रंगिन पर्दाका ‘कुरुप’ पात्र, सरकार र सजाय

सम्पादकीय
नेपाली कला, सौन्दर्यको क्षेत्र हेर्दा र सुन्दा जति सुन्दर देखिन्छ, सुनिन्छ । व्यवहारतः त्यस भित्र बसेर या पसेर हेर्दा त्यस्तो पाइदैन । सुन्दर रंगिन पर्दा भित्रका दर्दनाक, कहाली लाग्दा घटनाहरुको श्रृंखला देखिन्छ । यस क्षेत्रमा हुने यौन शोषण त सामान्य बनिसकेको प्रतित हुन्छ । कला क्षेत्रमा चलिसकेका स्थापितहरुलाई त ठुलो समस्या र जोखिम देखिन्न । तर, भर्खर प्रवेश गर्दै गरेकाहरुका लागि अघि बढ्न अनेकन जोखिम र जंघार तर्नुपर्छ । खराब सोच र नियत भएकाहरुबाट अनेकन अस्वभाविक प्रस्ताव, दुव्र्यवहारको सामना गर्नुपर्छ । र त क्षमता, कला कौशल हुँदा हुँदै पनि पछि पर्नुपर्ने र पलायन हुनुपर्ने बाध्यता आजको दिनमा पनि व्याप्त छ । यसै साता टिकटक मार्फत एक युवतीले सार्वजनिक गरेको यौन शोषण र दुव्र्यवहारको भिडियोले पनि धेरै कुरा बोल्छ । उसो त यसअघि पनि यी र यस्ता अनगिन्ती घटनाहरु बहिर आए तर, त्यसलाई बिभिन्न दबाब र प्रभाबमा पारेर मिलापत्र गरिएको छ । कतिपय घटनालाई जर्बजस्त सत्ता र शक्तिको आडमा निश्क्रिय तुल्याइएको छ ।

बलात्कारका घटना समाजमा अहिले पनि भइरहेका छन् । बिभिन्न प्रलोभन, लालच, आंकाक्षा, आश्वासन देखाएर यौन शोषण गर्ने प्रवृत्ति कायमै छ भन्ने बिभिन्न घटनाक्रमले देखाएको छ । यद्यपि, यी र यस्ता घटनामा पीडितले बोल्न सक्दैनन् । कथम्कदाचित बोलि हाले पनि पितृ सत्तात्मक सोचको समाजले उनै पीडितलाई थप पीडा दिएर किनारा लगाउने काम गर्छ । मिस नेपाल र मोडेल बन्ने सपना लिएर मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी भएकी एक युवतीले घटनाको ८ वर्ष पछि आफू माथि बलत्कार भएको तथ्य सार्वजनिक गरेकी छिन् । फेसनमा अडिसन, फोटो सुट पछि ब्युटी पेजेन्टमा भाग लिएको र फस्ट रनर अप हुन सफल भएकी उनलाई ‘इभेन्ट सक्सेस’ पार्टीका लागि होटल एभरेस्टमा आयोजकमध्येका मुख्य व्यक्तिले बोलाएर बलात्कार गरेको जिकिर छ । बलात्कार पश्चात पनि अश्लिल भिडियो खिचेको र घटनाबारे कसैलाई बताए भिडियो सार्वजनिक गर्ने धम्की दिएर अरु ६ महिना यौन शोषण गरेको दाबी छ । त्यस पश्चात उनले मिस नेपालदेखि आफ्ना व्वाइफ्रेण्ड, निकट साथीबाट सहयोगका लागि अनुनय विनय गर्दा समेत नमिठो जवाफ पाएको बताएकी छिन् । जसले घटना यताका ८ वर्ष डिप्रेशनमा बिताउनु परेको दर्दनाक कहानीले सिंगो देश तरंगित छ ।

बलात्कारको यस घटनामा हद म्याद त नाघिसकेको छ । र स्वयंम् पीडित युवतीले न्याय पाउने र अपराधीले सजाय पाउने आशा मरिसकेको बताएकी छिन् । यद्यपि, यो विषयले नेपालको संसदमा समेत प्रवेश पाएको छ । सडकमा घटनाको बिरोधमा प्रदर्शन समेत भइरहेको छ । सामाजिक सञ्जालमा पनि चर्को बिरोध सहित नेपालको हद म्यादको कानुन संशोधन, परिमार्जनको आवाज समेत उठिरहेको छ । नेपाल प्रहरीले पीडित युवतीसँग भेटेर यसको अनुसन्धान थालेको छ । अनुसन्धान पश्चात अपराध कर्ममा सामेल व्यक्तिलाई ढिलै भए पनि यथोचित सजाय दिनुपर्छ । यसका अलावा बलात्कारका सम्बन्धमा नेपालको कानुन, हद म्याद लगायतमा समय सापेक्ष पुर्नविचार र संशोधन गर्नु अपरिहार्य छ । बलात्कारका विषयमा ‘मन मिले चमात्कार, नमिले बलात्कार’ भन्ने बिरोधाभाष पनि समाजमा व्याप्त छ । यस्तो पात्र र प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने र बलात्कारका घटनालाई पूर्णतः नियन्त्रण गर्न यस बिरुद्ध सबैले बोल्ने र प्रतिरोध गर्ने बातावरण समेत बनाइनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *