प्रधानमन्त्रीको भ्रमण, भारत र प्रोटोकल


सम्पादकीय
भारत भन्न साथ अधिक नेपालीको मानसिकतामा एक छिमेकी देशको नाम मात्र आउदैन, देश माथि पटक पटक धावा बोल्ने, सीमा कुल्चने र देशका राजनीतिक उतार चढाव ल्याउन भूमिका खेल्ने देशको मानचित्र दिमागमा आउँछ । त्यही देशको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले यसै साता भ्रमण गरेर स्वदेश फर्किएक । मुलुकमा घोषित स्थानीय तहको निर्वाचनको सम्मुखमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गरेको भ्रमणलाई रणनीतिक रुपमा महत्वपूर्ण अथ्र्याइएको छ । नेपालको राजनीतिमा भारतको प्रत्यक्ष परोक्ष हस्तक्षेपकारी भूमिका देखिदै आइएको छ । नेपालको सरकारको आयु निर्धारणमा समेत भारत हाबी भएको अनेकन घटनाक्रमबाट पुष्टि हुन्छ । खुल्ला सीमा नाका भएको छिमेकी भारत र अर्को शक्तिशाली छिमेकी देश चीनको भूमिका र दबाबमा नेपाल बेला बेला निकै अप्ठ्यारो जटिलतामा समेत फस्ने गरेको छ ।

देशको कार्यकारी प्रधानमन्त्रीले कुनै देशको भ्रमण गर्नु सुखद र सकारात्मक पक्ष नै हो । तर, भ्रमणका एजेण्डा, अपेक्षा र उपलब्धिका बारेमा आम नागरिकलाई जानकारी दिइनु पर्छ । यस विषयमा भने देउवाको भारत भम्रणमा अनेकन द्धिविधा र संशय यसबिचमा देखिए । भारत भ्रमण अघि सत्ता गठबन्धन दलका नेताहरु बिचको छलफलमा भारतीय भ्रमणको एजेण्डा सोध्दा देउवा मौनता साधेको खबर सार्वजनिक भयो । यही अनुक्रममा विदेश भ्रमण अघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलका नेतासँग भ्रमण र एजेण्डाका बारेमा गरिने छलफल पनि नगरेको मुख्य प्रतिपक्ष दल एमालेले गुनासो पोख्यो । यथेष्ट छलफल र समन्वय बिना भारत हानिएका देउवा पूर्व निर्धारित कार्यतालिका इतर नयाँदिल्ली पुगेकै दिन उनी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयमै पुगे । प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गरेको विषय सम्बन्ध सुधारका नाममा ‘प्रोटोकलविपरीत’ भएको भन्दै सर्वत्र आलोचना भयो । यसअघि औपचारिक भ्रमणमा भारत जाने नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन थिएन, बरु सत्तारूढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो । अहिलेसम्मको परम्परामा यस्तो थिएन । यो परराष्ट्रको प्रोटोकल विपरित हो ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा सीमा विवाद समाधान, रेल सञ्चालन लगायतका विषय उठाएका छन् । भारतसँग सिधा आँखा जुधाएर संवाद गर्न नेपालका नेताहरु सक्षम छैनन् र सामथ्र्य राख्दैनन् भन्ने दृष्टिकोण र बुझाईका बिच यो सकारात्मक छ । यद्यपि, सीमा विवादका सन्दर्भमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी मौन रहे । वार्ताका क्रममा देखिएको नेपालको नक्सामा चुच्चे नक्सा गायब पारिएको विषय पनि विवादित बन्यो । यो गम्भीर विषय हो । जसमाथि भारतले पटक पटक धावा बोलिरहेको छ । प्रधानमन्त्री देउवाको भ्रमणको अन्तर्य केका लागि थियो ? त्यो निश्चय पनि समयक्रसँगै पुष्टि होला । तर, देश र दुई देश बिचका समस्या, विवाद र सहकार्यलाई हल गर्ने सन्दर्भमा प्रधानमन्त्रीको भ्रमण सकारात्मक मान्न सकिन्छ । देशका छिमेकी दुई ठुला राष्ट्र छन्, जसलाई नेपालले चाहेर पनि फेर्न सक्दैन । यद्यपि, ठूला छिमेकी हुनुकै कारण अपमान र उपेक्षा बेहोर्ने भन्ने हुँदैन । देशको स्वाभिमान, अखण्डता र राष्ट्रियताको रक्षा गर्दै छिमेकी देशसँगको सम्बन्धलाई अघि बढाउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *