युक्रेन माथिको आक्रमण र नेपालीको उद्वार

सम्पादकीय
अहिले युक्रेन इतिहासकै कठिन मोडमा छ । रुसले युक्रेन माथि आक्रमण गरिरहेको छ । पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुई वटा क्षेत्रलाई रुसले राज्यका रूपमा मान्यता दिएसँगै त्यहाँको संकट थप गहिरिएको हो । ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिए यता दुई बिचको विवादले युद्धको रुप लिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही सुरु भएको घोषणा गरेलगत्तै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौज प्रवेश गरिसकेका छन् । र उसले युक्रेनको राजधानी किएभ सहित कयौं शहरमा विस्फोट गराइरहेको छ । अहिले सम्म रक्षात्मक प्रतिकारको प्रयास त जारी राखेको छ ।

युक्रेनमा मानिस मर्ने क्रम जारी छ । युक्रेनको सेनाले ५ वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ । तर, रुसले आफ्नो कुनै विमान वा हेलिकप्टर नखसालिएको र युक्रेनको हवाई प्रतिरक्षा प्रणालीसहित वायु सेनाका अखडा एवं पूर्वाधार ध्वस्त पारेको दाबी छ । दुई देश बिचको युद्धले ठूलो रुप लिने संकेत देखिएको छ । युक्रेनमा नेपालका नागरिक समेत बिभिन्न क्षेत्रमा कार्यरत छन् । युक्रेनमा संकट गहिरिदै जान थाले पछि त्यहाँ भएका नेपालीहरु पनि हतोत्साहित हुन थालेका छन् । चौतर्फी आक्रमण हुन थाले पछि भयभित अवस्था सिर्जना भएको छ । अब नेपाल सरकारले जति सक्दो छिटो नेपालीहरुको सुरक्षित रुपमा उद्वार गर्नुपर्ने देखिएको छ । परराष्ट्र मन्त्रालयले उक्त देशमा रहेका नेपाली नागरिकहरूको विवरण लिन थालिएको र घटनालाई नजिकबाट नियालिरहेको बताइरहेको छ । संकट बढ्दै जाने देखिएकाले नेपालको उद्वारमा ढिलाई गर्नु घातक हुन सक्छ ।

युक्रेन माथि रुसी कदमको अमेरिका र युरोपेली देशहरूसहित पश्चिमा शक्तिले आलोचना गरेका छन् । यस्तो अवस्थामा युक्रेनमा जुनसुकै बेला ठूलो युद्ध हुन सक्ने खतरा छ । हुन त युक्रेनमा नेपालीको संख्या धेरै नभएको आँकलन छ । जे जति छन्, नेपालले त्रसित अवस्थामा रहेका आफ्ना नागरिकहरूको सुरक्षा र उद्धारलाई पहिलो प्राथमिकता बनाएर पहल गर्नुपर्दछ । युक्रेन हेर्ने जर्मनीस्थित दूतावासले शीघ्र नेपालीको तथ्यांक संकलन गरेर यथोचित माध्यम मार्फत उद्वार गरिनु पर्दछ । नेपाल आफै अमेरिकी परियोजना एमसीसीले बिथोलिएको छ । देश अब कुन दिशा तर्फ जाने भन्ने जोखिम यथावत छ । शक्ति राष्ट्रहरु एमसीसीकै विषयलाई लिएर आमुन्ने सामुन्नेमा उभिन थालेका छन् । युक्रेनले अहिले जे जस्तो मनोदशा भोगिरहेको छ, नेपालले समयमै यस्तो संवेदशील विषयबाट पाठ सिक्ने र आफ्ना नागरिकको समयमै उद्वार गर्नेमा कुनै पनि कसर बाँकी नराखोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *