सम्पादकीय
नेपालका शैक्षिक र प्राज्ञिक स्थलहरु राजनीतिक दलको क्रिडास्थल के कसरी बनिरहेका छन् ? आम मानिसका अगाडि छरपष्ट छन् । हाम्रा विश्वविद्यालयदेखि विद्यालयहरु समेत राजनीतिक विवादको जड (केन्द्र) बनेका छन् । फलस्वरुप सामान्य विद्यालयको व्यवस्थापन समिति गठन गर्दा समेत दलगत र प्यानलगत प्रतिस्पर्धा हुने अनौठा परिदृश्य देखा परेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को त के कुरा गर्नु र ? यस विश्वविद्यालयको पदाधिकारी (उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्ष)मा १ सय ४० दिन सम्म ताला लाग्यो । त्यो पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले ताला लगाए । नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी सघंले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरूले माघ २० गतेदेखि तालाबन्दी गरे । सरकार भए नभएको यतिका अवधि सम्म सायदै आभास भयो । यद्यपि, १ सय ४० दिनदेखी जारी तालाबन्दी सोमवारदेखि खुलेको छ ।
जनकपुरस्थित युथ कलेजको सम्बन्धनमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग राखी तालाबन्दी गरेका थिए । त्यसपछि आंशिक प्राध्यापकले मासिक रूपमा तलब पाउनुपर्नेलगायतका माग राखेर तालाबन्दी गरेका थिए । केही समयअघि त्रिविमा ताला लगाउने र खोल्नेबीच प्रतिस्पर्धा चल्यो । त्रिविमा नेविसंघ र आंशिक प्राध्यापक संघले झन्डै पाँच महिनादेखि लगाएको ताला नेकपा क्रान्तिकारीले एक साताअघि फोड्योे । त्यसको भोलिपल्ट फेरि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण त्रिविका पदाधिकारी कार्यालय आएर काम गर्न सकेनन् । यसले त्रिविको काम कति प्रभावित भए ? झण्डै पाँच महिनादेखि रोकिएका कामले कति पछाडि पा¥यो ? किन पटक पटक ताला लाग्छ त्रिविमा ? किन ताला खोल्नेमा सरकार र सरोकारवाला निकायको नेतृत्वदायक ठोस पहलकदमी देखिदैन ? यी र यस्ता सयौं प्रश्न छन्, जसको सरकार र सरोकारवाला निकायले आम नागरिकलाई जवाफ दिनुपर्छ । तर, यी निकाय मौनता साँधेर मुकदर्शक बसिरहेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र आंशिक शिक्षकहरूले ताला लगाएका थिए । ताला खुलाउन संघीय संसद (प्रतिनिधि सभा)को बैठकमा समेत कुरा उठ्यो । अन्ततः आन्दोलनकारी, त्रिवि पक्ष बिच ६ बुँदे सहमति पश्चात ताला खुलेको छ ।
अहिले ढिलै भए पनि ताला खुल्नु राम्रो कुरा हो । तर, बिरोधका लागि बिरोध या तालाबन्दी गर्ने प्रवृत्ति राम्रो होइन । नेपाली राजनीति, यसका बाछिटा प्रत्यक्ष परोक्ष नेपालको शैक्षिक क्षेत्रमा परिरहेको छ । न त ताला लगाउनेले आफ्नो आन्दोलनको औचित्य पुष्टि गर्छ, न त सरकारले ताला लगाउने माथि कडाईका साथ कदम चाल्न सक्छ । विश्वविद्यालय जस्तो प्राज्ञिक स्थलमा अस्वश्थ प्रतिस्पर्धा र तालाबन्दी गर्ने होड चल्छ । यसले विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्छ ? उनीहरुसँग कति उन्नत चेतना, विवेक र संस्कार छ ? भन्ने गम्भीर प्रश्न स्वभाविक उब्जन्छ । आलोचनात्मक चेत अपरिहार्य छ तर, बिरोधका लागि जेमा जसरी पनि बिरोध गर्ने प्रवृत्तिले अस्थिरता, अन्यौलता, द्धिविधा र विकृत संस्कारलाई प्रश्रय दिने निश्चित छ ।