बलेवा विमानस्थलः अबको सोच र सम्भावना

सम्पादकीय
बलेवा विमानस्थल धौलागिरी क्षेत्रको एक सम्भावना बोकेको विमानस्थल । जो २८ वर्षदेखि बन्द थियो । बागलुङ नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गते पुनः सञ्चालन आयो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरे । तर, यात्रु अभावको कारण देखाउदै उडान रोकियो । यस विमानस्थलको धावन मार्ग कच्ची थियो । उडान रोकिए पनि स्थानीयको अथक प्रयासमा विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छ । अब विमान अवतरणमा पहिलेको जस्तो जोखिम हुने छैन । हिउँदमा धुलाम्य र बर्खायााममा हिलाम्य हुने समस्याबाट बलेवा विमानस्थल मुक्त भएको छ । र यसले फेरि एक पटक बलेवा विमानस्थल सञ्चालन हुने आशा पैदा भएको छ ।

२८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङको बलेवा विमानस्थलमा स्थानीय तहमा जनप्रतिनिधिको आगमनसँगै बागलुङ नगरपालिकाको विशेष अग्रसरतामा उडान सूचारु भयो । बिडम्बना, उडानको नियमितताका लागि आवश्यक सबै तयारी, व्यवस्थापन, समन्वय र सम्भावनाका बारेमा यथेष्ट संयोजन गर्न नसक्दा एक वर्षकै सेरोफेरोमा बन्द हुने अवस्था भयो । यही बिडम्बनायुक्त खबरका बाबजुद पनि नागरिक उडड्यन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरिए पछि पुनः विमानस्थल सञ्चालनको बहस आरम्भ एको छ । विमानस्थलको अबको समस्या भनेको यात्रु सुनिश्चितता र स्थानीयको पहलकदमी हो । स्थानीय र प्रदेश सरकारले चासो देखाएमा तत्कालै विमानस्थलमा जहाज चलाउन सकिने सम्भावना छ । यसका लागि नागरिक उडड्यन प्राधिकरण, एयर लाइन्ससँग आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक देखिन्छ । यसका साथै धौलागिरी क्षेत्रका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई विमानस्थलसँग सिधा र सजिलै कसरी कनेक्ट गर्न गराउन सकिन्छ ? यसतर्फ विशेष पहल र अग्रसरता आवश्यक छ ।

पहिले नागरिक उड्ययन प्राधिकरणले विमान सञ्चालनका लागि अनुमति दिँदा धावनमार्ग मुख्य कारण बनाउथ्यो । अब त्यो समस्या रहेन । यात्रु अभाव लगायतका जे कारणले उडान बन्द गरियो, अब त्यसको गहिरो पहिचान, समिक्षा गरेर दीर्घकालीन रुपमा विमानस्थल सञ्चालन गर्ने तर्फ सोच्नुपर्छ । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजार र मालढुंगाबाट १२ किमी सडक अझै कच्ची छ । यो खण्डको कालोपत्रेका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेको छ । यो काम सक्ने र नागरिक उड्ययन प्राधिकरणले निर्माण, जनशक्ति तथा प्राविधिक व्यवस्थापन गर्ने, स्थानीय पालिका र गण्डकी प्रदेश सरकारले सहजीकरण गरे विमान सञ्चालनका लागि धेरै जटिल हुने छैन । यसअघि विमानस्थलबाट काठमाडौँमात्रै उडान गरिएको भए पनि अब भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत जहाज चलाउन सकिने सम्भावना छ । अब विमानस्थल सञ्चालन गर्दा हतारमा होइन, फेरि बन्द हुने अवस्था नआउने गरी योजनाबद्ध हिसाबले सञ्चालनका लागि सरकार र सरोकारवाला लाग्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *