नयाँ पार्टीः पुरानै रोग

सम्पादकीय
यतिबेला मूल्य वृद्धि, आर्थिक संकट लगायतबाट नेपाल ग्रसित छ । तर, यति नै बेला नेता माधव कुमार नेपाल पनि गम्भीर संकटमा छन् । दुई दुई पटक संसद विघटन भइसके पछि दुई दशक बढी रजगज चलाएको पार्टी नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी बनाए । जो सँग मुख्य प्रतिस्पर्धा या दुश्मन भरेर वर्षौ राजनीति ग¥यो, सोही पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाउन आफु र आफ्नो पार्टीको आधारभूत मूल्य मान्यतालाई भत्कायो । एमाले भित्र बिधि, सिद्धान्त तिलाञ्जली दिएर व्यक्तिवादी अराजकता हुर्किएकोमा चर्को रोष व्यक्त गर्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) बनाए । जसको जग र भरोसामा नै वर्तमान सरकार अडिएको छ । यस हिसाबले उनी सँग एउटा ठुलो शक्ति त छ तर, पार्टी भित्रैबाट अहिले मन्त्री बनेकाहरुले फिर्ता हुन अस्वीकार गरिरहेको तथ्य र पार्टी निर्णय कार्यान्वयनमा देखिएको समस्याले उनको कद होच्याइरहेको छ ।

माधव नेपाल नेकपा एमालेको सबै भन्दा धेरै कार्यकाल महासचिव मात्र होइन, देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । लामो राजनीतिक अनुभवका बाबजुद संसदीय निर्वाचनमा पार्टी पराजय पछि नैतिक हिसाबले राजीनामा दिए । नेपाली राजनीतिमा यतिको नैतिकता देखाउने नेताहरु पनि निकै कम छन्, जसमा नेपाल देखिए । तर, एमाले नेतृत्वमै करिब दुई तिहाई बहुमत प्राप्त सरकार भए पश्चात नेकपा बन्यो । नेकपा बनेर शक्तिशाली पार्टी बन्दा पनि पार्टी भित्र शीर्ष नेतृत्व बिच रस्साकस्सी चलिरह्यो । पार्टी भित्रको बिधि, पद्धति, मूल्य मान्यताका सवालमा बहस भइरहे । अन्ततः सर्वोच्च अदालतले नेकपाका विषयमा परमादेश जारी गर्दै पूर्ववत अवस्थामा फर्काइ दियो । लगत्तै फरक धारमा देखिएका नेपालले एमाले समेत विभाजन गर्दै कांग्रेस नेतृत्वको सरकार गठनका लागि संसदीय मर्यादा विपरित हस्ताक्षर सहित समर्थन गर्ने निर्णय गरे । त्यतिबेला उनले पार्टी भित्रको एकलौटी, अराजक शैली, बिधि, पद्धति हराएकाले विद्रोह गरेको उद्घोष गरे ।

एउटा जिवन्त पार्टी भित्र बहस, विवाद स्वभाविक हुन्छ । अझ नेपालका कम्युनिष्टहरुका बिचमा त बहस, विवाद मात्र होइन, पटक पटक विभाजन भएको इतिहास पनि छ । माधव नेपालले पार्टी विभाजन गरेरै भए पनि संसद विघटनका विरुद्ध चरणबद्ध आन्दोलन गरेर अदालतबाट पुर्नस्थापित गरेर जुन नजिर स्थापित गरेका छन् । यो नेपाली राजनीतिमा सकारात्मक भूमिका र योगदानका रुपमा उल्लेख रहनेछ । तर, उनले पार्टी भित्रको अराजक शैली, बिधि, पद्धतिको जे कुरामा बिरोध, फरक मत दर्ज गरेर विद्रोह गरे । आज त्यही विषय, घटना र परिदृश्य सोही पार्टीमा दोहोरिरहेको छ । नेता नेपाल मन्त्री फिर्ता गर्ने निर्णयलाई न कार्यान्वयन गर्न सक्छन्, न फिर्ता गरेर यथावत राख्न सक्छन् । यसले फेरि एक पटक माधव नेपाल माथि गम्भीर प्रश्न, संशय र संकट सामुन्नेमा छ । त्यस बेलाको विभाजनको बोली, औचित्य पुष्टि गर्न नसक्ने र नयाँ पार्टीमा पनि पुरानै अराजक शैली, प्रवृत्ति कायमै रहने हो भने त्यो नेता नेपाल र सिंगो समाजवादी पार्टीकै लागि प्रत्युत्पादक बन्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *