धौलागिरी जागरण यात्राका १६ वर्ष


प्रकाशकीय
जागरण समयको एक अपरिहार्य आवाज, समाज र देशको एक अनिवार्य अभियान थियो र छ । नेपाली समाजमा गतिशील समयसँगै अघि बढ्न पत्रकारिताको जरुर आवश्यकता थियो । पत्रकारिता मार्फत् जनतामा जागरण जागरण ल्याउने ध्येयले जन्मिएको हो धौलागिरी जागरण दैनिक । यसले साढे दशकको आफ्नो अनवरत यात्रामा एक सूचना वाहकको भूमिका मात्र निर्वाह गरेको छैन, समाजको सच्चा पहरेदारको रुपमा खराब पात्र र प्रवृत्तिका विरुद्ध निरन्तर रखबारी गर्ने काम गरिरहेको छ । धौलागिरी हिमालयको काख र आँगनमा रहेका ठाउँहरु हुन्, जहाँ सञ्चार माध्यमको सबलीकरणको अभावमा व्यक्ति विशेषले मिडिया सञ्चालन गर्ने र कुनै मिसन पुरा गरे पछि बन्द हुने बिडम्बनापूर्ण अवस्था बिद्यमान थियो । धौलागिरी जागरण दैनिक यस कारण पनि पृथक छ कि यसले धौलागिरीमै पहिलो पटक सञ्चार सहकारी मार्फत संस्थागत रुपमा सञ्चालन हुने अवसर पायो । २०६३ फागुन २० गते नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको धौलागिरी जागरण २०६५ जेठ १ गते यता निरन्तर दैनिक पत्रिकाका रुपमा प्रकाशित छ ।

यो प्रकाशन गर्दाका आदर्शका मुख्यतः दुई वटा सुरुवाति सञ्चार आयाम र अभ्यास थिए । एक त पत्रिका मार्फत भिन्न शैली र स्वादमा समाचार दिने । अर्को महत्वपूर्ण विषय कुनै व्यक्ति विशेषमा मात्र निहित नभई संस्थागत रुपमा निःसन्देह सूचना समाचार प्रवाह गर्ने । सुरुवातमा ‘आजको समाचार आजै’ भन्ने उद्घोष सहित प्रकाशित धौलागिरी जागरण डिजिटल पत्रकारिताको अभ्यास आरम्भ संगै बदलिएका पाठकका चाहना, भावना र आवश्यकता अनुसार दैनिक फरक स्वाद र शैलीमा आफ्नो भूमिकालाई बदल्दै आएको छ । सीमित स्रोत साधनका बाबजुद पनि यस पत्रिकाले धौलागिरी क्षेत्रमा सन्तुलित र सशक्त आवाज उठाएकै कारण पृथक पहिचान बनाएको छ । सुरुवातमा संस्थागत रुपमा प्रकाशन आरम्भ गर्दा नै यसको निरन्तरतामा प्रश्न र संशयपूर्ण अवस्थाको सामना गरेको विगतलाई आशा, विश्वास र भरोसामा बदलेर आजको गर्विलो क्षणमा आइपुगेका हौ । जागरण यात्रा १५ वर्ष पुरा गरेर १६ औं वर्षमा प्रवेश गर्दै गर्दा त्यो सुरुवाती र लामो समयको संशयलाई आदर्श सञ्चारको कर्मले गलत सावित मात्रै गरेको छैन, भोलीको भविष्य समेत भरोसा योग्य बनाउने सुनिश्चितता गरेको छ ।

समयको अनुक्रमसँगै धौलागिरी जागरण दैनिक आफ्नो समय सापेक्ष भूमिकाबाट कत्ति बिचलित भएन । आफ्ना पाठकलाई सही समयमा सही सूचना र नागरिकको हक अधिकारका लागि पत्रकारिता मार्फत अविछिन्न लागिरह्यो । यसक्रममा आदर्श सञ्चार सहकारीले धौलागिरी जागरण दैनिक मात्रै होइन, सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक, समन्वयी सञ्चार माध्यमका रुपमा धौलागिरी टेलिभिजन र डिजिटल सञ्चार माध्यमका रुपमा पछिल्लो समय लोकप्रियता हासिल गरिरहेको अनलाइनमा आदर्श सञ्चार डट कम सञ्चालित छ । आजको दिनसम्म आइपुग्न धौलागिरी जागरण दैनिकले कैयन अप्ठ्यारा जंघार पार गर्नु परेको छ । सत्य पस्कदा कैयन धाक, धम्की, रवाफहरुको सामना गर्नुपरेको छ । तर, हामी हाम्रा प्रिय पाठक र आम नागरिक प्रतिको सामाजिक उत्तरदायित्व बहन गर्ने भूमिकाबाट कहिल्यै पनि च्यूत भएनौ । समस्या, कठिनाइ, जटिलताहरुलाई अवसरमा अनुवाद गर्दै अघि बढिरह्यौ । अनेकन वाद विवाद, आरोप प्रत्यारोपका घटना र विषयमा पनि पत्रकारिताको सत्य, तथ्य, सन्तुलित भावनाको मर्म र मूल्य मान्यतालाई कत्ति मर्न दिएनौ । र त आज एक असल र सशक्त सञ्चारको सारथीको रुपमा स्थापित छ धौलागिरी जागरण दैनिक र आदर्श सञ्चार । यस अवस्थामा आइपुग्न प्रिय पाठक, आदर्श सञ्चार सहकारीका सञ्चालक, कर्मचारी, आवद्ध शेयर सदस्य, समाचार शाखामा कार्यरत पत्रकार सञ्चारकर्मी, विज्ञापनदाता, शुभेच्छुकको अभूतपूर्व साथ स्मरणीय छ । यसप्रति धौलागिरी जागरण दैनिक परिवार सबै पति कृतज्ञ छ । जागरणको गर्विलो विगतका जगमा भोलीका दिनमा पनि यो क्षेत्रको सवल र सक्षम सञ्चार गृहका रुपमा आदर्श सञ्चारलाई स्थापित गराउने र धौलागिरी जागरण दैनिक र अन्य मिडिया माध्यम माफर्त समाजमा रुपान्तरणमा योगदान गर्ने मूल कर्ममा हामी निरन्तर प्रतिवद्ध छौ र रही रहनेछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *