स्थानीय चुनाव, उम्मेदवार र आशा

सम्पादकीय
अहिले स्थानीय तहको चुनावी सरगर्मी बढ्दो छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरेको छ । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दल र तीनका शीर्ष नेताहरुलाई चुनावी कार्यक्रम र सभामा भाग लिन भ्याइ नभ्याइ छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केपी शर्मा ओली होउन् या नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल या जनता समाजवादी पार्टीका अध्यक्षद्धय उपेन्द्र यादव, डा.बाबुराम भट्टराई होउन् या मधेशी दलका नेताहरु राजेन्द्र महतो र अरु नेताहरु होउन् । सबैलाई आफ्नो पार्टीको जनमत बढाउन र पल्लाभारीका लागि तिब्र कसरत जारी छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु आगामी स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्ने तयारीमा छन् । उनीहरु बिच विगतको प्रतिगमन र अग्रगमनको कित्ताकाटकै सेन्टिमेन्टमा अगाडि बढ्ने रणनीतिमा छन् । प्रतिपक्ष दल नेकपा एमालेलाई एक्लाएर पराजित गर्दै विगतको संसद विघटन लगायतको हिसाब किताब गर्ने सोचमा एकमत छन् । उसो त एमाले गठबन्धनबाट छुटेका दल र गठबन्धन भित्र पनि सम्भव र असन्तुष्ट दलसँग चुनावी तालमेल गरेर चुनावी मैदानमा उत्रिने रणनीतिमा छ । अहिले सबैजसो दल स्थानीय तहको पालिका अध्यक्षदेखि वडा सदस्य सम्मको उम्मेदवार चयन गर्ने चरणमा छन् । कति दलका उम्मेदवार चयन भइसकेका छन् भने कति स्थानमा सिफारिस भएर माथिल्लो निकायले छनोट गर्न बाँकी नै छ । यसरी उम्मेदवार छनोट गर्दा पार्टीगत रुपमा निश्चित मापदण्ड तयार गरिएको पनि छ । तर, मापदण्डलाई छेउ लगाएर पैसावाल, सत्ता र शक्तिशाली, ठेकेदारहरुको बोलवाला जस्तो देखिने संकेत बढी छ ।

निर्वाचन लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष हो । यद्यपि, हामीकहाँ लोकतन्त्रको यही सुन्दर पक्ष मानिएको निर्वाचन आफैमा विकृत बनिरहेको छ । निर्वाचनमा इमान, निष्ठा र लगनका साथ राजनीतिमा समर्पित भएकाहरुलाई जबरजस्त किनारा लगाउने र खर्चिलो भड्किलो बनाएर निर्वाचनमा घुमाई फिराई पैसावाल र ठेकेदारहरु अघि आउने खतरा आजको दिनमा पनि बढ्दो देखिन्छ । २०७४ सालको निर्वाचनमा पनि यसका प्रशस्त परिदृश्य देखिएको थियो । अहिले यो क्रम अझ बढेर जाने जोखिम छ । निर्वाचनमा राम्रो एजेण्डा अर्थात् घोषणापत्र मात्र होइन, पार्टीहरुमा पनि हाम्रा होइन, राम्रोलाई टिकट दिने र नागरिकले जिताउने संस्कारको विकास अपरिहार्य बनिरहेको छ । नयाँ संघीय अभ्यासमा गएको पहिलो निर्वाचनबाट सक्षम उम्मेदवारले जितेका स्थानमा आएको परिवर्तन र विकासको उभार र कमजोर जनप्रतिनिधि आएका पालिका वडाको हालत हेर्नुपर्छ । यसबाट पाठ सिकेर अब हुने निर्वाचनमा असल, कर्मठ, योग्य र निष्ठावानले जित्ने जिताउने कार्यमा राजनीतिक दल र आम सचेत नागरिकले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *