असुरक्षित हवाई सेवा र सरकारको बेवास्ता

सम्पादकीय
दुर्घटना आफैमा अप्रिय हुन्छ । यो भतिव्य हुन्छ । जीवनमा कहिल्यै सोच्दै नसोचेको भोग्नुपर्छ । र पनि सहनु र सामना गर्नुको विकल्प मानिससँग हुँदैन । त्यस्तो दुर्घटना नहोस् भनेर हामी प्राथना, कामना त गर्छौ तर, दुर्घटना भइरहेकै छ । यस्ता दुर्घटना रोक्न प्राथना, कामना मात्रले नपुग्ने चाही सत्य हो । यसका लागि देशको प्रणाली, उपकरण, व्यवस्थापन, सञ्चालन सबै चुस्त हुनुपर्छ । हामीकहाँ न त प्रणाली चुस्त छ, न त यन्त्र उपकरणहरु नै समय सापेक्ष र चुस्त । जसले गर्दा अप्रिय दुर्घटना पटक पटक दोहोरिने गरेको छ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा तारा एयरको विमान सम्पर्कबिहिन भयो । नेपाल सरकार र यसका निकायले खोजी थाल्यो । तर, दिनभरमा पत्ता लगाउन सकेन । प्रतिकुल मौसम त यसको मुख्य कारक बन्यो होला नै, यसका अलावा हाम्रो देशमा प्रतिकुल मौसमका बाबजुद नै खोज, उद्धार गर्ने संयन्त्र, यन्त्र, उपकरण र जनशक्ति के कस्तो छ भन्ने विषय पनि सोचनीय बनाइदिएको छ ।

सम्पर्कविहिन जहाज र यात्रु सकुशल फेला पार्ने कामना बिफल भयो । ढिलै भए पनि दुर्घटनाग्रस्त स्थल, दिवंगत २२ जनाकै शव पहिचान गर्ने अवस्थामै भेटिएको छ । जहाज भिरमा ठोक्किएकाले टुक्रा टुक्रा अवस्थामा छ । शवहरु छरिएको अवस्था अप्ठ्यारो भूगोलमा भेटिएको छ । मृत व्यक्तिहरुको शव काठमाण्डौं ल्याइने छ । सरकारले दुर्घटनाको छानविन गर्न एक उच्च स्तरिय छानविन समिति गठन गरिसकेको छ । अब यसले घटनाको मिहिन ढंगले अध्ययन अनुसन्धान अवश्य नै गर्ला । हुन त विगतमा गठन गरिएका दुर्घटना छानविन समितिका अध्ययन र त्यस पश्चात प्राप्त रिपोर्टहरु कामयावी बनिरहेका छ्रैनन् । केबल औपचारिकतामा सीमित हुने गरेको छ । अहिलेको यति एयरलाइन्सको दुर्घटना २५ औं दुर्घटना हो । नेपालमा पछिल्लो एक दशकको अवधिलाई फर्र्किर हेर्ने हो भने ठूला ठूला विमान दुर्घटना भएको छ । जसमा मुलुककै प्रतिष्ठित व्यक्तिदेखि सयौं सर्वसाधारणले ज्यान गुमाएका छन् ।

नेपाल भूगोलमा कठिन र विकट बस्तीहरु मिलेर बनेको छ । अहिले चल्ने विमानहरु भूगोल, मौसम, पुराना जिर्ण उपकरण लगायत अनगिन्ती जोखिम मोलेर सञ्चालनमा छन् । पछिल्लो दशकको दुर्घटना केलाउँदा एक तिहाई दुर्घटना जहाज नियन्त्रणमा हुँदाहुँदै पनि डाँडामा ठोक्किएर भएको देखिएको छ । यसका साथै विमान चालकले उडानका बखत सामना गर्ने प्राविधिक वा अन्य परिस्थितिजन्य अवस्थाले जहाजलाई नियन्त्रणमा राख्न नसक्नु भएको दुर्घटना अध्ययन प्रतिवेदनमा उल्लेख छ । नेपालको समस्या भूगोल, खराब मौसम, पुराना विमान, जबर्जस्त दबाब मात्र होइन, दुर्घटना हुँदा साथ कमजोरी औल्याउने तर त्यसको समाधानका लागि सरकारले सम्बन्धित निकायलाई थप जवाफदेही र उत्तरदायी बनाउन नसक्दा पनि नेपालको हवाई यातायात असुरक्षित बनिरहेको छ । जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा समेत नराम्रो सन्देश गइरहेको छ । अतः हवाई यातायातलाई सुरक्षित बनाउने विषय दुर्घटना पश्चातको झस्काई मात्र होइन, ठोस योजना, दृढ अठोट सहित नै अघि बढाउन अपरिहार्य छ । अन्यथा, दुर्घटना पुनरावृत्ति भइरहने र नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *