नेटवर्किङ व्यवसाय, नियत र निगरानी

सम्पादकीय
नेपालमा नेटवर्किङ व्यवसाय पटक–पटक विवादित मात्र होइन, बन्देजमा परिरहेको विगत छ । गैरकानुनी रुपमा सुरु गरेर निश्चित व्यक्ति र समूहले मात्र कमाउ धन्दा चलाउने नियतले हजारौ नागरिक पछिल्लो दशकमै ठगिएका छन् । कतिको घर खेत मात्रै भएको छैन, सम्बन्धहरुको अन्त्य र परिवारको बिचल्ली भएका घटना प्रशस्त छन् । छिटो कमाउने र रमाउने सोचले नेपालमा नयाँ नयाँ नेटवर्किङ व्यवसायहरु आइरहेका छन् । हिजो युनिटी लाइफ जस्ता देशव्यापी सञ्जाल बनाएका संस्था र व्यवसाय एकाएक राज्यले नियन्त्रण गरेर कारबाही गर्नुपर्ने अवस्था आयो । अरु दर्जनौ यस्ता व्यवसायहरुमा राज्यले अवैध धन्दा करार गरेर अवैध आर्जित सम्पति राज्यको बनायो ।

यो नेटवर्किङ व्यवसायको लहड अझ पनि नयाँ नयाँ स्वरुप र शैलीमा देखिरहेका छन् । अहिले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ चर्चामा छ । नेपालमा पनि जोसियल, क्राउड १, सोलम्याक्स ग्लोबल जस्ता संस्थाले आफूलाई मार्केटिङ कम्पनी दावी गर्दै पिरामिड स्किम सञ्चालन गरिरहेको पाइएको छ । नेटवर्क मार्केटिङ व्यक्तिदेखि व्यक्ति (पर्सन–टु–पर्सन) व्यवसायिक मोडेल हो, जसमा व्यवसायको एक प्रतिनिधिले विभिन्न तहमा सदस्य थप गर्दै वस्तु तथा सेवा बिक्री गर्ने गरिन्छ । यसमा नयाँ ग्राहकलाई सदस्य बनाइन्छ र तिनलाई थप नयाँ ग्राहक बनाई सामान वा सेवा विक्री गर्न प्रोत्साहित गरिन्छ, कमिसन दिइन्छ । पिरामिड स्किममा ‘हाइरारकियल सेटअप’ (माथिल्लो तहबाट तल्लो तहमा गरिने व्यावसाय) हुन्छ, जसमा जो व्यक्तिले धेरै सञ्जाल बनाउन सक्यो, उसले नै धेरै कमाउने हुन्छ । सरकार र नेपाल राष्ट्र बैंकले यस्तो नेटवर्क मार्केटिङ अथवा पिरामिड स्किमको नाममा भइरहेको ठगीको विषयलाई गम्भीर रुपमा लिएको छ । र यस्ता गतिविधिमा संलग्न नहुन बारम्बार आव्हान गरिरहेको छ । र पनि नागरिकहरु शीघ्र कमाउने लालसामा फसिरहेका छन् ।

पछिल्लो समय चलेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङले फेरि एक पटक पुरै देश तरंगित छ । नेपालको कानूनले नेटवर्क मार्केटिङलाई अनधिकृत ठहराएको छ । नेपालको वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ ले नेटवर्क मार्केटिङ पिरामिडमा आधारित व्यवसायलाई बन्देज गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा स्वंयम्ले यस्तो व्यवसाय गैरकानुनी भएकाले नगर्न र गरेमा कारबाही गर्ने चेतावनी दिइरहेका छन् । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम छ नै, अर्को तर्फ क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको छ । आईएमएफले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनन्सियल स्टाबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरेको छ । क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने भएकाले यसमा राज्यका साथै आम नागरिक पनि समयमै सचेत हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *