सम्पादकीय
पुरानो व्यवस्था राजनीतिक दलहरु बिचको फोहोरी खेलले बदनाम भयो । खराब पात्र र प्रवृत्तिका कारण बदनाम व्यवस्था अन्ततः जनताको त्याग, समर्पण र बलिदानबाट फेरियो । सयौं वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्था फेरिएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । यही व्यवस्था अनुरुप २०४७ सालको संविधान फेरेर नयाँ संविधान जारी गरियो । नयाँ संविधान अनुसार मुलुकमा तीन तहको सरकार बन्यो । पहिले केन्द्र सरकार मात्र रहेकोमा संघीय शासन व्यवस्थाको नयाँ अभ्यास र अनुभव सहित केन्द्र, प्रदेश र स्थानीय तह बनाइयो । यसबिचमा भौतिक पूर्वाधार विकासमा विगतका तुलनामा उल्लेख्य काम भएका पनि छन् । तर, उन्नत भनिएको नयाँ संघीय शासन व्यवस्थामा पनि पुरानै खराब पात्र र प्रवृत्तिको पुनरावृत्तिले देश फेरि अस्थिरतामा फसेको छ । पहिलेको व्यवस्थामा राजनीतिमा जे जस्ता कुरुप खेलहरु हुन्थे, जे जस्ता राजनीतिक घटना परिघटना हुन्थ्यो, अहिले त्यही चिज दोहोरिरहेको छ । जुन नेपाली राजनीतिको दुर्भाग्य हो ।
व्यवस्था बदलिए पनि अवस्था त बदलिएन नै । पात्रहरु फेरिए पनि प्रवृत्ति फेरिएन । यसको उदाहरण नेपाली राजनीतिमा एक पछि अर्को देखिएको छ । चाहे त्यो राजनीतिक दलहरु भित्रको आन्तरिक विवादले बिभाजन होस् या दलहरु बिचको एक अर्कोलाई गिराउने अस्वश्थ खेल । त्यसकै सिकार बनिरहेको छ सिंगो नेपाल र नेपालीजन । पाँच वर्षका लागि गठित सरकार प्रदेशमा मुख्य मन्त्री, मन्त्री कैयन पटक फेरिसकेको छ । केन्द्र सरकारमा पनि अवस्था उस्तै छ । यसबिचमा नेकपा, एमाले, माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा बिभाजित भएका छन् । संसद भित्र र बाहिर हुने फोहोरी खेल र जात्राको दृश्य उस्तै कुरुप छ । पछिल्लो एमसीसीका सन्दर्भमा राजनीतिक दल र नेताहरुको फेरिरहने बोलि र व्यवहार बिचको दुरीले नेपाल र नेपाली प्रति उनीहरुले गरिरहेको खेलवाड अझ प्रष्ट हुन्छ ।
पाँच वर्ष अघि निर्वाचन हुँदाको बखतका राजनीतिक दलको चुनावी घोषणापत्र र तीनका नेताहरुको भाषण ताजै छ । जनता बिच गरेका बाचा र आश्वासन नागरिकले बिर्सिएका छैनन् । त्यो घोषणा, भाषण र आश्वासन आजको दिनमा उपलब्धिको कसीमा हेर्दा केही नभएको होइन तर, हुनै पर्ने धेरै काम भएका छ्रैनन् । हुनै नपर्ने काम र कदममा राजनीतिक दल र नेताहरुको समर्पण र लगाव देखियो । जसले गर्दा सिंगो मुलुक नै पुनः अस्थिरताको भूमरीमा फसेको छ भने विकासमा अनेकन अवरोध कायमै छ । कुनै एक दुई दल अहिलेको यथास्थितिका कारक र दोषि होइनन्, यसमा धेरथोर मात्रात्मक रुपमा फरक होला । कुनै न कुनै रुपमा सबै सामेल छन्, सबैमा यस्तो खराब प्रवृत्तिले बास गरेको छ । अब यस्तो पात्र र प्रवृत्ति बिरुद्ध सबै सचेत नागरिक नबोल्ने, एकताबद्ध नहुने र अभियान नचलाउने हो भने देश थप बर्बादीको दिशा तर्फ जाने निश्चित छ ।