सम्पादकीय
आँशु त आफैमा एउटा संवेदना हो । दुःख, वेदना, क्रन्दनहरुको अभिव्यक्ति हो । जो मानिस या अरु प्राणी जगतको आँखाबाट बोल्छ या आँखाबाट झर्छ । आँशुसँग मानिसहरुको सपना जोडिएको हुन्छ, भावना जोडिएको हुन्छ, आशा भरोसा जोडिएको हुन्छ । तर समय, परिस्थिति, परिवबन्दले सपनाहरु भताभुंग पारिदिन्छ । भावनाहरु माथि अनेक तबरबाट खेलवाड हुन्छ । आशा, भरोसाहरु टुटेर जान्छ । आँशु हर मानिसको जीवनमा कुनै न कुनै हिसाबले मिश्रित हुन्छ नै । चाहे त्यो दुःख र दर्दको आँशु होस् या हर्षको । तर, आँशु पछिल्लो समय हाँसो, ठट्टाकै पात्र बन्न थालेको छ । कसैको आँशुलाई त्यसको पछाडिको असली कारण नबुझी ट्रोल गर्ने प्रवृत्ति बढेको छ । यसले नेपाली समाज विस्तारै संवेदनाहीन तर्फ उन्मुख हुँदै गइरहेको संकेतका रुपमा पनि बुझ्न सकिन्छ ।
सार्वजनिक रुपमै भावुक हुँदै रोए पछि दुई दिन यता ट्रोल बनिरहेकी छिन् पूर्वमन्त्री रामकुमारी झाक्री । नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले सहरी विकास मन्त्रीका रुपमा ८ महिना २० दिन काम गरेर पार्टीले नै जबरजस्त राजीनामा गर्न बाध्य बनायो । समाजवादीकै सिफारिस अनुसार झाँक्रीको ठाउँमा मेटमणि चौधरी सहरी विकासमन्त्री बनिसकेका छन् । विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएकी झाक्री यस्ती महिला नेतृ हुन्, जसले जनआन्दोलनमा तत्कालीन राजतन्त्रका विरुद्ध सडकमा आन्दोलन गर्दा टाउको फुटाइन् । हक्की स्वभावको परिचय बनाएकी उनी मन्त्रालयको विदाई कार्यक्रममा किन रोइन् त ? कठोर राजनीतिको अनेकन उतारचढाव पार गर्दै मन्त्री हुने हैसियत बनाएकी उनी मन्त्री पद छोड्नु पर्दाकै कारण रोएकी हुन् ? के उनलाई पद प्रति त्यतिधेरै आशक्ति थियो ? या परिस्थितिजन्य भावनात्मक कुराले उनलाई छोयो ? वा मन्त्रालयको नेतृत्वमा कुनै कमजोरी, कसुर बिना हटाइनु पछाडिको दर्द हो ? यी सबै प्रश्नको तथ्य नबुझी हठात् सामाजिक सञ्जालमा झाक्रीको आलोचनाले भरिएको छ ।
पद या अवसर भन्ने कुरा अस्थायी हो । मन्त्री झाक्री एउटा विशेष अवस्थामा मन्त्री बनेकी थिइन्, यो सदाका लागि थिएन । यो भ्रममा उनी पनि थिएनन् । त्यसैले पद छोड्नु पर्दाको दुःख या रोइलोको रुपमा मात्रै बुझ्नु अन्यायपूर्ण हुन्छ । आफू या आफ्नो निकटका मानिसको मात्र आँशु ठान्ने प्रवृत्ति घातक छ । अहिले रामकुमारी रोएको मात्र होइन, हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुदा होस्, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई हुन् या एमाले अध्यक्ष केपी शर्मा ओली । जो रोए पनि फगत सस्तो संवेदना र सहानुभूतिका लागि कदापि होइन । जुन पद, शक्ति या शिखरमा भए पनि सबै मानिसहरु नै हुन्, उनीहरुसँग पनि भावना हुन्छ, संवेदना हुन्छ । तर, पछिल्लो समय मानिसहरु यति गम्भीर र संवेदनशील विषयलाई पनि गिजोलेर भाइरल बनाउने होड चलिरहेको छ । यो राम्रो कुरा र संकेत होइन । संवेदनशील कुरामा कोही कसैले पनि हासीमजाक र खिसिट्युरी गर्नु कदापि राम्रो होइन ।