५ वर्ष यथेष्ट उपयोग गर्ने उम्मेदवार खोजौँ

सम्पादकीय
आगामी वैशाख ३० गते घोषित स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दो छ । चुनाव आउन २३ दिन मात्रै बाँकी रहँदा उम्मेदवारका आंकाक्षीहरु टिकटको रस्साकस्सीमा दौडधुपमा छन् भने बिभिन्न राजनीतिक दल, तीनका नेता, कार्यकर्ताहरु फेरि एकपटक जनताको घरदैलोमा भोट माग्न थालेका छन् । २०७४ सालमा भएको निर्वाचन पछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बनाउने मात्र होइन । सत्तारुढ दलहरु प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई किनारा लगाउने सामूहिक रणनीतिमा सक्रिय छन् भने एमाले पनि केही दलको गठजोडमा अब्बल रुपमै चुनावी मैदानमा उत्रिने होडमा देखिन्छ । जे होस् अहिले चुनावी चटारो छ । जसले राजनीतिक दल, नेता, कार्यकर्ताहरुलाई निकै व्यस्त बनाइरहेको छ ।

राजनीतिक दल, नेता, जनप्रतिनिधिहरुले पाँच वर्ष अघि जे जसरी आएका थिए, जेजे कुराहरु घोषणापत्र, भाषणमा भनेका थिए । अहिले पनि सुरुवाती संकेत हेर्दा त्यही त्यही अर्थात जनतालाई महत्वकांक्षी सपना र आश्वासन बाँड्ने काममा तल्लीन देखिन थालेका छन् । अहिले सम्म सार्वजनिक भएका केही राजनीतिक दलहरुको घोषणापत्र हेर्दा मात्रै पनि जनतालाई भुलभुलैयामा राखेर सत्ताको शिखरमा पुग्ने लालसा दल र नेताहरुमा देखिएको छ । विगतमा पनि हरेकजसो दलले सस्तो लोकप्रियता हासिल गर्ने खालका घोषणापत्र सार्वजनिक गरे । तर, व्यवहारतः हेर्दा अपेक्षित रुपमा प्रगति र उपलब्धि हासिल हुन सकेन । बरु जनताको अभिमतको खिलापमा सत्ताको आसनमा पुगेका नेकपा एमाले, माओवादी केन्द्र या अहिलेको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पनि जनअपेक्षा अनुसारको काम गरेनन् । फलतः नागरिकमा निराशा बढ्दो छ । यही अनुक्रममा निर्वाचन आएको छ । जुन अभियानमा नागरिकलाई हात जोड्दै नेता, कार्यकर्ता घर घरमा आउने क्रम सुरु भएको छ ।

निर्वाचन पाँच वर्षको आवधिक प्रक्रिया मात्र होइन, यससँग समाज र देशको परिवर्तनको आंकाक्षा, यसलाई दृढ इच्छा शक्ति, इमान र कोसिस मार्फत उपलब्धिमा अनुवाद गर्ने नेतृत्व आफै चुन्ने अवसर हो । यसबेलामा यथेष्ट विवेकसम्मत मत प्रदान गरेर राम्रो व्यक्ति छनोट गर्न सकिएन भने अबको पाँच वर्ष फगत बर्बादीमा जानेछ । त्यसैले, अहिले चुनावी अभियानका क्रममा भोट माग्न आउने हर उम्मेदवार, नेता, कार्यकर्तालाई विगतको भूमिका, अबको प्रष्ट योजनाका बारेमा प्रश्न गरौं । हिजो तपाईका बाउबाजेले कुन चिन्हमा भोट हाल्नुहुन्थ्यो, बुवाआमाले केमा हाले ? भन्ने आधारमा होइन, अहिले कुन दल, कुन व्यक्ति समाज र देशलाई गतिशील हिसाबमा अघि बढाउने उपर्युक्त पात्र हो हुनसक्छ ? यसतर्फ सबैले गम्भीरतापूर्वक सोच विचार गरेर निर्णय लिनु अपरिहार्य छ । यसमा राजनीतिक दलहरुले उम्मेदवारको टिकट दिदाँ पनि सोचुन्, नागरिकले मत दिदाँ पनि सही उम्मेदवार खोजुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *