले भूमिका खेलौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *