सम्पादकीय
फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । शनिवार राजधानीको टुडिखेलमा सदा झै औपचारिक समारोह गरेर दिवस मनाइयो । गृह मन्त्रालयको निर्देशनमा देशका बिभिन्न जिल्लामा सरकारी तबरबाट केही रचनात्मक कार्यक्रम भए । तर, नेपालमा लामो समय बर्बर क्रुर पञ्चायती व्यवस्था अन्त्य भएको दिन र दिवसलाई पछिल्लो समय फिक्का रुपमा लिन थालिएको छ । सरकारले हरेक वर्षको फागुन ७ मा केबल औपचारिकता दिन कार्यक्रम त आयोजना गर्दछ, तर यसलाई जनस्तरमा या नागरिकलाई समेत दिवस, त्यसबेलाको व्यवस्था, बर्बर दमन, यसको अन्त्यका लागि गरिएको बलिदान, त्याग, समर्पणका विषयबारे अहिलेको नयाँ पुस्ता बेखबर छन् भन्दा अत्युक्ति नहोला ।
प्रजातन्त्र दिवस यस्तो बेला आयो कि जुन बेला फेरि व्यवस्था बदनाम हुने खतरामा छ । पुरै देश एमसीसीको पक्ष र विपक्षमा बिभाजित छ । स्वघोषित अग्रगमन र प्रतिगमनको आरोप प्रत्यारोपमा राजनीतिक दल र नेताहरु बिभाजित छन् । काम गरेर होइन, भाषण, जालझेल र अनेक षड्यन्त्र गरेर को क्रान्तिकारी हुने भन्ने प्रतिस्पर्धा छ । जसका कारण अहिलेको उन्नत व्यवस्था मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि उस्तै त रहेछ भन्ने भ्रम परिरहेको छ । २००७ बाट सुरु भएको परिवर्तनको श्रृखंला राजनीतिक रुपमा धेरै अगाडि बढेको छ । यद्यपि, उल्लेख्य रुपमा आएको राजनीतिक परिवर्तन पश्चात पनि जनअपेक्षा अनुसार परिवर्तन र विकास हुन सकिरहेको छैन । किनकि सत्तामा पुगेका राजनीतिक दल र नेताहरुले विगतदेखि वर्तमानसँग भएका संघर्ष, आन्दोलन, अभियान, त्याग, बलिदान, समर्पण सबै बिर्सिने परिपाटी छ । जहानियाँ हुकुमी शासन अन्त्य भएको दिन, राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको २००७ फागुन ७ का दिनलाई देशव्यापी रुपमा एक स्मरणीय दिनको रुपमा मनाउनु पर्नेमा केबल कर्मकाण्डमा सीमित गर्नु दुखद हो ।
देशमा प्रजातन्त्र दिवस मनाउन सुरु गरिनुमा राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने हो । यस अर्थमा जनताद्वारा जनताका लागि गरिने हितकारी शासन अभ्यास प्रजातन्त्र भनेर बुझ्न सकिन्छ । टुँडिखेलमा नेपाली सेनाको विशेष प्रदर्शन,राजनीतिक दलका नेताहरू, अनि व्यापक जन साधारणको उपस्थितिमा प्रजातन्त्र दिवस मनाउने प्रचलन थियो पछिल्ला वर्षय खुम्चँदै गएको छ । प्रजातन्त्र दिवस मनाउनुमा कुनै उत्साह देखिन्न, उसो त अहिले गणतन्त्र दिवस प्रति पनि उत्साह देखिन्न । फागुन ७ इतिहासका सकसपूर्ण घटना परिघटना स्मरण, त्यसका अनेकन दस्ताबेज पल्टाउँदै वर्तमान व्यवस्था सम्म आइपुग्दा नेपाल र नेपालीको अवस्था र नियतिको बारेमा समिक्षा बहस गर्ने दिन हो । प्रजातन्त्र ल्याउनदेखि त्यस यताका सबै विद्रोह, आन्दोलन र अभियानमा धेरै बलिदान, त्याग र समर्पणको मुल्य र महत्वलाई बोध गर्ने दिन हो । के देशका लागि प्राण आहुति गर्ने शहिददेखि आफ्नो अनेक अंग गुमाएका, घाइते भएका, परिवारका सदस्य गुमाएका र आम नेपालीको भावना अनुसार प्रजातन्त्र र लोकतन्त्रको भावना मर्म जनताद्वारा चुनिएका प्रतिनिधिहरूले नै किन जोगाउन सकेनन् ? यसको लेखाजोखा गर्ने अवसरको रुपमा मनाउनु पथ्र्यो । अहिले यसो नहुनु या नगरिनुमा सरकार र दलहरुकै कारण देशले उही पुरानो नियति भोगिरहनु परेको छ । यो सिंगो देशका लागि दुर्भाग्य हो ।