सम्पादकीय / स्थानीय तह निर्वाचन सम्मुखमा उपस्थित छ । राजनीतिक दल, उम्मेदवार, नेता, कार्यकर्ता औपचारिक चुनावी घरदैलो र सभाको अन्तिम विन्दुमा छन् । अरु बखत सुनसान हुने गाउँ बस्तीहरु चुनावी नारा, प्रचार सामग्रीले गुञ्जयमान छन् । चुनावको प्रभाव यति सम्म छ कि एकाघरका दाजुभाई, दिदी बहिनीहरु समेत फरक फरक पार्टीमा बिभाजित छन् । मतदानको मिति नजिकिँदै जाँदा चुनाव पेचिलो बन्दैछ । स्थानीय छरछिमेक, आफन्तबिचको सम्बन्धमा पनि दरार पैदा भएको प्रशस्त परिदृश्य देखिन्छ । राजनीतिक दलका नेता, कार्यकर्ता बिचमा उस्तै बैमनस्यता, कटुटता देखिन्छ । कतै कतै त एक आपसमा झैझगडा, कुटपिट, आक्रमण भइरहेको देखिन्छ । चुनावले नेता, कार्यकर्तालाई अन्धभक्त जस्तो बनाएको चौतर्फी प्रतित हुन्छ । आफु र आफ्नो दल, उम्मेदवार बाहेक अरु सबै खराब, बिफल, बदनामी पात्र भएको हौवा सबैजसो दल र उम्मेदवारले फैलाइरहेका छन् । यो लोकतन्त्रको मजबुत सबलिकरणका लागि भए पनि निर्वाचनमा देखिएका भद्धा दृश्य, अस्वस्थ प्रतिस्पर्धा, भड्किलो र खर्चिलो प्रचार, भेटघाट र सभाले लोकतन्त्रलाई गिज्याइरहेको प्रतित हुन्छ ।
वैशाख ३० मा हुने निर्वाचनका लागि अहिले मतदाता समक्ष उम्मेदवार, नेता, कार्यकर्ताको भेटघाट, अनुनय विनय व्यापक देखिन्छ । शहर बजारमा भएका आफ्ना मतदातालाई गाउँ अर्थात् मतदान स्थल भएको स्थानमा ल्याउन गाडी रिजर्भदेखि अनेकन सहजीकरणको प्रयासमा दल र उम्मेदवार छन् । निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन आयोग लागिरहेको छ । जस अनुसार मतदानको ४८ घण्टा अघिदेखि मौन अवधिको व्यवस्था गरिएको छ । यो आसन्न निर्वाचनमा गए रातिदेखि लागु भइसकेको छ । यसचरणमा चुनावी प्रचार प्रसार र सभा गर्न रोक छ । आयोगले यसपटक एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ । सामाजिक सञ्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउनु पर्नेछ । निर्वाचन सामग्री हटाए÷नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ । अब मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न पाइने छैन ।
मौन अवधिको मतलब मतदान गर्नु भन्दा अघि कुनै पनि अराजनीतिक र अमर्यादित गतिविधि नहोस् भन्ने हो । चुनावमा मतदातालाई बिभिन्न तवरबाट पर्न सक्ने प्रभाव, दबाब रोकियोस् भन्ने हो । तर, नेपालको दुर्भाग्य भन्नुपर्छ कि सबै भन्दा बढी यही मौन अवधिकै बेलामा चुनावी चलखेल हुन्छ । गरिब, विपन्न, दलित वस्तीमा पैसा बाँड्नेदेखि अनेकन प्रलोभन, आश्वासन दिएर रातारात मत परिणाम उल्ट्याउने खेल गतिविधि यही बेला हुने गर्दछ । यसर्थ निर्वाचन कसले जित्ने या हार्ने भन्ने निक्र्यौल समेत अधिकांश अवस्थामा यही बेलाको चलखेल, षड्यन्त्र र भूमिकाले निर्धारित गर्दछ । त्यसैले खराब नियतका साथ हुने जुनकुनै दल, उम्मेदवार, नेता कार्यकर्ता होस्, ती पात्र र प्रवृत्तिलाई निरुत्साहित गरेर असल, सक्षम, सबल उम्मेदवारले जित्ने प्रणालीलाई नै थप सबल बनाउनु अपरिहार्य छ ।