विकृत राजनीतिः जित्नका लागि जे पनि गर्ने ?

सम्पादकीय
नेपाली राजनीति यति धेरै बिसंगत बनिरहेको छ कि कुनै एक सचेत नागरिकले यसका बारेमा सकारात्मक कुरा गरोस् । सर्वत्र राजनीतिबारे नकारात्मक चर्चा, परिचर्चा, गुनासो र आलोचना छ । राजनीतिमा आदर्श, इमान, निष्ठा, बिधि, मूल्यमान्यता, सिद्धान्त, विचार, नीति यी सबै केबल देखावटी विषय बन्न थालेका छन् । जुन नेता, अन्धभक्त कार्यकर्ताले मुखले जपिरहेका छन्, चोक, चौतारी, मञ्च, सभाहलहरुमा भाषण गरिरहेका छन् । तर, व्यवहारतः नेपालका सबैजसो राजनीतिक दल, तिनका नेता, कार्यकर्ताहरु अपवाद बाहेक जनताका नजरमा स्खलित भइसकेका छन् । उनीहरुसँग समाज र देश बदल्ने आशा र अपेक्षा अब त केबल झिनो रुपमा मात्र होला । नत्र उनीहरुले विगतदेखि वर्तमानसम्म जे गरे, गर्दै आएका छन्, त्यो प्रवृत्ति र कार्यशैलीका कारण राजनीति र नेता प्रतिको विश्वास गुम्दै गएको छ ।

देशमा व्यवस्था बदलिए पछि २०७४ सालमा पहिलो पटक संघात्मक व्यवस्था अनुसार तीन तहको निर्वाचन भयो । जसअनुसार स्थानीय तह निर्वाचन भएको पाँच वर्ष पुग्नै लागेको छ । ऐतिहासिक निर्वाचन मार्फत बिजयी भएका जनप्रतिनिधिहरुको कार्यकाल सकिदै गर्दा आखिर स्मरणीय काम के गरे त ? एकातर्फ यसको समिक्षा हुन थालेको छ भने अर्को तर्फ आसन्न आगामी बैशाख ३० गते हुने निर्वाचनमा जसरी भए पनि जित्ने होडबाजीमा राजनीतिक दल, तिनका नेता, कार्यकर्ताहरु अहिले लागिरहेका छन् । चाहे त्यो केन्द्र स्तरमा होस् या प्रदेश होस् या स्थानीय तह । सत्तारुढ दलहरु बिचको पाँच दलिय गठबन्धन एकैसाथ प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बिरुद्ध चुनावी मैदानमा उत्रिने तिव्र कसरतमा छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले केन्द्रीय स्तरमा गठबन्धन बनाए पनि जिल्ला र पालिका स्तरमा भने यस्तो गठबन्धनमा दरार पैदा भइरहेको छ । सत्तारुढ यी दलले आफूलाई संसद विघटन हुँदाको प्रतिगमन र अग्रगमनकै विषय लिएर कित्ताकाट गर्ने रणनीतिमा छ । उता प्रमुख प्रतिपक्ष एमाले पनि सम्भाव्य तालमेल हुन सक्ने दलहरु प्रति चुनावी एकता गर्ने कसरतमै छ ।

चाहे पार्टी एकता होस् या चुनावी एकता होस् या अरु यात्रा । यसमा न्युनतम सैद्धान्तिक, वैचारिक विषय स्वभाविक र अपरिहार्य बन्छ । यद्यपि, अहिलेको राजनीतिक दल, नेताहरुको एकता त्यो कुनै आदर्श, राजनीतिक दलहरुका आफ्ना आदर्श मान्यता, उद्धेश्य, लक्ष्य इतर छन् । अझ रोचक र गम्भीर सवाल त जो राजनीतिक दलले विगतमा एक अर्कोलाई प्रधान र वर्ग शत्रु ठानिरहेको थियो । आफ्ना कार्यकर्तालाई त्यसका बिरुद्ध लाग्न र लड्न प्रशिक्षण दिन्थ्यो । अहिले त्यहाँ कुनै नीति, सिद्धान्त, विचार, आदर्श, लक्ष्य उद्धेश्यमा मिलन बिन्दु होइन । देशले जित्ने भन्दा पनि कसैलाई देखाइ दिने र जे जसो गरेर भए पनि चुनाव जित्ने अतिवादी सोच सत्तारुढ र एमाले राप्रपा लगायतको गठबन्धनमा देखिन्छ । यहाँ समाज देश कसरी बनाउन सकिन्छ भन्ने होइन, साम दाम दण्डभेद प्रयोग गरेर अर्को पक्षलाई कसरी लडाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित छ । अतः अस्वभाविक, अमर्यादित, असभ्य र अनैतिक हर्कत गरेर भए पनि चुनाव जित्ने चिन्तनले सही राजनीतिक संस्कारलाई ग्राहयता दिँदैन । स्वच्छ निर्वाचन र स्वस्थ प्रतिस्पर्धा नै आजको अपरिहार्य आवश्यकता हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *