सम्पादकीय
पाँच वर्षको नयाँ संघीय व्यवस्थाको पहिलोे कार्यकाल पश्चात फेरि चुनावी चटारो भित्रिसक्यो । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आवश्यक काम र तयार तिव्रतर गतिमा अघि बढाइरहेको छ । आइतवार मात्र स्थानीय तहको चुनावका लागि देशभर उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । यो क्रम सोमवार पनि जारी रहनेछ । तर, दुर्भाग्य भन्नुपर्छ नेपालका सबैजसो राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने बेला सम्म पनि पार्टी या गठबन्धनको साझा उम्मेदवार चयन गर्न सकिरहेका छैनन् । कतिपय स्थानमा दलहरु बिच नै केन्द्र स्तरबाट बनेको गठबन्धन अनुसार अघि बढ्ने कि एकल रुपमा चुनावी मैदानमा जाने भन्नेमा चरम अन्यौल र द्धिविधा व्याप्त देखिएको छ । कार्यकर्ता गठबन्धनको खिलाफमा हुँदा पनि नेताहरुले भोलिका दिनलाई समेत आफुलाई ‘सेफ जोन’ मा राखेर जबरजस्त गठबन्धन लादेका छन् ।
चुनावको टिकट बितरण उस्तै विकृत देखिएको छ । स्वच्छ छवि, सक्षम नेतृत्व, दुरगामी सोच भएका नेताहरुलाई भन्दा नेता र गुटको नजिककाहरुले नै स्थानीय निर्वाचनमा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा तहमा टिकट पाएका छन् । अहिले देशमा मुख्यतः सत्ता गठबन्धन जुन नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा बिच केन्द्रीय स्तरबाट चुनावी गठबन्धन बन्यो । यद्यपि, यो जिल्ला र पालिका स्तर सम्म पुग्दा धेरै ठाउँमा भत्किसकेको छ । कांग्रेसले गठबन्धन गर्दा माओवादी र एकीकृत समाजवादीलाई छोडेको स्थानमा स्थानीय नेता, कार्यकर्ताले तिव्र बिरोध र असन्तुष्टि जनाइरहेका छन् । अर्को तर्फ अघिल्लो निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमाले पनि सकसमा छ । गठबन्धनले कुनै पनि हालतमा एमालेलाई प्रतिगामी करार गर्दै हराउने योजना बनाइरहदा रक्षात्मक अवस्थामा पुगेको छ । यसमा पार्टीको उम्मेदवारको रुपमा टिकट दिएकाहरु पनि कतै यौन दुराचारी, कतै सिक्री चोर जस्ता काण्डमा मुछिएका पात्रका कारण थप दबाबमा देखिएको छ ।
स्थानीय तह चुनाव भड्किलो हुने निश्चित प्रायः छ । यसले उम्मेदवार र दलको खर्च पनि निर्वाचन आयोगले निर्धारण गरेको सीमा भन्दा कैयन बढी हुने निश्चित छ । यो टिकट प्रकरणमा समेत किनबेचको चर्चा र आरोप सार्वजनिक भइरहेका छन् । नेताहरुले टिकट दिँदा समेत निर्वाचनमा कसले कति खर्च गर्न सक्छ ? कसले नेताहरुको निकट रहेर कति चाकडी गर्छ ? यस्ता कुराहरुकै आधारमा इमान, निष्ठा, सक्षम भएकाहरु पाखा लाग्ने अवस्था बिद्यमान बन्दो छ । नेताहरु आफूले टिकट पाए राम्रो र नपाए पार्टी नै छोड्ने र अर्को पार्टी प्रवेश मात्रै होइन, उम्मेदवार नै बन्ने परिपाटी बढ्दो छ । यी सबै कुरा निर्वाचनका विकृत रुप हुन् । राजनीतिलाई स्वच्छ, स्वस्थ प्रतिस्पर्धी र समाज देशका लागि गर्ने गराउने अवस्थाका लागि यी र यस्ता राजनीति भित्रका अराजनीतिक क्रियाकलाप, स्वेच्छाचारी प्रवृत्ति अन्त्य हुन जरुरी छ । निश्चित बैज्ञानिक व्यवहारिक मापदण्डहरुबाट पार्टी भित्र र आम जनताका बिच पनि निश्चित कार्यक्रम, योजना, दृढताबाट नेतृत्वमा पुग्ने वातावरण र व्यवस्था बनाइनुपर्छ ।