क्रिकेटर करणको करामत

सम्पादकीय
नेपालमा पछिल्लो समय क्रिकेट खेल प्रतिको क्रेज दैनिक बढ्दो क्रममा छ । कुनै बेला मुर्खहरुले खेल्ने र महामुर्खले हेर्ने भनेर निम्न स्तरको विश्वास र टिप्पणी गर्ने नेपाली खेलप्रेमी अहिले आफै क्रिकेटका उम्दा प्रंशसक बन्न थालेका छन् । यसले नेपालमा क्रिकेट खेलले कति प्रगति हासिल गरेको रहेछ भनेर मापन गर्न सहज हुन्छ । हिजोको क्रिकेट खेल्ने मुर्ख र हेर्ने महामुर्ख भनेर सोच्ने परम्परागत मानक भत्किएको छ । र ग्रामीण तह सम्म क्रिकेट खेल प्रतिको आकर्षण बढ्दो छ । क्रिकेट खेल प्रतिको यति विघ्न आकर्षण बढ्नुको राज नेपाली क्रिकेटरहरुले सीमित स्रोत साधनका बाबजुद पनि अन्र्तराष्ट्रिय स्तरका प्रतिस्पर्धामा समेत गरेको अब्बल प्रदर्शन हो । जसले विश्वकप क्रिकेटमा पनि सानो नेपाल देशको नाम र पहिचान दिलाउन सफल भएको छ । यही कारण आज नेपालमा क्रिकेट खेल साना बालबालिकादेखि बुढ्यौली लागेकाहरुमा समेत उस्तै क्रेज देखिने गरेको छ ।

क्रिकेट क्रेज बढ्दै जानुमा नेपाली क्रिकेटरहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा चामत्कारिक रुपमा गरेको अभूतपूर्व खेल प्रदर्शन हो । चाहे त्यो पूर्व क्याप्टेन पारस खड्का होउन् या ज्ञानेन्द्र मल्ल या सन्दिप लामिछाने या करण केसी होउन् वा अरु कुनै नेपाली क्रिकेट खेलाडी । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नयाँ नयाँ इतिहास र रेकर्ड कायम गर्दै अघि बढिरहेको छ । अहिले नेपालमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि नेपाली बलर करण केसीले चामत्कारिक खेल पस्केका छन् । उनले त्रिवि कितिर्पूर मैदानमा भएको खेलमा पहिलो ह्याट्रिक विकेट लिएका छन् । यसरी करण टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । एकै खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए । करणको ५ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ बल अगावै १६६ रनमा अलआउट गर्दै ३७ रनको जित हात पारेको छ । नेपाल लगातार तीन खेल जित्दै फाइनल समेत पुगेको छ ।

करणले अहिले बनाएको ह्याट्रिक विकेटको इतिहास त दुर्लभ छ नै, यसअघिका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा पनि आफ्नो प्रदर्शन यति अब्बल बनाएका छन् कि जसले सिंगो देशले जित खोजिरहेका बेला जित दिलाउन सफ भएका पनि छन् । उनले तीब्र दबाब र खराब अवस्थामा पनि देशका लागि उत्कृष्ट खेल पस्किरहेका छन् । बागलुङको सिगानामा जन्मिएर छिमेकी भारतमा हुर्किएका करण क्रिकेटमा चासो र आकर्षण राख्ने तमाम भावी पुस्ताका लागि एक आइकन बनिरहेका छन् । करण एक खेलाडी हुन्, तर उनले बाँचिरहेको जीवन दैनिकीका बारेमा छिमेकी भारत सहित अरु देशमा राम्रो सेवा, सुविधा, अवसर भए पनि नेपालमा राज्य स्तरबाट राम्रा खेलाडीहरुको पहिचान, प्रोत्साहन र विशेष व्यवस्था हुन सकेको छैन । खेलमा केबल खेलाडीको भविष्य मात्र होइन, सिंगो देशको भविष्य र पहिचान समेत छ भन्नेमा दुई मत छैन । अतः तीन तहको सरकारले क्रिकेट लगायतका खेलको विकास, विस्तारका लागि खेल र खेलाडीलाई अघि बढाउने पृथक योजना कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिन जरुरी छ । उत्कृष्ट खेल सहित नयाँ रेकर्ड राख्न सफल करणलाई बधाई । आगामी दिन अझ उत्कृष्ट र स्मरणीय बनोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *