खेल राजनीति र देशको दुर्भाग्य

सम्पादकीय
नेपालको कुनै पनि क्षेत्र राजनीति र फोहोरी खेलबाट अछुतो छैन । चाहे त्यो शिक्षा क्षेत्र होस् या स्वास्थ्य, चाहे सञ्चार होस् या खेलकुद होस् या कलाकारिता क्षेत्र होस् । चाहे कर्मचारीतन्त्र होस् या अड्डा अदालत (न्यायालय) होस् । सर्वत्र राजनीतिले आक्रान्त पारिरहेको छ । जसका कारणले नेपालको न्याय प्रणाली समेत गम्भीर प्रश्न र संशयको घेरामा छ । राजनीति आफैमा अपरिहार्य र सुन्दर कुरा हो । देशको मुल नीति राजनीतिले नै सबै विषय र दिशा निर्देशित गर्दछ । तर, राजनीतिका नाममा या आडमा भएका अराजनीतिक क्रियाकलापले देशमा प्रणालीगत विकास त हुन सकिरहेको छैन नै, केही विकास हुने क्रममा रहेको पनि अस्तव्यस्त अवस्थामा पुगिरहेका छन् । यसमा गम्भीर भएर चौतर्फी राजनीतिको कुरुप खेलले ध्वस्त हुँदै गरेको प्रणाली जोगाउन र थप विकास गर्ने तर्फ सरकार र सरोकारवाला पक्ष कसैको ध्यान पुगेको नदेखिनु दुर्भाग्य हो ।

पछिल्लो समय नेपालको खेलकुद क्षेत्र खेल राजनीतिबाट आक्रान्त बनिरहेको छ । राजनीतिक पार्टीहरुको बिचमा त गुट उपगुट देखिएको थियो नै, यो अहिले देशको चाहे क्रिकेट खेल होस् फुटबल । क्रमशः यस्तै समस्या र प्रवृत्तिबाट ग्रसित देखिन थालेको छ । बुधबार मात्रै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीहरु बिच विवाद बढेको छ । राष्ट्रिय टोलीको क्याम्पमा खेलाडीको तर्फका होटल व्यवस्थापन लगायत केही माग र विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाएको आरोप अलमुताइरी माथि छ । यही विषयलाई लिएर राष्ट्रिय टीमका ९ खेलाडीले मंगलबार राति बन्द प्रशिक्षण छोडेका थिए । यो विवाद समाधानका निमित्त फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले के कस्तो पहल र भूमिका निर्वाह गरिहेको छ ? त्यो प्रष्ट देखिसकेको छैन । तर, मुख्य प्रशिक्षक र खेलाडीको विवाद चरम उत्कर्षमा पुगेको विकसित घटनाक्रमबाट पुष्टि हुन्छ । खेलाडीहरुले पत्रकार सम्मेलन नै गरेर अलमुताइरीको राजीनामा वा वर्खास्तीको माग गरेका छन् । अलमुताइरी भने क्पाम्प छोड्ने खेलाडीले अनुशासन र मर्यादाको सीमा नाघेकाले प्रशिक्षणमा नराख्ने अडानमा छन् ।

अहिले फुटबलमा जे जस्तो प्रकृतिको समस्या देखिएको छ । त्यो भन्दा अझ खतरानक प्रवृत्तिको परिदृश्य नेपाली राष्ट्रिय क्रिकेट टीममा देखिएको थियो । क्रिकेट खेलाडी र क्यान बिचको विवाद उत्कर्षमा पुगे पछि तत्कालीन कप्तान रहेका ज्ञानेन्द्र मल्ल लगायत केही खेलाडीलाई निलम्बन गरियो । सन्दिप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरियो । खेलाडी बिचमै देखिएको दुई गुट र क्यान राजनीतिले एक पछि अर्को सफलता सहित अघि बढेको क्रिकेटमा गम्भीर समस्या देखिरहेको छ । फुटबल पनि त्यही अवस्थामा पुग्ने संकेत देखिन्छ । खेल देशको पहिचान हो । यसलाई राजनीति र अनेक स्वार्थ, विवादबाट मुक्त राखेर नितान्त खेलको विकास गरिनुपर्छ । खेल र खेलाडीलाई समय सापेक्ष सेवा, सुविधा र अवसर सहित उपर्युक्त बातावरण र प्रशिक्षण सरकारले तयार गर्नुपर्छ । स्वयम् खेलाडी, प्रशिक्षक र यसका मुख्य निकायहरु प्नि यसका लागि उत्तिकै सचेत र जिम्मेवार हुनुपर्छ । अब निकट समयमै कुवेतमा हुन लागेको एएफसी एसियन फुटवल कप २०२३ को छनोटका लागि नेपाली टिमले एकतावद्ध भएर तयार र प्रदर्शनमा जुट्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *