मलमा सधैं अलमल

सम्पादकीय
नेपाल कृषि प्रधान देश हो । यद्यपि पछिल्लो समय कृषि उपज उत्पादनबाट किसानहरु पलायन हुने र निराश हुने बातावरण र प्रवृत्ति बढ्दो छ । उर्वर खेतबारीहरु बाझो बन्न थालेको छ । सरकार किसानलाई उत्पादनमा अग्रसर र प्रेरित गर्नुको साटो किसानहरुलाई खेतीपातीका लागि अपरिहार्य मल र विषादीको समेत व्यवस्था गर्न नसकेर आफ्नो लाचार छविको पुनरावृत्ति गरिरहेको छ । यो अहिलेको सरकारले मात्र होइन, विगतका हरेक सरकारले समयमै मलको व्यवस्था गर्न नसकेर आफ्नो असक्षमता प्रदर्शन गरिरहेको छ । यो वर्तमान गठबन्धन सरकार पनि फेरि एक पटक मलको व्यवस्थापनमा चुकिरहेको छ । किसानहरु मलको बाटो हेरिरहेका छन् । यद्यपि, अझै सहज रुपमा मल पाउने कुनै संकेत र सम्भावना देखिएको छैन ।

सरकारलाई यो समय मानो रोपेर मुरी उब्जाउने समय हो । खेती लगाउने समयमा मल, बिउ चाहिन्छ भन्ने सरकारले थाहा नपाएको पनि होइन । तर, हरेक वर्ष समयमै मल नपाएको बिडम्बनापूर्ण विगत हुँदा हुँदै पनि सरकार, यसको विषयगत मन्त्रालय सम्हालिरहेका मन्त्री, कर्मचारीहरु उदासिन बनिरहेको प्रष्ट हुन्छ । अहिले धान रोप्ने समय भइसकेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मलको चरम अभाव छ । यी प्रदेशका लागि रासायनिक मल उपलब्ध गराउने जिम्मेवारी भैरहवास्थित कृषि साम्रगीको गोदाम रित्तो छ । किसानहरु मलका लागि धाइरहेका छन्, तर मल पाइरहेका छैनन् । कृषि प्राविधिकहरूका अनुसार धान खेतीबाट राम्रो उत्पादन लिन एक बिघा खेतमा धान रोप्दा ९० किलो डिएपी, ४५ किलो युरिया र ३० किलो पोटास मल चाहिन्छ । रोपो हरियो भएपछि प्रतिबिघा ६० किलो युरिया मल चाहिन्छ ।

मलका लागि हरेक वर्ष सास्ती खेप्नुपर्ने किसानको बाध्यता र पीडामा सरकार किन कहिल्यै गम्भीर बन्दैन ? मुख्य सिजनमा मल पाउन नसकेपछि यसले उत्पादनमा पर्ने असरबारे किन सरकार बेखबर बन्छ ? धानको बिउ राखेपछि पसाउने बेलासम्म तीन पटक रासायनिक मल राख्नुपर्छ तर सधैँ यही बेला अभाव हुने, किसान मल अभावमा छटपटिनु पर्ने बिबशता किन बुझ्दैन ? चाहिएको समयमा मल र बिउ नपाउँदा किसानहरूको खेती प्रति विकर्षण बढ्दो छ । कृषि प्रधान देशमा सरकारले कृषिलाई प्राथमिकतामा नराख्दा किसानहरू सधैँ मारमा पर्ने गरेका छन् नै, यसले उत्पादन घट्ने मात्र होइन, भोलि किसानी पेशामा चरम निराशा पैदा गरेर अन्यत्रै जाने सोच जबरजस्त बनाउनेछ । यसमा सरकारले समयमै गम्भीरतापूर्वक कदम चालेर मलको सधैं अभाव खेप्नुपर्ने नियतिको अन्त्य गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *