मन्त्रीको मर्यादाहीन बोली र बचाउ

सम्पादकीय
नेपाल र नेपालीको दुर्भाग्य मान्नुपर्छ कि सरकार चलाउन सत्ताको कुर्चीमा पुगेकाहरु राम्रा कामले चर्चित भन्दा नराम्रा कामले बदनाम बढी छन् । सत्ता बाहिर रहँदा राम्रो राजनीतिक उचाई कायम गरेका नेताहरु पनि सत्तामा पुगे पछि उही पुरानै नेताले दोहो¥याइरहेका प्रवृत्तिले ग्रसित बनिरहेका छन् । जसले नेपालको राजनीतिक स्थिरतामा मात्र होइन, समग्र देशको व्यवस्था परिवर्तन पछिको अवस्थामा गरिएको आशा, अपेक्षा र उत्साहमा पनि गम्भीर तुषरापात गरेको छ । हिजोको पुरानो व्यवस्थामा जे जस्ता खराब पात्र र प्रवृत्तिको बोलवाला थियो, आज पनि कुनै न कुनै स्वरुपमा त्यही वा त्यस्तै अवस्थाको आभास भइरहेको छ ।

अहिले देश फेरि एक पटक एक मन्त्रीको फोन संवादले तरंगित छ । पक्ष विपक्षमा मत विभाजित छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले भारतमा रहेका एक नेपालीसँग गरेको अश्लील संवाद भाइरल छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारमा रहँदा कार्वनडाइ अक्साइड लगायतका आफ्नै अभिव्यक्ति र काठ तस्करी सम्बन्धी पुरानो मुद्दाका कारण चर्चामा रहेका आले देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बन्दा पनि विवादित बने । उसो त अनेकन आलोचना, वादविवाद र आरोपका बिच मन्त्री बनेका आलेले केही कामबाट राम्रै चर्चा पनि कमाएका छन् । नारायणहिटी दरबार संग्राहलयमा बतास समूहलाई ठेगान लगाउनेदेखि विमानस्थलको सुधार,रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही, डुब्न लागेको नेपाल एयरलाइन्सलाई नै गति दिनका लागि पहल थालेपछि उनको चर्चा बढेको सत्य हो । यही सकारात्मक चर्चाका बिच आलेको सार्वजनिक पछिल्लो अडियो क्लिपले भने उनी फेरि विवादको भूमरीमा परेका छन् ।

मन्त्री आलेले गरेको सकारात्मक कार्य र कदम निश्चय पनि चर्चा गर्न लायक छन् । राजनीतिक बेथिति बिच राज्यको ऐतिहासिक पुरातात्विक महत्व बोकेका स्रोत, सम्पति र सम्पदा माथि भइरहेको मनपरी दोहनका बिरुद्ध उनको कदम स्वागतयोग्य छ । तर, भारतमा बस्दै आएका जगत ओलीसँगको भिडियो संवादमा मन्त्री ओलेले जे बोलेका छन्, त्यो नेपाली समाजले सुन्नै नसक्ने शब्द हो । यसले अहिले बहालवाला मन्त्रीको मर्यादा र नैतिकताको कुरा धेरै गम्भीर विषय हो, एक सामान्य नागरिकले प्रयोग गर्ने गाली गलौजको भाषा पनि यति निम्न स्तरको सायदै होला । पछिल्लो समय उनले गरेका सकारात्मक काम र कदमका बिच उनको संवादको भाषा र शैली आपत्तिजनक हो । उनले र उनका निकटहरुले जे जस्तो बचाउ गरे पनि यो सार्वजनिक रुपमा आत्मआलोचनाको विषय हो । यसमा एउटा कुरा अन्र्तनिहीत हुन सक्छ कि उनले आक्रामक रुपमा गरिरहेका सकारात्मक पहल र कार्यले अत्तालिएकाले षड्यन्त्र र बदनामका अनेक उक्ति रच्न सक्छन् । यसमा मन्त्री आले मात्रै होइन, सबै सार्वजनिक पद धारणकर्ता सचेत बन्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *