पल–समिक्षा प्रकरणको पाठ


सम्पादकीय
पछिल्लो केही दिन यता सामाजिक सञ्जाल हेरि नसक्नुको अवस्थामा छ । सार्वजनिक सञ्चार माध्यम मात्र होइन, मिडिया पनि यही विषयले रंगिएको छ । लोकप्रिय अभिनेता पल शाह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा गायिका समिक्षा अधिकारीका बुबाले आफ्नो छोरी माथि बलात्कार भएको जिकिर सहित उजुरी दिए पछि पुरै देश तरंगित छ । अमेरिकी परियोजना एमसीसीले तातेको देश यही प्रकरणले ओझेलमा समेत पारिदियो । उजुरी दर्ता भए सँगै अभिनेता शाह प्रहरीको फरार सूचीमा छन् । यसबिचमा पल र समिक्षा दुवैले बिभिन्न समयमा भए गरेका कुराकानीको अडियोहरु पनि सार्वजनिक भएको छ । यसले विषय झन् भन्दा झन् जटिल बनिरहेको छ । मुख्यतः नाबालिग माथिको बलात्कार मुद्धा भएकाले संवेदनशीलताका साथ हेरिएको छ । र अब यो विषयको निक्र्यौल सम्भवतः न्यायालयबाटै हुने देखिएको छ ।

अभिनेता शाह पछिल्लो समयका सर्वाधिक व्यस्त र लोकप्रिय नायक मोडेल हुन् । उनी यस्तो दुर्लभ कलाकारमा पर्छन्, जसले एक महिनामै २५,२६ वटा म्युजिक भिडियो कोरोना कालकै अवधिमा पनि खेलिरहेका थिए । उसो त उनी कुनै स्थापित या सम्पन्न कलाकारको छत्रछायाबाट उदाएका कलाकार पनि होइनन्, दाङको एउटा गाउँबाट निकै संघर्ष र मेहेनेत गर्दै आजको रहरलाग्दो प्रगति र उपलब्धिको अवस्थामा आएका नायक हुन् । अर्को तर्फ पीडित बनेर जाहेरी दिएकी गायिका समिक्षा पनि सानै उमेरमा उच्च कोटीको गायन क्षमता प्रदर्शन गरेर सांगीतिक क्षेत्रमा उदाएकी हुन् । उनीहरु बिच कार्यक्रम यात्राकै क्रममा आकर्षण (प्रेम) भएको देखिन्छ । त्यही क्रममा शारीरिक सम्बन्ध भयो । जसलाई बलात्कारको रुपमा अहिले प्रहरी दर्ता गरिएको उजुरी पत्रमा उल्लेख छ । यो प्रकरणले चरम उत्कर्षको रुप लिँदै गर्दा गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाई, कृष्ण जोशीको समूहले पललाई फसाउन अनेक हत्कण्डा अपनाएको आभास हुने संवाद सहितको अडियो सार्वजनिक भएको छ । जसले पलका विरुद्ध कुनै सुनियोजित योजना नै हो कि भन्ने ठूलो संशय पैदा गरेको छ ।

उजुरी र विवाद यस्तो बेलामा दर्ज गरियो कि जुन बेला अभिनेता पलद्धारा अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ प्रदर्शनमा छ । कोरोनाको ३ वर्षको अत्यास लाग्दो समय बिच आफ्ना फिल्म प्रदर्शनमा छ तर उनी यसको प्रचारमा हिँड्न त पाइरहेका छैनन् नै, उल्टै प्रहरीको फरार सूचीमा बस्नुपरेको छ । उता समिक्षा १८ वर्ष समेत नपुगेको अवस्थामा उनको अपरिपक्वता माथि पलले सेलिब्रेटीको आवरणमा बलात्कार गरेको संगीन आरोप छ । यो प्रकरणले बदलिँदो नेपाली समाजमा धेरैलाई झस्काएको छ । यसबाट कलिलै उमेरमा प्रेम, यौन सम्बन्ध राख्नेदेखि साथी संगी बिचको सम्बन्ध, परिवारको रेखदेख, पाइला पाइलामा आउन सक्ने खतरा र सचेतताको पाठ धेरैले सिकेको हुनुपर्छ । अहिले यिनै विषयले नागरिक पल र समिक्षाको पक्ष विपक्षमा बिभाजित छन् । अब यो जरुर छैन, प्रहरीमा उजुरी परिसकेकाले अब कानुन र न्यायालयको हातमा पुगिसकेको छ । सामाजिक सञ्जाल र मिडियामा कोही वकिल न्यायधीश बन्न जरुर छैन । न्यायालयले सत्य तथ्य छिट्टै निरुपण गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *