पेट्रोलको पीडा


सम्पादकीय
पेट्रोलियम पदार्थ आजको आधुनिक समाजमा पनि उत्तिकै प्रयोगमा छ । घरायसी दैनिकीमा आंशिक मात्रामा विद्युतिय सामग्रीको प्रयोग गर्न थालिएको छ । पहिले पहिले डिजेल, पेट्रोलबाट बालिने बत्ती, लालटिन, मइन्टोलहरु अहिले करिब करिब हराउँदो अवस्थामा छन् । दुर गाउँहरुमा पनि बिद्युतिय पहुँच पुगिसकेको छ । तर, शहरदेखि गाउँ सम्म पेट्रोलियम पदार्थको अधिक प्रयोगका सामग्री सर्वत्र छन् । जसका कारणले आजको नेपाली समाजमा पनि पेट्रोलियम पदार्थको उच्च माग छ । पछिल्लो केही महिना यता पेट्रोलियम पदार्थको मुल्य इतिहासकै सबै भन्दा बढी पुगेको छ । यसबाट आम उपभोक्ता चरम मारमा छन् । यद्यपि, राज्य स्तरबाट यसको तत्काल समायोजन र समाधान गर्न सक्ने सामथ्र्य र हैसियत छैन ।

र त दुई महिनाकै अन्तरालमा पटक पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुँदा समेत लाचार प्रकट गरिरहनु परेको छ सरकारले । अझ बिडम्बनाको विषय त यो छ कि छोटो समयमै धेरै पटक मुल्य वृद्धि हुँदा समेत नेपाल आयल निगम अरबौ घाटाको अवस्थामा छ । प्रति लिटर १५० बढी हुँदा पनि चुपचाप उपभोक्ता तिरेर पेट्रोलियम पदार्थको प्रयोग गरिरहेका छन् । अहिले संघीय राजधानी काठमाडौं सहित धेरै स्थानका पेट्रोल पम्पहरुमा लामो लाइन देखिएको छ । आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लागेका हुन् । नेपाल आयल निगमसँग कमिसन लगायतका माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाउने चेतावनी दिए पछि उपभोक्ता थप चिन्तित बनेका छन् । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेल लगायतको मूल्य ह्वात्तै बढेको छ ।

शुक्रबार मात्रै पेट्रोलको मूल्य घटे पनि साविककै मुल्यमा धेरै ठाउँमा बिक्री भइरहेको छ ।
पेट्रोलियम पदार्थको समस्या समाधान नेपालको सामथ्र्य र पहुँच भन्दा बाहिरको कुरा हो । माग र आपुर्तिको असन्तुलनमा मात्रै होइन, डलरको भाउ घटबढसँगै भाउमा उतारचढाव आए पछि त्यसले नेपाल आयल निगमको घाटा पनि चुलिएको छ । पछिल्लो मूल्य सूची अनुसार एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने निगमको दावी छ । नेपालमा तत्कालै पेट्रोलियम पदार्थको विकल्प दिन कठिन छ । यद्यपि, अब पेट्रोलियम पदार्थमा मात्रै सवारी साधन सञ्चालन निर्भर हुनुपर्ने अवस्थाबाट सरकारले दीर्घकालीन विकल्प सोच्न र खोज्न अनिवार्य बनेको छ । अब बिद्युतिय सवारी साधन सञ्चालनलाई विशेष प्राथमिकता दिन जरुरी छ । नत्र पेट्रोलियम पदार्थले नेपाल र नेपालीलाई सदैव पीडा र सकस दिइरहनेछ । जुन अहिले खेपिरहेका छन्, यसको चौगुणा भोलिका दिनमा बेहोर्नु पर्नेछ । अतः यसबाट समयमै शिक्षा लिएर सम्भावित विकल्प र समाधानमा राज्यले यथेष्ट ध्यान दिओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *