सम्पादकीय
नेपाल देश यतिबेला पुरै निर्वाचनले तरंगित छ । अबको १२ दिन पछि देशभरका ७५३ स्थानीय तहमा एकसाथ मतदान हुनेछ । जसबाट हजारौंको संख्यामा महागरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडा तह सम्मका जनप्रतिनिधि निर्वाचित हुनेछन् । जनताको अभिमतबाट निर्वाचित भए पाँच वर्ष सम्म स्थायी सरकारको रुपमा काम र सेवा गर्ने अवसर र दायित्व प्राप्त हुनेछ । अन्यथा पाँच वर्ष सत्ता भन्दा बाहिरै रहेर प्रतिपक्षको रुपमा खबरदारीको काम गर्नुपर्नेछ । यही अनुक्रममा राजनीतिक दल र नेताहरु आफ्नो सत्ता र पहुँच स्थापित गर्न सबैखाले कोसिस र प्रयत्न गर्न समर्पित छन् । अहिलेको निर्वाचनमा २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक विपरित गठबन्धन बनिरहेको छ । पाँच वर्ष बाम गठबन्धनका नाममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत कम्युनिष्ट पार्टीको एक थियो भने नेपाली कांग्रेस लगायतका अरु केही दल एकातिर थिए । अहिले भने यसको ठिक विपरित सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एमालेबाट बिभाजित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन बनेको छ । अर्को तर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायतको अर्को गठबन्धन छ ।
निर्वाचनमा दुई धुव्र देखिएर देश दुई दलिय अभ्यासको अवधारणा उन्मुख भए जस्तो देखिए पनि यसभित्रको आआफ्नै स्वार्थ र बाध्यताहरु छन् । जसका कारणले बिभिन्न नाममा कतै न कतै जित्ने स्वार्थ राखेर र विपक्षीलाई हराउने एक सुत्रिय शर्त साँधेर सिद्धान्त, विचार, दर्शन सबै बिर्सिएर स्थान विशेष छुट्टाछुट्टै गठबन्धन भइरहेका छन् । गठबन्धन गरेका दलहरुले एक पार्टीको अर्को पार्टीमा नेता, कार्यकर्ता प्रवेश गर्ने गराउने काम नगर्ने निर्णय समेत गरेका छन् । तर, निर्णय गरिए पनि तल्लो तहमा पार्टी परित्याग र एक अर्कोमा प्रवेश गर्ने लहड चलेको छ । विशेषतः टिकटको आशा गरेका नेता, जनप्रतिनिधिहरु टिकट नपाउँदा एकाएक पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गरेका छन् । अर्को तर्फ शिक्षा, चेतना, जागरण नपुगेका गाउँ बस्तीका बिपन्न, सोझा साझा जनतालाई अनेकन आश्वासन दिएर एक पछि अर्को पार्टीमा प्रवेश गर्ने गराउने क्रम बढ्दो छ । आज सम्म राम्रो र ठिक रहेको नेता राजनीतिक दलका नेता, कार्यकर्ताकै भनाइमा एकाएक गद्धार बनिरहेको छ भने पार्टी पुरै स्वार्थ र अवसरवादमा फसेको आरोप सिधै लगाइन्छ ।
पार्टी परित्यागका मुख्यतः दुई कारण देखिन्छ । पहिलो त पार्टीमा विचार, दर्शन, निष्ठाका साथ वर्षौदेखि काम गरिरहे पनि न्यायोचित अवसर नदिएको प्रतिको आक्रोश र विद्रोह हो । दोस्रो पार्टी प्रतिको विचार, सिद्धान्त प्रतिको बिचलन हो । जुन कुनै पनि हालतमा अवसर लिने महत्वकांक्षा बढ्दो छ र त्यो प्राप्त नहुँदा साथ एक पार्टीमा भएन भने अर्कोमा सहजै जाने प्रवृत्ति मौलाउँदो छ । अहिले इमान, इज्जत, स्वाभिमान, प्रतिष्ठा भन्ने कुरा क्रयविक्रयमा चल्ने सस्तो बजार जस्तो भइरहेको छ । निर्वाचनमा कुनै पार्टी प्रतिको असन्तुष्टिले छोड्दा कसैले जित्ला, हार्ला बेग्लै कुरा हो । तर, अनेकन स्वार्थ, कुण्ठा, प्रतिशोध, एक अर्का प्रतिको आग्रह पूर्वाग्रहले बिधि, सिद्धान्त, मर्यादा, मापदण्ड सबै देखावटी अस्त्र हुन थालेको छ । यसको विकृत रुप नै चुनावको मुखमा पार्टी परित्याग र प्रवेश हो । हामीकहाँ राजनीति फोहोरी छ, यसलाई जरुर सफा गर्नुपर्नेछ । यद्यपि, राजनीति भित्रको फोहोरमा अझ फोहोर थप्ने काम भइरहेको छ । यसलाई समयमै नरोक्ने हो भने यसले अझ बेथिति समाज र देशमा देखिनेछ ।