सांगीतिक तरंग र निषेधको खराब नजिर

सम्पादकीय
पछिल्लो एक साता कुनै राजनीतिक घटना या काण्डले होइन, एउटा गीतले सिंगो देश तरंगित भयो । गायक, सर्जक प्रकाश सपुतको यसै साता सार्वजनिक जनयोद्धाहरुको कथामा केन्द्रित पिर नामक गीतको म्युजिक भिडियोले समग्र देशको ध्यान तान्यो । सामान्य नागरिकदेखि नेपालका शीर्षस्थ नेताहरुको समेत ध्यानाकर्षण ग¥यो । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध, त्यसमा आफ्नो प्राणको कुनै प्रवाह नगरी सामेल भएका योद्धाहरुको मुलुकको व्यवस्था परिवर्तन पछि देखिएको दयनीय अवस्थामा गीत र भिडियो केन्द्रित थियो । भिडियो सार्वजनिक भएको केही समयमै माओवादी नेता, कार्यकर्ताहरु आक्रोशित मुद्रामा देखिए । पहिलो त स्थानीय तह निर्वाचनको सम्मुखमा गीत सार्वजनिक गरिनु, दोस्रो, गीतको म्युजिक भिडियोमा राज्य र माओवादी स्वयम्ले पूर्णतः बेवास्ता गरे पछि जीविका चलाउन समेत समस्या भए पछि देह व्यापार समेत गर्न बाध्य भएको दृश्यलाई लिएर उनीहरुले सांकेतिक बिरोध मात्र होइन, गीतको म्युजिक भिडियो युट्युवबाट हटाउन माग गरे ।

पिर गीत र म्युजिक भिडियो सार्वजनिक भए सँगै यसका पक्ष र बिपक्षमा देश बिभाजित भयो । माओवादी नेता कार्यकर्ता गीतको बिरुद्धमा सामाजिक सञ्जाल मार्फत उत्रिए भने माओवादीका जनसंगठनले सार्वजनिक रुपमा बिज्ञप्ती प्रकाशित गरेर नै गीत हटाउन चुनौति दिए । यद्यपि, तत्कालीन सशस्त्र युद्ध (जनयुद्ध) का नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डले यसमा उत्तेजित हुन नपर्ने वत्तव्य दिए । अर्को नेता डा.बाबुराम भट्टराईले पिर गीत र म्युजिक भिडियोले यथार्थ बोलेको स्वीकार गरेर ट्वीट गरे । मिडियादेखि ठूलो जनमानसले गायक सर्जक सपुतको पक्षमा समर्थन र आफ्नो दलिल पेश गरिरहे । यसकै फलस्वरुप युट्युवको टे«ण्डिङको नम्बर १ मा निरन्तर थियो नै । सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाइक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड प्लस निरन्तर हेरिएको भिडियो माओवादी नेता, कार्यकर्ता र केही अग्रजहरुको सुझाव समेतका आधारमा केही दृष्य माथिको आलोचनाका कारण सपुतले हटाएका छन् । यसअघि चर्चित गायक पशुपति शर्माले देशमा व्याप्त बेथिति प्रति लक्षित गर्दै निकालेको लुट्न सके लुट…शीर्षकको गीत तत्कालीन नेकपा, केपी ओली नेतृत्वको सरकार रहेका बेला सोही दल सम्बद्ध नेता, कार्यकर्ताको दबाबमा युट्युवबाट हटाइएको थियो । गायक सपुतको गीत दोस्रो सिकार बनेको छ ।

सिर्जना स्वतन्त्र हुनुपर्छ । नेपालको संविधानमै वाक अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित छ । यही व्यवस्थाको उपभोग गर्दै अहिले हरेक सार्वजनिक सरोकारमा हरेक नागरिकले प्रश्न उठाउन सक्छ । त्यसमा जिम्मेवार हिसाबले जवाफदेही हुन जरुरी छ । अहिले गायक सपुतले पूर्व लडाकुले व्यवस्था परिवर्तन पछि भोगेका समस्या, व्यवस्था बदलिए पनि नागरिकको नबदलिएका अवस्था लगायतका विषय चित्रण गर्न खोजेका थिए, त्यसमा उनी सफल देखिए । यद्यपि, सिर्जनाको यौन दृश्य विवादित भयो, जुन उनले अन्ततः सच्याए पनि । तर, यसले राम्रो नजिर बसेको छैन । बरु केही प्रश्न र संशय भने स्वभाविक रुपमा उठाइरहेको छ । अब सत्ता र शक्तिका खराब पात्र र प्रवृत्ति बिरुद्ध आवाज उठाउँदा सम्बन्धित व्यक्ति, समूह, दलको पहिले अनुमति लिनुपर्छ ? या उठाइ हाले यस्तै नियति बेहोर्नु पर्छ भन्ने भयले सर्जक स्वंयम् सेल्फसेन्सरसीपको अवस्थामा पुग्छ । यसले सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि कला सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यसमा गम्भीर बहस हुन जरुरी छ । जुनसुकै विषयको सिर्जना या अभिव्यक्ति स्वतन्त्रतामा निषेध होइन, आलोचनात्मक चेतको विकास गर्न अपरिहार्य छ । तब मात्र हरेक कमजोरीहरुमा सुधार सहित समाज र देशको विकास सम्भव हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *