भारतमा वैकल्पिक शक्तिको वर्चस्व र सन्देश

सम्पादकीय
विश्वभर परम्परागत राजनीतिक शक्तिका विरुद्ध वैकल्पिक शक्तिको आवश्यकताबारे बहस मात्र होइन, सम्बन्धित देशका नागरिकले त्यसमा अभूतपूर्व अभिमत जाहेर गरेर परम्परागत शक्ति प्रतिको बितृष्णा र नयाँ वैकल्पिक शक्ति प्रतिको आशा प्रष्ट रुपमा व्यक्त गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण पछिल्लो केही वर्ष यता भारतमा देखिइरहेको छ । ताजा अवस्था हेर्दा भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी(आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पार्ने निश्चित देखिएको छ । यसले विश्व समुदायकै ध्यानाकर्षण गराएको छ ।

११७ सिट रहेको पञ्जाब विधानसभामा आम आदमी पार्टीले झन्डै दुई तिहाई मत प्राप्त गर्ने देखिन्छ । १ सय १७ सिट रहेको पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्ने भए पनि आम आदमीले करिब ९० सिटमा जित हात पार्ने निश्चित प्रायः छ । चामत्कारिक जित सँगै पञ्जाबका विभिन्न ठाउँमा ’बल्ले बल्ले’ शैलीमा आप समर्थकले खुसियाली मनाइरहेका छन् । यसले छिमेकी देश भारत त तरंगित छ नै । अहिले प्राप्त अभिमतले नेपाल पनि तरंगित छ । र पञ्चाबको चुनावसँगै नेपालका राजनीतिक दल र वैकल्पिक शक्तिको बारेमा समिक्षा र बहस भइरहेको छ । नेपालमा पनि ७० को दशक यता वैकल्पिक शक्तिको अभ्यास जारी छ । २०७४ सालको निर्वाचनमा नेपालमा पनि वैकल्पिक शक्ति प्रतिको आशा र भरोसा नागरिकले फरक सन्देश प्रवाह हुने गरी प्रकट गरेको पनि देखियो । यद्यपि, चाहे त्यो नयाँ शक्ति पार्टी होस् या विवेकशील पार्टी होस् या साझा पार्टी होस् । यी सबै बिकृत राजनीतिकै निरन्तरतामा दर्ज भए । जो जसले वैकल्पिक शक्तिको अभियान चलाए, उनीहरु आफ्नै आदर्श, लक्ष्य र बाटोमा केही वर्षकै अन्तरालमा बिचलित भए र पुरानै राजनीतिक दलहरु जस्तै विवाद र बिभाजनको शिकार भए ।

भारतमा आम आदमी पार्टी भ्रष्टाचार बिरुद्ध खरो रुपमा उत्रिएकै कारण आजको चामत्कारिक जित हासिल गरेको हो । उसले भ्रष्टाचारको केबल बिरोध गर्ने कुरामा मात्र आफूलाई सीमित राखेन, नागरिकले आफ्नो पार्टीलाई जनाएको साथ समर्थनकै बलमा सत्ता र शक्तिमा रहँदा पनि केही प्रमाणित गरेर देखायो । दिल्लीमा आम आदमी नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका क्षेत्रमा उल्लेख्य सुधारका काम गरेको छ । जसले भारतका जनताको अभूतपूर्व मत र मन जित्न सफल भएको पछिल्लो निर्वाचनबाट प्रष्ट भएको छ । अघिल्लो चुनावमा २० सिट जितेर प्रतिपक्षी दलको स्थान लिएको आम आदमी पाँच वर्षकै अन्तरालमा धैर्यताका साथ जनताको पक्षमा उभिएर ऐतिहासिक सफलता हासिल गरेको छ । दिल्लीमा ७ वर्ष सरकार चलाइसकेका केजरीवालको ‘दिल्ली मोडल’ को प्रचार र विकासको आशामा जे अभिमत जाहेर छ, यसले सिंगो भारतको विकास थप तिब्रतर गतिमा अघि बढ्ने भरोसा छ । अब यसबाट नेपालका परम्परागत र वैकल्पिक राजनीतिको अभियानमा लागेका राजनीतिक दलले गहिरो पाठ र सन्देश लिन सक्ने हो भने स्वयम् राजनीतिक दललाई मात्र सिंगो देशलाई लाभ मिल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *