नयाँ वर्षको शुभकामना

सम्पादकीय
आजदेखि नयाँ वर्ष २०७९ शुभारम्भ र वर्ष २०७८ को अवसान भएको छ । कुनै वर्ष बित्नु केबल समय मात्र होइन । समयसँगै समय सापेक्ष रुपमा गरिएका कर्म र उपलब्धिहरु त्यसका मापक हुन् । कुनै पनि व्यक्ति या संस्था या सरकारको उपलब्धि वर्षमा होइन, उसले छोटो या लामो अवधिमा गरेको कर्म र उपलब्धिहरुकै आधारमा मापन हुन्छ र गरिन्छ । गएको एक वर्षलाई पनि त्यसरी नै हेर्नुपर्छ । चाहे त्यो नितान्त निजी जिन्दगीको गएको एक वर्ष होस् या संघ संस्था, कम्पनी, व्यवसाय या सरकार । सबैले गत वर्षको समिक्षा गर्दा मुख्यतः यसलाई आधार बनाइनु पर्छ । जसले भोलिको प्रगति, उपलब्धिको थप आधार दिन सक्छ । उसो त कुनै उमेर या वर्ष बित्नु उति सुखद र खुसीको विषय होइन । जति नयाँ वर्षको आगमनमा उत्साह, उमंग हुन्छ । आज त्यही उत्साह, उमंगको नयाँ अध्याय सुरु भएको छ । यसलाई नयाँ उर्जा, उत्साह सहित उपलब्धिमा बदल्ने प्रेरणाका रुपमा ग्रहण गर्नुपर्छ ।

बितेको वर्ष नेपालीहरुका लागि उति सुखद रहेन । दुई वर्ष अघि विश्वव्यापी रुपमा सुरु भएको कोरोना भाइरसको संक्रमण र भयाबहले सर्वत्र आक्रान्त बनायो । वर्ष २०७८ को आरम्भसँगै कोरोना प्रभाव केही कम हुँदै गएको र क्रमशः आम मानिसको दैनिकी सामान्य बन्दै जान थालेको थियो । तर, दुर्भाग्य भन्नुपर्छ कोरोनाको नयाँ भेरियन्टले फेरि एकपटक मानिसहरु भयभित बन्ने अवस्था पैदा भयो । र सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन गर्ने परिस्थिति बन्यो । अहिले भने विस्तारै कोरोना भाइरस (कोभिड १९) को संक्रमण र प्रभाव कम हुँदै गएको छ । यद्यपि, अझै पनि कोरोना पूर्णतः नियन्त्रण भइसकेको अवस्था भने छैन । अर्को तर्फ राजनीतिक भेरियन्ट पनि उस्तै कडा रुपमा देखियो । नयाँ सत्ता बन्ने र पुरानो सत्ता ढल्ने ढलाउने खेलको नियति देशले पटक पटक झेल्नुप¥यो । पाँच वर्षका लागि बनेको दुई तिहाईको जनमत प्राप्त सरकार ढलिसके पछिको राजनीतिक अस्थिरतामा देश रुमल्लिरहेको छ ।

यही अनुक्रममा देश स्थानीय तहको चुनावमा होमिएको छ । भलै आगामी बैशाख ३० गते घोषित मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने आंशिक संशय बाँकी छ । तर, अहिले सिंगो देश चुनावमय बनिरहेको छ । नयाँ संघीय अभ्यासमा गए यताको पाँच वर्षको समिक्षा, मुल्यांकन गरेर नयाँ जनप्रतिनिधि रोज्ने ऐतिहासिक अवसर नयाँ वर्ष २०७९ को शुभारम्भमै नेपाल र नेपालीलाई प्राप्त भएको छ । विगतका वर्ष जे जति उत्साहप्रद र नेपालका लागि उपलब्धिमूलक हुने ठानिएको थियो, अपेक्षाकृत रुपमा त्यो भएन नै । पार्टी भित्रको आन्तरिक विवादकै कारण संसद विघटन, आन्दोलनहरुले देश पुरानै अवस्थाको झझल्को सहित गुज्रिरह्यो । अबको यस वर्षमा विगतमा नेपाल र नेपालीले भोग्नुपरेका खराब काम र कदमहरु भोग्न नपरोस् । देश र जनताको सेवा सरकार, राजनीतिक दलको सर्वोपरी विषय बनोस् । मुलुकको अर्थतन्त्र संकटमा पर्ने खतराका बिचमा सुरु भएको वर्ष २०७९ समयमै यथोचित कदमहरु चालेर लयमा हिँडोस्, र हर नागरिकको आर्थिक अवस्थामा पनि उत्तिकै चलायमान होेस् । छुद्र आरोप प्रत्यारोपको राजनीति त्यागेर स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको संस्कार बसोस् । नयाँ वर्ष २०७९ को शुभारम्भका अवसरमा हाम्रा प्रिय पाठक, बिज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक महानुभावहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *