एमसिसीको अबको पेचिलो पाटो

सम्पादकीय
एमसीसीले सिंगो देश यतिबेला तरंगित छ । एमसीसीको पक्ष र विपक्षमा नेपालीहरु बिभाजित छन् । सत्तारुढ दलहरु स्वयम्मा एक मत छैन । सत्ताको बागडोर सम्हालिरहेको नेपाली कांग्रेस एमससीसी संसदमा पेश गरेर पारित गर्ने पक्षमा छ । यसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन छ भने सत्ता गठबन्धनकै नेकपा माओवादी यसको खिलापमा उत्रिएको छ । एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सत्ता समर्थक दल पनि एमसीसीको विपक्षमा उभिएका छन् । अर्को तर्फ प्रमुख प्रतिपक्ष नेकपा एमाले एमसीसीको सवाल उत्कर्षमा पुग्दा पनि मौनता साँधिरहेको छ । राजनीतिक दल र तिनका नेताहरुको कार्यशैली र गतिविधि हेर्दा यस्तो लाग्छ कि देश र जनतालाई सर्वोपरी राखेर राष्ट्र राष्ट्रियताको विषयले भन्दा राजनीतिक दाउपेचमा चलिरहेको छ ।

कुनै राजनीतिक दल प्रति नागरिकले पूर्णतः विश्वास र भरोसा राख्ने अवस्था छैन । आज कुनै दल र नेताले बोेलेको कुरा भोलिका दिनमा अर्कै रुप र अवतार लिइसकेको हुन्छ । राजनीतिक दल र नेताहरुको युटर्न यति छोटो र छिटो हुन्छ कि आफ्नै खुट्टामा उभिएको र हिँडेकै आभास हुँदैन । चाहे त्यो नेपाली कांग्रेस होस् या नेकपा एमाले या माओवादी केन्द्र या अरु राजनीतिक दल र नेता । करिब पात्रहरु फरक फरक भए पनि प्रवृत्ति एकै खालको देखिन्छ । कांग्रेस प्रमुख प्रतिपक्षमा रहँदा पनि एमसीसीबारे सकारात्मक थियो । यद्यपि, एमसीसी पास गर्ने विषयमा विपक्ष दललाई समेत साथ लिएर राष्ट्रिय सहमति कायम गर्ने सन्दर्भमा चुकिरहेको छ । विपक्षीलाई मात्र होइन, आफ्नै सरकारमा सम्बद्ध रहेका दलहरु बिच पनि एक मत कायम गर्न नसकेर आफ्नो असक्षमता प्रदर्शन गरिरहेको छ । गठबन्धन सरकार नबन्दा सम्म आफै एमसीसी पास गर्नुपर्ने पहल लिइरहेको अहिलेको प्रमुख प्रतिपक्ष एमाले यति गम्भीर सवालमा पर्ख र हेरको अवस्थामा छ । एमसीसीको विपक्षमा उभिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम्ले एमसीसीका बारेमा पत्र लेखेको र सार्वजनिक भए पछि विवादित बनिरहेका छन् ।

यो सबै राजनीतिक घटना परिघटना र परिदृश्यले नेपालको राजनीतिक दल र नेताहरुमा राष्ट्र र राष्ट्रियताका लागि आफ्नो एउटा दृढ अडान छैन भन्ने प्रष्ट देखिन्छ । यसकै प्रतिफल हो आजको दिन सम्म एमसीसी नेपालका लागि ठीक या बेठीक तथ्य र तर्क सहित प्रष्ट हुन सकेको छैन । झन् भन्दा झन् गिजोलिएको छ । र एमसीसीका पक्ष र विपक्षमा को क्रान्तिकारी र को अवसारवादी बन्ने होड चलेको छ । राजनीतिक दल, नेता र जनता बिभाजित भएका छन् । जसले अबका दिनमा एमसीसी थप पेचिलो विषय बन्ने प्रष्ट भएको छ । यसमा नेपालका राजनीतिक दलका बिचमा मात्र होइन, अमेरिकाले पनि एमसीसी नेपालले स्वीकार्ने या अस्वीकार गर्ने विषय चीन सँग जोडेर अझ पेचिलो बनाउने संकेत र सन्देश दिइसकेको छ । कात्यसैले, अब नेपालका राजनीतिक दलहरु जनतालाई गुमराहमा राखेर होइन, प्रष्टताका साथ यसका लाभ र हानीबारे बताएर तत्काल निकास खोज्ने दिशा तर्फ अग्रसर हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *