किन मर्दैछ मानवीयता ?

सम्पादकीय
नेपाली समाज आधुनिक, विकसित, जागरुक, सचेत र शिक्षित बन्दैछ । समयक्रमसँगै बदलिएको समाज र देशमा घटनाक्रमहरु हेर्ने हो भने चाहीँ निकै सोचनीय बनाउँछ कि शिक्षित र सचेत समाजमा पनि अमानवीय घटना र अपराधले प्रश्रय पाउँछ ? आज नेपालमा यही अवस्था देखिएको छ । ज्युँदै मानिसलाई आगो लगाउनेदेखि महिलाको संवेदनशील अंगमा काठ हालेर चरम यातना दिने सम्मका घटना हाम्रा सामु ताजा घटनाको उदाहरण छन् । जन्मदिन मनाउन गएका किशोरी माथि पाँच जना युवकले जबरजस्ती करणी बलात्कार गर्नेदेखि सुन्दर आवरणमा पर्दा पछाडि अनेकन जालझेल, षड्यन्त्र रचेर हत्या समेत गर्ने गरेका छन् । त्यो पनि कुनै दुरको मानिसले होइन, आफ्नै निकट र परिवारकै सदस्यहरुबाटै भइरहेको हत्या, यातनाको परिदृश्यले मानवीयता मर्दै गएको प्रतित हुन्छ ।

आजको २१ औं शताब्दीमा बुधवार निकै दर्दनाक खबर सार्वजनिक भयो । जुन सुन्दा झट्ट पत्यार पनि लाग्दैन । तर, समाचारका तथ्य र कहालीलाग्दो तस्वीर हेरे पछि घटना असत्य लाग्दैन र होइन पनि । दार्चुलामा आगो लगाएर एकजना एकल महिलाको हत्या गरियो । शैल्यशिखर नगरपालिका– १ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटना के कारणले घटाइयो भन्नेबारे अनुसन्धान जारी छ । मृतक महिलाका श्रीमान् सात–आठ वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् । घटनामा संग्लन रहेको आशंकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । घटनाको गहन अनुसन्धान पश्चात कारण पनि पत्ता लाग्ला, सार्वजनिक होला ।

तर, कारण जे सुकै भए पनि यो हद सम्मको आपराधिक सोच, मनोवृत्ति कहाँबाट कसरी नेपालमा हुर्किरहेको छ ? एउटा मानिसलाई घर भित्र राखेर ज्युँदै जलाउने कुरा एउटा कानुनी राज्य भएको देशमा कति गम्भीर र संवेदनशील कुरा हो ? यसले देशको शान्ति, सुरक्षा, मानिसको स्वतन्त्र निर्भयका साथ बाँच्न पाउने अधिकार कहाँ पुग्यो ? यी र यस्ता घटनाले यो देशका शासकहरुको मन दुख्छ कि ढुंगा भइसक्यो । निःसन्देह घटनाको कारण आपसी झैझगडा, वैमनस्यता या अरु जेसुकै कारण भए पनि यति घृणित कर्म सर्वश्रेष्ठ प्राणी दाबी गर्ने मानिस र देश दुनियाँकै लागि लज्जाको विषय हो । अब तत्काल यस घटनामा सम्लग्नको पहिचान र कडा भन्दा कडा कारबाही गर्न सरकारले गम्भीरतापूर्वक कदम चालोस् । यससँगै मानिस किन यस्ता दर्दनाक, कहालीलाग्दा अपराध गर्न उद्धेलित छ ? यसको गहिरो रुपमा कारणको खोजी गरियोस् । तबकि भोलिका दिनमा यी र यस्ता घटना नियन्त्रणका लागि राज्यका तर्फबाट कुनै पनि विकल्प, सचेतताका लागि कसर बाँकी नरहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *