सस्तो लोकप्रियताको लालच

सम्पादकीय
यतिबेला देशमै असल सत्कर्म गरेरै वाहवाही पाउनु त स्वभाविक र राम्रो कुरा हो । तर, समय र समाज यस्तो दिशामा उन्मुख देखिन्छ कि यो भीड र भाइरलको दुनियाँ हो । जहाँ असल सोच, सपनाले कर्म गर्नेहरु भन्दा अरुहरु नै समाजका चल्तीका ‘नायक’का रुपमा स्थापित हुन थालेका छन् । र असल सोच्ने, गर्न कोशिस गर्ने मानिसहरु क्रमशः निरुत्साहित हुँदैछन् भने खराब सोच र नियत राख्नेहरु जो जुनकुनै रुपमा, कदममा छिटो नाम र दाम कमाउन चाहन्छन्, तीनैहरुको बोलवाला देखिन्छ । यस्तो पात्र र प्रवृत्तिबाट हर क्षेत्र ग्रसित देखिन्छ । चाहे राजनीति होस्, या व्यापार होस् या कलाकारिता होस् पत्रकारिता होस्, शिक्षा होस् अथवा स्वास्थ्य । सबैजसो क्षेत्रमा छिटो छिटो नाम र दाम कमाएर चर्चित बन्ने लहड छ ।

यसको पछिल्लो उदाहरण राजनीतिक रुपमा हेर्ने हो भने सरकारका मन्त्रीहरुलाई हेर्न सकिन्छ । सत्तामा पुगेर मन्त्रालयको बागडोर सम्हाले पछि केही गर्ने हुटहुटी चल्नु त नेपाल र नेपालीका लागि सुखद विषय हो । त्यस्तो सोच्ने र असली रुपमा व्यवहारमै रुपान्तरित गर्ने पात्रहरु निकै कम छन् । यस अवस्थामा देशको विकास, सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि उठाउने कदम तारिफयोग्य हुन्छ । तर, त्यसरी चालिने कदम राज्यको नीति, नियम, ऐन, कानुन र निर्देशिका अनुसार भइरहेका छन् कि छैनन् ? विषय र बहस यसतर्फ केन्द्रित हुनुपर्छ । अहिले पर्यटनमन्त्री प्रेम आले त कहिले नागरिक उड्ययन प्राधिकरण, कहिले पशुपति क्षेत्र, कहिले कता अनुगमन गरेर भाइरल छन् । उनीसँगै श्रममन्त्री किसान श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकास मन्त्री रामकुमारी झाक्री पनि फिल्डमै उत्रिएर अनुगमन गरिरहेका छन् ।

नेपालको कानुन अनुसार मन्त्रीको जिम्मेवारी अनुगमन गर्नु हुँदै होइन । यो त सरकारका उपसचिव वा सहसचिवको काम हो । उनीहरुले प्रभावकारी तबरले काम गरेका छैनन् भने निर्देशन दिने, स्पष्टिकरण सोध्ने, सरुवा या अन्य कारबाही गर्ने मन्त्रीको कार्यक्षेत्र हो । तर, मन्त्रीहरू नीतिगत काम गरेर दिगो र प्रभावकारी कानुन बनाउनुको साटो युट्युवर लिएर अनुगमनमा निस्किएर सस्तो र क्षणिक लोकप्रियतामा रमाउन थालेका छन् । मन्त्रीले काम र परिणाममा चासो दिनु अन्यथा होइन । यद्यपि, मन्त्रीले मनमौजी काम गर्दा समग्र राज्य प्रणालीमा पर्न सक्ने प्रभावलाई सामान्य आँकलन गर्न मिल्दैन । नेपालको संविधान अनुसार कार्यविभाजन नियमावली, २०७४’ मा गरिएको व्यवस्थालाई हेक्का राख्नुपर्छ । जकडिएका समाज र देश बदल्न दृढ इच्छा शक्ति र समर्पण भाव भएका नेताहरु जरुर चाहिन्छ, त्यस्तो सोच र इच्छा शक्तिलाई बिधिवत हिसाबले व्यक्ति होइन, प्रणाली बलियो बनाउने गरी भूमिका खेल्नुपर्छ । राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालेका जो कोही या अरु पनि क्षणिक र सस्तो लोकप्रियताको आत्मरतिमा रमाएर कदापि समय बर्बादी गर्नुहुँदैन । नीति, नियम र प्रणाली अपनाएरै गरिने परिवर्तन दीगो र प्रभावकारी हुन्छ । यस्तो पद्धतिका साथ कार्य गरे आम नागरिकले जिवन्त स्मरण गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *