आँखा देखाउने अभूतपूर्व अभियान

सम्पादकीय
मानिसको सबै भन्दा महत्वपूर्ण अंग कुन हो ? यसका बारेमा मानिसहरुले आफ्नो प्राथमिकतामा अंगहरुका नाम भन्लान् । संवेदनशीलताका हिसाबले अंगहरुको आआफ्नै आवश्यकता र महत्व पनि छन् । तर, आँखा त्यस्तो अंग हो, जुन बिना सिंगो संसार चियाउने अवसरबाट बञ्चित हुनुपर्छ । नेपालमा पनि अनेकन समस्याबाट गुज्रिएर आँखा नदेख्ने (मोतिया विन्दु)का हजारौ बिरामी छन् । जसले समयमै उपचार नपाउँदा अन्धकारमय जीवन व्यतित गर्नुपरेको छ । राज्यका तर्फबाट यस्तो समस्याको गहिरोसँग न त पहिचान गर्ने प्रयास भएको छ, न त पहिचान भएकाहरुको उपचार सम्बोधन गर्ने कोशिस नै । तर, केही चिकित्सकको पहलमा नेपालमै अभूतपूर्व उपचार सेवाबाट हजारौ नागरिक लाभान्वित भइरहेका छन् ।

सिन्धुपाल्चोकको दोरम्बामा ३ सय ३३ जनाले एकै साथ आँखा देखेको खबर शनिवार सार्वजनिक भयो । जसले चौतर्फी नकरात्मकता, आरोप प्रत्यारोप, निराशाका बिच केही उत्साहप्रद खुसी दिलायो । विपन्न एवं स्वास्थ्य पहुँचमा नपरेका जनसाधारणलाई निःशुल्क आँखा उपचारमा सघाउन स्थापित द तेज कोहली एन्ड रुइत फाउन्डेसनका तर्फबाट चिकित्सक डा. रुइत र कोहली एन्ड रुइत फाउन्डेसनका सहसंस्थापक तेज कोहलीको टोली रामेछापको दोरम्बा पुगेको थियो । जहाँ डा.सन्दुक र उनका छोरा डा. सागरसहितको टिमले मोतिबिन्दु शल्यचिकित्सा गरेको थियो । तीन दिन सम्म चलेको शिविरमा बुढेसकाल लागेसँगै आँखाको ज्योति गुमाएका ३ सय ३३ जनाले फेरि आँखाको ज्योति पाए । उनीहरुले बिभिन्न स्वास्थ्य जटिलताले बन्द भएको आँखाबाट पुनः संसार देख्दा अलौकिक खुशी जनाए । यो दृश्य जुनकुनै मानिसहरुका लागि एक दुर्लभ खुशीको दृश्य हुनुपर्छ ।

नेपालमा व्यवस्था परिवर्तन पछि स्वास्थ्य, शिक्षा अधिकारलाई मौलिक अधिकारको रुपमा राखिएको छ । तर, व्यावहारिक रुपमा कार्यान्वयनमा समस्या छ । शिक्षा र स्वास्थ्य नेपालमा यति धेरै खर्चिलो बनिरहेको छ कि सामान्य सर्वसाधारण नागरिकले न सहज रुपमा गुणस्तरिय स्वास्थ्य सेवा र उपचार पाउँछन्, न त शिक्षा नै । यस्तो अवस्थामा डा.सन्दुक सहितको टोलीले लामो समयदेखि दुरदराजका गाउँ ठाउँहरुमा पुगेर आँखाको ज्योति गुमाएका नागरिकको पुनः ज्योति दिलाउने प्रयास अनुकरणीय छ । उनको टोलीले नेपालमा मात्र होइन, विदेशमा पनि यस्तो परोपकारी अभियान चलाइरहेको छ । अबको एक वर्षमा नेपालमै मोतिबिन्दुका २५ हजार शल्यक्रिया गराउने योजना छ भने आँखा उपचारको दोरम्बा मोडललाई कम्बोडिया, घाना, इन्डोनेसिया, तान्जानिया, उत्तर कोरिया, दक्षिणी सुडानलगायत १० मुलुकमा विस्तार गर्ने तयारी छ । जहाँबाट अबको ४ वर्षमा झन्डै ५ लाख मोतिबिन्दुका बिरामीले निःशुल्क उपचार पाउनेछन् । नेपालबाट यो विश्वव्यापी सन्देश र प्रेरणादायक कार्य हो । जसका लागि डा.सन्दुक, कोहली, फाउण्डेशन सदैव सम्मान र धन्यवादको पात्र छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *