सम्पादकीय
नेपालमा अर्को एउटा बेथिति छ, साना ठुला हरेक घटनामा राजनीतिकरण हुन्छ । जसले राजनीतिमा अपराधिकरण र अपराधमा राजनीति गर्ने प्रवृत्ति आज पनि उस्तै छ । राजनीतिमा नयाँ पुस्ताको उति धेरै आकर्षण देखिदैन । तर, राजनीतिमा अधिक मान्छे यस्तै अपराधजन्य क्रियाकलाप गरेर संरक्षणका लागि जुन पार्टी शक्ति र सरकारमा छ, त्यसैमा प्रवेश गर्ने लहर छ । यस्ता मानिसहरुले हत्या, जर्बजस्ती करणी, बलात्कार जस्ता जघन्य अपराध गरे पनि राज्यका निकायले स्वतन्त्र रुपमा अनुसन्धान र कारबाही गर्न सक्दैन । तल्लो तहदेखि माथिल्लो निकाय सम्म आउने चौतर्फी दबाबले प्रहरीले पनि प्रभावकारी तबरले काम गर्न सक्दैन । जसका कारण पीडित अझ थप पीडित बनिरहनु पर्ने अवस्था बिद्यमान छ भने पीडकले सजायबाट शक्तिकै आडमा उन्मुक्ति पाइरहेका छन् ।
अहिले गायिका समिक्षा अधिकारीले चर्चित अभिनेता पल शाहलाई जर्बजस्ती बलात्कार गरेको आरोप सहित उजुरी गरे पछि अहिले कलाकारिता क्षेत्र मात्र तरंगित छैन, सिंगो देश पल समिक्षा प्रकरणमा पक्ष विपक्षमा बिभाजित छन् । उजुरी पर्नु अघि दुवै पक्षबाट आरोप प्रत्यारोप सहित अडियो सार्वजनिक भएको थियो । जसले यो विवादलाई थप अन्यौल र द्धिविधाग्रस्त बनाइदियो । अहिले त्यही अडियोमा अभिव्यक्त विषयकै आधारमा आम मानिसले धारणा बनाइरहेका छन् । तथ्य खासमा के हो त ? यो अझै पनि रहस्यकै गर्भमा छ । यति चाही प्रष्ट छ कि पल र समिक्षा केही प्रोजेक्टमा सँगै काम गरे, सँगै कार्यक्रममा गए । त्यही क्रममा एक वर्ष अघि बलात्कारको घटना भएको समिक्षा पक्षको दाबी छ । समिक्षाको परिवारद्धारा पल शाह विरुद्ध यस्तो समयमा उजुरी दर्ता गरियो कि जसको भोलीपल्ट देखि पल अभिनय गरेको चलचित्र म यस्तो गीत गाउँछु–२ लाग्दै थियो । यसै कारण फिल्मलाई धक्का लाग्ने सोच सहित उनी केही दिन फरार भए । केही दिनको अन्तरालमा पल आफै प्रहरीकहाँ आत्मसमर्पण गर्न पुगे । अब यो माने पनि नमाने पनि अब न्यायालयको कोर्टमा पुगिसक्यो । यसको निरुपण न्यायालयबाटै मात्रै टुंगो लाग्नेछ ।
दुर्भाग्य भन्नुपर्छ, नेपालमा न्याय पनि भिडले या भिड मार्फत सिर्जित दबाबबाट प्रभावित हुने गरेको चर्चा, गुनासो र आरोप छ । अहिले पलले आत्मसमर्पण गरेसँगै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युवरको भिड छ । प्रहरी परिसरमा समर्थनमा नाराबाजी भइरहेको छ । किन यस्तो भइरहेको छ ? यसमा दुई कुरा हुन सक्छ, एक पललाई योजनाबद्ध रुपमा फसाइएको छ । अर्को पल लोकप्रिय छन्, उनले जान अञ्जानमा गम्भीर अपराध गरेका छन् । उनलाई जेल जानबाट जोगाउन बाहिरबाट दबाब बढाउनु पर्ने निष्कर्षमा छन् । यस्तो सोच सतही मात्रै हो, यसले अर्थ राख्दैन । अब प्रहरीले गर्ने अनुसन्धान र न्यायालयले गर्ने फैसला नै मुख्य कुरा हो । यसमा बिद्यमान ऐन कानुन छन् । अब तथ्य र कानुनी आधारमै फैसला गर्न न्यायालयलाई स्वतन्त्र छोड्नुपर्छ ।