चुनावमा पैसाको प्रलोभन र प्रभाव

सम्पादकीय
नेपालको राजनीतिमा सत्ता र शक्तिको प्रभाव मात्र होइन । पैसा र पैसावालको प्रभाव अधिक हुने गरेको छ । त्यसैले देशमा व्यवस्था फेरिए पनि अवस्था फेरिन सकिरहेको छैन । राजनीति दलहरु बिचको एकता, नागरिकको अभूतपूर्व साथ समर्थनमा पुरानो राजतन्त्रात्मक शासन व्यवस्था ढल्यो । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । पहिले पहिले सत्ता र शक्तिका आडमा जे पनि गर्ने प्रचलन व्याप्त थियो । पैसावालहरुको बोलवाला थियो । पैसा हुनेले सत्ता र शक्तिमा भएकाहरुलाई हातमा लिएर जे जस्तो कार्य पनि गर्ने गराउने प्रवृत्ति मौलाएको थियो । यस्तो प्रवृत्ति आजको दिन र व्यवस्थामा पनि मौलाउदो क्रममा छ । जुन अहिले र आगामी पुुस्ताका लागि समेत खतरानक विषय हो ।

अहिले मुलुक स्थानीय तह निर्वाचनले तातेको छ । देशका ७ सय ५३ स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ । राजनीतिक दल, नेता, स्वतन्त्र उम्मेदवारहरु जनताको बिचमा मत माग्न घरदैलोमा व्यस्त छन् । राजनीतिक दलका नेताहरुमा जे जसरी पनि चुनाव जित्नै पर्ने भन्ने सोच हाबी छ । त्यसैले अहिले निर्वाचन आयोगले भड्किलो र खर्चिलो निर्वाचन रोक्न खर्चको सीमितता पनि तय गरेको छ । तर, यो कानुनी र कागजी रुपमा मात्र सीमित रहेको पाइएको छ । संघीय र प्रदेश सांसद निर्वाचनमा त पाँच वर्ष अघि नै १ करोड बढी खर्च भएको चर्चा थियो । अहिले राजनीतिक दलका उम्मेदवारहरुले जुन निर्वाचन प्रचार प्रसार, पद्धति, शैली अपनाइरहेका छन् । यसको खर्च अनुपात हेर्दा लाखौ रुपैयाँले पनि नथेग्ने खालको छ । जुन एक निष्ठावान, इमान्दार, सादगी नेताका लागि निकै कठिन र जटिल विषय हो । यसले सत्ता र पैसा भएकाहरुको नेपाल र नेपाली राजनीतिमा दबदबा हुने निश्चित प्रायः छ ।

राजनीति, नेता, कार्यकर्ता या जनता पैसाको प्रभावमा पर्छन् । उद्योगी, व्यवसायी, ठेकेदारहरु वर्षौदेखि सेवाको राजनीति गरिरहेकाहरुको बिचमा उम्मेदवारको टिकट लिएर आउछन् । तब पैसा र पहुँचको राजनीति गर्ने व्यक्तिगत र सीमित स्वार्थवालाहरुको बोलवाला हुन्छ । राजनीति सेवा होइन, कुनै नाफा घाटा र कमाउ धन्दा जस्तो हुन्छ । त्यसैले राजनीतिलाई समाज र देश बदल्ने नीतिको रुपमा स्थापित गर्न यी र यस्तो प्रवृत्तिबाट मुक्त गर्नुपर्छ । यसका लागि पैसावाल नेताहरुलाई निर्वाचनबाटै बहिस्कृत गरिदिनु पर्दछ । अनि आर्थिक रुपमा विपन्न, समाजमा पछि परेका र पारिएका चेतना, जागरण र विकासले नछोएका नागरिकहरुको सोझोपनमा पैसा बाँडेर चुनाव जित्ने आशक्ति आजको दिनमा पनि छ । अब यसलाई नेताहरुको भ्रममा मात्र सीमित राखिदिनु पर्दछ । निर्वाचन भनेको आफैलाई शासन गर्ने र समाजमा एक कुशल सेवक चुन्ने अवसर हो । यसबेलामा सीमित पैसा र स्वार्थको भुलभुलैयामा परेर मत क्रयबिक्रय गरिनु हुन्न । मत अमुल्य छ, यसको यथोचित विवेक प्रयोग गरेर राम्रा उम्मेदवारलाई जिताउनु नै हामी सबैको दायित्व हो । जसले भोलिका पाँच वर्ष पश्चातापमा व्यतित गर्नुपर्ने बिबशता नआओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *