सम्पादकीय
हुन त भन्ने गरिन्छ, राजनीति, प्रेम र युद्धमा हर कुरा जायज हुन्छ । यसमध्ये राजनीतिमा त अझ अर्को वाणी पनि चर्चित छ, राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन । त्यसैले होला नेपालमा हरेकजसो पार्टीले आफ्नो सिद्धान्त, विचार र कार्यदिशा तय गर्ने क्रममा स्वयम् एक अर्को राजनीतिक दललाई प्रधान शत्रु अर्थात् वर्ग शत्रुको रुपमा व्याख्या र प्रशिक्षित गर्ने गर्दछ । यो अरु ११ मास आन्तरिक प्रशिक्षण, भाषणमा कडा र चर्को स्वरमा अलापे पनि एउटा सिजन यस्तो आउँछ समयक्रममा कि जुन बेला यी सब कुरा रद्धिको टोकरीमा मिल्काइन्छ । सिद्धान्त, विचार, प्रधान शत्रु सबै कुरा जबरजस्त बिर्सिइन्छ । यस्तो लाग्छ कि यो देशमा दुई पार्टी भए मात्र पनि काफी प्रतिस्पर्धा र विकास हुन्छ । फरक फरक आस्था, विचार र दर्शनका आधारमा दर्जनौको संख्यामा पार्टी भए पनि चुनावका बेला जनताले त्यही नीति, विचार, योजना, सिद्धान्त, कार्यशैलीका आधारमा मत व्यक्त गर्ने बेला अधिक कुरा नमिल्नेसँग पनि केबल जित्नकै लागि मिल्नुले अवश्य पनि राम्रो गर्दैन ।
आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि अहिले दुई वटा गठबन्धन मुख्यतः हुनेवाला देखिन्छ । एउटा त सत्तारुढ दलको बागडोर सम्हालिरहेको नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धन चुनावी मैदानमा देखिएका छन् । अहिलेको गठबन्धन दलको गतिविधि र राजनीतिक परिदृश्य हेर्दा कोही आफू र आफ्नो दलले जित्नै पर्ने जटिलतामा छन् भने केहीले आफु र आफ्नो दलले नजिते पनि अरुलाई हराउन सम्म पाए पनि त्यसलाई सफलताको रुपमा लिने कसरतमा देखिएका छन् । यो सत्य र स्वभाविक हो कि राजनीतिक दलहरु बिच चुनावी एकता, गठबन्धन हुन सक्छन् । तर, त्यसका लागि न्युनतम सिद्धान्त, विचार, दर्शन, कार्यदिशा लगायतका विषयको कतै न कतै तादाम्यता मिल्नुपर्दछ । केबल सत्ता स्वार्थको गठबन्धन या मिल्नुको नाममा जे जसो गरेर भए पनि मिल्ने कुराको विगतको अभ्यास र अनुभव समेत सुखद छैन ।
राजनीतिक विश्लेषक, स्वयम् राजनीतिक दल, तीनका नेताहरु गठबन्धन देश र राजनीतिका लागि हितकर नभएको जिकिर गरिरहेका छन् । गठबन्धन चाहे सत्ता पक्षले गरेको होस् या प्रतिपक्ष नेतृत्वमा भएको होस् ? चुनावी ध्रुवीकरणल धेरैको आवश्यकता, बाध्यता र स्वार्थको उपज भएको कहिकतै छिपेको छैन । एजेन्डा मिल्नेहरूबीच तालमेल स्वाभाविक हो । मिल्न सक्छन्, चुनावमा सँगै एक भएर जान सक्छन् । तर, विगतमा पनि इख र चुनाव जित्नकै लागि बनाइएका गठबन्धनले राजनीतिक प्रणालीमै नकारात्मक असर पारेको कुरालाई यति छिट्टै बिर्सिन मिल्दैन । स्थानीय चुनावलाई अब दल विहिन स्वतन्त्र बनाइनु पर्छ भन्ने आवाज र बहस उठिरहेका बेला अहिले केन्द्रदेखि तल्लो स्तरमा लाद्ने जे जस्तो अभ्यास गरिएको छ । यसले ढिलोचाँडो अस्थिरता निम्त्याइरहनेछ । यसले दीर्घकालीन रुपमा देशको राजनीतिक व्यवस्था र प्रणालीमा असर पुग्छ नै । यसतर्फ सरकार र सम्बन्धित राजनीतिक दल र समय सबैको ध्यान जाओस् ।