निर्वाचनको सुरुमै देखिएका दलका कुरुप दृश्य

सम्पादकीय
नेपाली राजनीतिक आजको उन्नत व्यवस्थामा पनि कति कुरुप अवस्थामा छ भन्ने कुरा स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयनकै दिनमा प्रष्ट देखिएको छ । आगामी वैशाख ३० मा सरकारले दोस्रो स्थानीय तह चुनाव घोषणा गरेको छ । त्यसका लागि आइतवार र सोमबार दुई दिन उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका तय थियो । यही अवधिमा नेपालका राजनीतिक दलहरुमा देखिएको टिकट बितरणको अन्यौल,बेथिति, द्धिविधा, बिकृतिका चरम परिदृश्य देखिए । पहिलो दिन त उम्मेदवार चयन गर्न सकेनन् नै, दोस्रो दिनको मध्ये विन्दु सम्म पनि केन्द्र, प्रदेशको निर्णयमा टिकटमा वडा तह सम्मका नेता, कार्यकर्ता प्रतिक्षा गरेर बसिरहेको दृश्यले तल्लो तहका नेता, कार्यकर्ता कति लाचार अवस्थामा छन् भन्ने प्रष्ट देखिन्थ्यो ।

उम्मेदवारी मनोनयनमा ढिलाई हुनुको कारण दल भित्र पनि अनेकन गुट छन् । एउटै गुट भित्र पनि नेता अनुसारका भिन्न भिन्न उम्मेदवार छन् । जसले हरेकजसो दलमा निर्णयमा जटिलता थपियो । पहिले दिएको टिकट पनि भोलिपल्टै खोसियो । पोखराको मेयरमा एमालेले सुन चोरी प्रकरणको आरोप लागेको भन्दै यही काण्डका कारण चौतर्फी आलोचना भए पछि उम्मेदवार नै फेरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका होस् या गोरखाको गोरखा नगरपालिकामा होस् मेयरका आंकाक्षीलाई नै हातपात गरेका छन् । नमोबुद्धमा मेयरकै उम्मेदवारले अर्का आंकाक्षी माथि रगताम्य हुने गरेर कुटपिट गरे । गोरखा, कैलालीमा पनि स्थानीय नेता, कार्यकर्ताले टिकट पाए पछि हातपात गरेर उम्मेदवार नै परिवर्तन गर्न केन्द्रीय नेतृत्वलाई बाध्य पार्ने अवस्था सिर्जना गरे । सिन्धुपाल्चोकमा त माओवादी केन्द्रका दुई समूह बिच झडप भयो । झडप बढ्दै गए पछि प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था सिर्जना भयो । अब यस अवधिमा टिकट नपाए पछि पार्टी परित्याग गर्ने मात्र होइन, दल अदल बदल गर्नेहरुको संख्या ठुलै देखियो । आज दल छोडेर आजै अर्को पार्टी प्रवेश गरेर आजै उम्मेदवारको टिकट समेत पाएको दृश्य देखियो ।

यी र यस्ता घटना परिघटना विपक्षका लागि त मजाकको विषय बन्न सक्ला । तर, यो देशको सचेत नागरिकका लागि भने अवश्य पीडा दिन्छ । राजनीतिमा देखिएका अराजनीतिक क्रियाकलापले भोलिका दिनमा कस्तो प्रतिफल देला ? समाज र देश बदल्ने उद्घोष गर्नेहरु आफै भित्र, पार्टी भित्र, अन्तर पार्टी भित्रको सोच, संस्कार बदल्न नसक्ने अवस्थामा किन पुगे ? देशमा लामो राजनीतिक आन्दोलन र संघर्ष पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था त छ, के दलहरुका कार्यशैली, सोच, चिन्तन कार्यशैली त्यस अनुसारका भइरहेका छन् त ? कदापि छैन । चाहे दल होस् या नेता, उनीहरुका कुनै आदर्श, दर्शन, नीति, सिद्धान्त छैन । उनीहरुको सरोकार त्यति सम्म मात्रै छ कि अबको निर्वाचनमा कुनै पनि हालतमा निर्वाचनमा आफ्नो पार्टीको, त्यो पनि आफु र आफ्नो मान्छे पुग्नुपर्छ । यस्तो सोच र गतिविधिले व्यक्तिले क्षणिक सफलता र लाभ हासिल गरे पनि समाज र देशलाई विकृत र गतिहीन अवस्थामा पु¥याउने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *