विश्वविद्यालय, राजनीति र दुरावस्था

सम्पादकीय
देश बनाउने मूल नीति राजनीति हो । तर, राजनीति आफै अतिवाद तर्फ उन्मुख छ । राजनीतिमा अराजनीति मिश्रित छ । हर विषय, क्षेत्रमा राजनीतिकरण गरे पछि तत् तत् विषय क्षेत्र विवादले जकडिएका छन् भने कसैले चाहेर पनि समयको गतिमा हिँडाउन कठिन अवस्था सिर्जित छ । यसको एक उदाहरण त्रिभुवन विश्वविद्यालय हो । जहाँबाट देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको आशा र भरोसा छ । यस्तो विश्वविद्यालय आफै राजनीतिक दलहरुको जागिर र विवादको केन्द्र बनेको छ । अहिले पनि विश्वविद्यालयका कैयन ढोकाहरुमा राजनीतिक दल सम्बद्ध संघ संगठनहरुको ताल्चा झुण्डिएको छ । आवरणमा कुनै शैक्षिक एजेण्डा देखाइए पनि सार या पर्दा भित्रको रहस्य खोज्दा कुनै न कुनै रुपमा राजनीतिक स्वार्थ देखिने गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत चार वटा अनुसन्धान केन्द्र छन् । कुनै बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका विषयमा अनुसन्धान गर्न नाम कमाएका यी अनुसन्धान केन्द्रहरू अहिले गुमनाम अवस्थामा छन् । त्रिवि अन्तर्गत आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र (सेडा), एशियाली अनुसन्धान केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) छन् । जसको उद्देश्य राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा अनुसन्धान गरेर देशको विकास योजना र नीति–निर्माणमा सघाउ पु¥याउनु हो । यी अनुसन्धान केन्द्र अलपत्र र जिर्ण अवस्थामा पुग्ने अवस्था सिर्जना हुनुका पछाडि के कारण छन् ? प्रष्ट छ कि विश्वविद्यालय र अनुसन्धान केन्द्र सञ्चालनमा पनि दलीयकरण गरियो । आजको दिनमा पनि अनुसन्धान केन्द्र सञ्चालनको लागि स्पष्ट नीतिको अभाव छ भने केन्द्रलाई कसरी अगाडि बढाउने भन्नेमा विश्वविद्यालय, सम्बद्ध निकाय, नेपाल सरकार नै अन्योलको अवस्थामा देखिन्छन् । जुन देशकै लागि दुर्भाग्यको विषय हो ।

विश्वविद्यालय या त्यस मातहतका अनुसन्धान केन्द्रहरूमा सरकारले नियुक्ति गर्दा पनि केबल दलको नेता, कार्यकर्ता र सदस्य मात्र हेरियो तर, उनीहरुको यसका लागि अपरिहार्य विषय विज्ञतामा बेवास्ता गरियो । सही स्थानमा सही नेतृत्व जान नसक्दाको नियति नै यही र यस्तै हुन्छ । सरकारदेखि विश्वविद्यालयको नेतृत्वमा पनि सबल र सक्षम नआएकै कारण विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने थलो मात्र होइन, राजनीतिक दलहरुको केबल भर्ती केन्द्र र विवादको अखडा बनिरहेको छ । यसबाट मुक्त गर्न सरकारले बोल्ड निर्णय गर्नुपर्ने जरुरता त छ नै, यसका साथमा राजनीतिलाई सही तबरबाट शिक्षाको सुधार गर्ने दिशामा सबै दल, नेता, कार्यकर्ता, प्राध्यापक, विद्यार्थी उन्नत चेत र संस्कार सहित अघि बढ्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *