सम्पादकीय
अहिले एउटा गीतले पुरै देश तरंंगित बनिरहेको छ । गायक÷सर्जक प्रकाश सपुतले तयार गरेको गीत ‘पिर’ अहिले कन्ट्रोभर्सीमा छ । गीतको विषय र अडियो सामान्य नै भए पनि भिडियो कथा जे जसरी तत्कालीन सशस्त्र युद्दको कथा बोकेर तयार गरिएको छ । त्यस माथि नेकपा माओवादी सम्बद्ध संघ संगठनले आपत्ति जनाइरहेका छन् । भिडियोमा तत्कालीन सशस्त्र युद्व लडेका केही पात्र व्यवस्था परिवर्तन भएसँगै अवस्था बदलिन नसकेको दुर्दशा प्रस्तुत गरिएको छ । यसको युद्ध लडेकी महिला जीवन दैनिकीका लागि कठिन भए पनि देह व्यापार सम्म गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको देखाइएको छ । यही विषयले देशका नागरिक पक्ष विपक्षमा बिभाजित छन् । यो भिडियो कथामा माओवादी पार्टीका योद्धाहरुको बेवास्ता गरिएको कथा देखाइए सारमा हेर्ने हो भने सबै पार्टीका इमान्दार नेता, कार्यकर्ताहरुको साझा कथा पनि भेट्न सकिन्छ ।
गीत यथार्थको धरातलबाट पनि बनाउन सकिन्छ र कल्पनाको मिश्रणबाट पनि । सपुतले जुन सिर्जना गरेका छन्, नेपालको सन्दर्भमा धेरै हिसाबले यथार्थको नजिक देखिन्छ । अडियो मात्र सुन्ने हो भने त युद्ध मात्र होइन, अरु विषय, सन्दर्भ र अवस्थासँग पनि मेल खान्छन् । गीतको भिडियोले भने तत्कालीन १० वर्षे सशस्त्र युद्धमा आफ्नो ज्यान दाउमा लगाएका योद्धाहरुको भूमिकाको स्मरण र योगदान सहित अहिलेको पछिल्लो अवस्थाको चित्रण गरिएको छ । व्यवस्था बदलिएर नेपालीहरुको अवस्था किन बदलिएन ? हिजो पुरानो व्यवस्था परिवर्तनका लागि लडेका योद्धाहरु आज कुन हालतमा छन् ? मुख्य नेता र टाठावाठाहरु मात्र किन बदलिए ? गीत र भिडियोको मूल आशय र प्रश्न यही छ । यही स्विकारोक्ति गर्न माओवादी नेता कार्यकर्तालाई कठिन बनिरहेको छ । उनीहरु यसको खिलाफमा जस्तोसुकै कदम चाल्न बाध्य हुने फर्मान जारी गरिरहेका छन् । हिजोको आलोचनात्मक चेतबाट सरकार, राजनीतिक दल, तिनका नेता कार्यकर्ता कति च्युत भइसकेका रहेछन्, अहिले प्रष्ट देखिरहेको छ । हुन त यो जिम्मेवारी माओवादीको मात्रै कदापि होइन, यो देशको हो, सबै सरकार र दलहरुको हो । तर, परिवर्तनको एजेण्डा सहित उदाएको माओवादीको मुख्य जिम्मेवारी हो ।
हिजो पशुपति शर्माको लुट गीत आउँदा तत्कालीन नेकपा (एमाले,माओवादी) नेतृत्वको सरकार थियो । सोही पार्टीको धम्कीले गीत अन्ततः युट्युवबाट हटाउन शर्मालाई बाध्य बनाइयो । त्यसबेला माओवादी पक्षधरले सिर्जनाको स्वतन्त्रताको बारेमा नारा अलापे । अहिले हिजो पशुपति शर्मालाई गीत हटाउन दबाब दिनेहरु सपुतलाई धम्की नदिन विज्ञप्तीबाजी गरिरहेका छन् । र हिजो शर्मा र सिर्जनाको पक्षधर माओवादी नेता कार्यकर्ता अहिले सपुत बिरुद्ध आक्रोशित मुद्रामा छन् । यसले नेपाली राजनीति र समाजको खराब प्रवृत्तिलाई उजागर गरेको छ । गीत राम्रो या नराम्रो हुन सक्छ, यसका बारेमा स्वस्थ रुपमा बहस, समिक्षा जरुर हुनुपर्छ । तर, कुनै बिम्बलाई लिएर गीत निषेध गर्ने नत्र जे पनि गर्ने धम्की धङधङिले गणतन्त्र ल्याएका र यस देशकै मानमर्दन गर्छ । उसो त गायक, सर्जकहरु पनि समाज र देशको विषय संवेदनशीलतालाई उठान र बैठान गर्ने सन्दर्भमा उत्तिकै सचेत र जिम्मेवार हुनुपर्दछ । अब अहिलेको यस गीतका विषयमा धेरै विवाद गर्न जरुरी छैन । माओवादी अध्यक्ष प्रचण्डले समेत यही आशयको अभिव्यक्ति दिइसकेका छन् । गीतका साना तिना दुर्व पक्षलाई समग्र सन्देश र सिकाईलाई ओझेलमा नपारियोस् । व्यवस्था बदलिए पछि योद्धाहरु समस्यामै छन्, उनीहरु जस्तै हजारौ नागरिक कठिन दैनिकीमा छन्, यो पाटोमा व्यवस्था बदिलए सँगै अवस्था बदल्न नेतृत्वले ध्यान पु¥यायोस् ।