एक क्रुर अपराध, नेपाल र नियति

सम्पादकीय
हामी आजको २१ औं शताब्दीमा यात्रारत छौ । यद्यपि, समयको गति र कसीमा २१ औं शताब्दीको नागरिक हुनु र असली रुपमा हुन नसक्नुको ठुलो भेद देखिन्छ । समय परिवर्तनशील र गतिशील भए पनि नेपाली समाजका विकृति, बिसंगति, अन्याय, अत्याचार, आपराधिक मनोवृत्ति नयाँ रुप र शैलीमा प्रकट भइरहेको छ । जुन झट्ट सुन्दा पत्यार लाग्न पनि कठिन हुन्छ । जसले हामीलाई आजको गतिशील समयमा मानिस हुनुमा लज्जा र हिनताबोध हुनुपर्ने हो । तर, घटना र अपराध एक पछि अर्को जुन भइरहेको छ । त्यसले समयक्रमसँगै मानिस शिक्षित, सचेत, ज्ञानी बन्दै गए पनि मानवीयता, संवेदना हराउँदै गएको सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो समय चितवनमा आफ्नै श्रीमानबाट भएको भयानक हिसांको खबर यसकै एक प्रतिनिधि घटना हो । जसले नेपाली समाजलाई एक पटक झस्काएको छ, दुःखित तुल्याएको छ र २१ औं शताब्दीको समाज र देशलाई गिज्याइरहेको छ ।

श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया गीता माझीले अन्ततः ज्यान नै गुमाउन बाध्य भएकी छिन् । श्रीमान रामचन्द्र माझीले मलद्वारबाट लौरो घुसाउँदा गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि एकपटक शौचालय पनि गएकी थिइन् । तर, राती ११ बजे एक्कासि मुटुको धड्कन बन्द भएर उनको मृत्यु भयो । गीता ज्याला मजदुरीको काम गर्थिन् । बिहानैदेखि रक्सी पिउँदै बस्ने रामचन्द्र केही काम गर्दैन थिए । गीताले कमाएर ल्याएको पैसाबाट आफूलाई रक्सी खाने पैसा नदिए कुटपिट गर्दै आएका थिए । गीताको दुई छोरी बिचल्लीमा छन् । गीताका श्रीमान भने प्रहरी हिरासतमा छन् । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ । महिला (घरेलु) हिंसामा पनि यति क्रुर आपराधिक मनोवृत्तिको घटना निकै कम भएका छन् । यसको कारण मदिरापान मात्रै थियो कि अरु विषय पनि थिए, त्यो अनुसन्धान भइरहेको छ ।

कारण जे भए पनि आफ्नै श्रीमति माथिको यति विघ्न दर्दनाक व्यवहार सायदै कल्पना गरिन्छ । जुन रामचन्द्र माझीले आफ्नै श्रीमति विरुद्ध प्रयोग गरे । कुटपिट, दुव्र्यवहार र यातना मात्र होइन, अब त महिलाले ज्यान समेत गुमाइसकेकी छिन् । यसमा न्यायिक निकाय मार्फत न्याय खोज्ने पहल र कार्य त होला । तर, यी र यस्ता घटना समाजमा किन भइरहेका छन् ? के कुराले यस्ता गम्भिर आपराधिक घटनामा उद्धत भइरहेको छ ? आपराधिक घटनामा सम्लग्न पात्रहरु किन कानुनी कठघरा र दण्डको भागिदार बन्दैनन् । उनीहरुलाई को कसले किन संरक्षण गरिरहेको छ ? यी र यस्ता यावत प्रश्नहरुको जवाफ नखोजी महिला हिसां नियन्त्रण गरौं भन्ने आदर्श, भाषण र नाराले तात्विक अर्थ राख्दैन । अतः सरकार र सरोकारवाला निकायले अपराध र अपराध मनोवृत्ति पूर्णतः नियन्त्रण निरुत्साहित गर्न कडाईका साथ कदम चाल्नु अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *