स्वतन्त्र उम्मेदवारः अतिवादको जबरजस्त विकल्प

सम्पादकीय
नेपालमा अहिले स्वतन्त्र उम्मेदवारीको लहर चल्न थालेको छ । उसो त विगतका निर्वाचनहरुमा पनि स्वतन्त्र उम्मेदवार नउठ्ने गरेका होइनन् । हरेकजसो निर्वाचनमा स्वतन्त्र (विशेषतः पार्टीबाट टिकट नपाए पछि बागी) उम्मेदवार उठ्ने प्रवृत्ति व्याप्त थियो । अहिलेको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी, आम मतदाताको अभूतपूर्व मत र माया सहित निर्वाचित भए पछि यसले देशव्यापी रुपमा नयाँ तरंग पैदा गरेको छ । खासगरी काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह र धरान उपामहानगरपालिकामा हर्क साम्पाङको चामत्कारिक जितले नेपाल र नेपाली राजनीतिमा छुट्टै उभार र तरंग ल्याइदियो । जसबाट राजनीतिक दल, तीनका नेता, कार्यकर्ता झस्किएका मात्र छैनन्, गम्भीर आत्मसमिक्षा र बहस गर्नुपर्ने ठाउँमा पु¥याइदिएको छ ।

स्वतन्त्र उम्मेदवार यसपटकको स्थानीय तह निर्वाचनमा पनि सयौं संख्यामा चुनावी मैदानमा उत्रिए । यसरी मैदान उत्रिएकोमा कति लहडमा उम्मेदवारी दिएका थिए भने कति पार्टीबाट आफूले चुनावी टिकट नपाए पछि बागी (स्वतन्त्र) उम्मेदवारी दिए त केहीले भने राजनीतिक दल र तिनका नेताबाट आजित जनताको मनोभावनाको प्रतिनिधित्व गर्दै साहसिक र परिपक्व कदम चाले । जसलाई जनताले अहिलेको उपर्युक्त विकल्पको रुपमा छनोट गरे पनि । बालेन्द्र शाह र हर्क साम्पाङ यसका सुन्दर उदाहरणका रुपमा उदाएका छन् । हुन त अरु स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिए र जिते पनि । उनीहरुलाई कुनै न कुनै राजनीतिक दल या तिनका बिभिन्न समूहहरुको साथ, समर्थन थियो । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार प्रति जनताको उत्साहप्रद साथबाट हौसिने धेरै छन् । अहिले अब हुने संघीय र प्रदेश संसदको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर सुरु भइसकेको छ । बिहीबार मात्रै चर्चित पत्रकार रवि लामिछानेले लामो र आक्रामक पत्रकारिता बिट मार्दै सक्रिय राजनीतिमा आउने उद्घोष गरेका छन् । उसो त यसअघि नै रञ्जु दर्शना, सुमन सायमी, मनोज पण्डित लगायतले संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । भलै पत्रकार लामिछानेले स्वतन्त्र उम्मेदवारी दिने या कुनै पार्टीमा समाहित हुने केही खुलाइसकेका छैनन् ।

राजनीति देशको मुल नीति हो । मुल नीति सही, सुसंस्कृत, समय सापेक्ष र गतिशील भएन भने देश अस्थिरता, अन्यौलता, द्धिविधा र अन्धकारमा रहिरहन्छ । नेपाल र नेपालीले वर्षौदेखि यही नियति भोगिरहेका छन् । राजनीतिक दल र शीर्ष नेताहरुले जे गरे पनि हुन्छ भन्ने शासकीय मनोविज्ञानमा टेकेर वर्षौदेखि जे गरे, जनता यसको खिलामा विद्रोहमा उन्नत चेतना सहित उत्रिसकेका छन् । अब राजनीतिक दल र नेताहरु सुध्रिने नत्र स्वतन्त्र उम्मेदवार सहितका विकल्पहरु मार्फत जबरजस्त समाज र देश रुपान्तरण गर्ने दिशामा देश जानेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *